मंसिर १८ गते रिलिज हुने चलचित्र ‘अभिमन्यु : च्याप्टर १’को हिन्दी भर्सनको टिजर रिलिज भएको छ। निर्माणपक्षले हिन्दी भर्सन हेर्ने दर्शकलाई लक्षित गर्दै हिन्दी भर्सनको टिजर सार्वजनिक गरेको हो।
यो चलचित्र नेपाली र हिन्दी दुवै भाषामा नेपाल, भारत र विश्वव्यापी रूपमा एकसाथ प्रदर्शनमा आउँदैछ। त्यसैले भारतसहित ओभरसिज मार्केटलाई लक्षित गर्दै निर्माणपक्षले हिन्दी भर्सनको टिजर सार्वजनिक गरेको हो।
टिजरमा चलचित्रका अधिकांश मुख्य कलाकारलाई देख्न सकिन्छ। टिजरमा प्रेम, सस्पेन्स, पैसाको प्रलोभन, अपहरण, सेयर बाँडफाँट, प्रहरीको कस्टडीमा पुगेको आरोपी र उसको बयान सिनेमामा देख्न सकिन्छ।
सिनेमाको मुख्य पात्र नै कसरी अपहरणकारी बन्छ भन्ने सस्पेन्सको कथा सिनेमाले भन्ने संकेत टिजरले गरेको छ। सेभेन सिज सिनेमाको प्रस्तुति निर्माण भएको ‘अभिमन्यु स् च्याप्टर १’मा कामेश्वर चौरसिया, सरिता गिरी, किरण श्रेष्ठ, लक्ष्मी बर्देवा, गौमाया गुरुङ, प्रकाश दाहाल, शिशिर वाङ्देल मुख्य भूमिकामा छन्।
सुशान्त गौतमले निर्देशन गरेको ‘अभिमन्यु’को क्रिएटिभ निर्देशक मदन थापा हुन्। यस चलचित्रमा मुकेश खनालको लेखन रहेको छ।
‘अभिमन्यु स् च्याप्टर १’ का निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन्। रमेश चौलागाईं र हरि श्रेष्ठ सह–निर्माता रहेको चलचित्रका कार्यकारी निर्मातामा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ रहेका छन्। सिनेमाको लाइन प्रोड्युसरमा जीवन शाक्य रहेका छन्।
शरद महतोको डिओपी रहेको यस चलचित्रमा मनोज श्रेष्ठको भिएफएक्स, जुनिम गहतराजको रंग संयोजन, मदन घिमिरेको सम्पादक रहेका छ।
प्रकाशित: ९ मंसिर २०८२ २०:०३ मंगलबार




