हलिउड अभिनेत्री सिड्नी स्वीनीले बलिउड फिल्ममा डेब्यू गर्न ५३० करोड भारतीय रुपैयाँको सम्झौता प्रस्ताव पाएकी छन्। ‘युफोरिया’ र ‘द ह्वाइट लोटस’ बाट चर्चित २८ वर्षीया सिड्नीलाई एक निर्माण कम्पनीले यो ठूलो प्रस्ताव गरेको हो। स्वीकार गरेमा उनी बलिउडमा सबैभन्दा धेरै पारिश्रमिक पाउने कलाकारमा पर्नेछिन्।
रिपोर्टअनुसार सम्झौतामा ४१५ करोड भारतीय रुपैयाँको पारिश्रमिक र ११५ करोड भारतीय रुपैयाँको प्रायोजन समावेश छ। निर्माताहरूले भने, ‘सिड्नीको स्टार पावरले फिल्मलाई अन्तर्राष्ट्रिय बजारमा पुर्याउन मद्दत गर्नेछ।’ फिल्ममा उनले एक अमेरिकी स्टारको भूमिका निभाउने सम्भावना छ, जो एक भारतीय सेलिब्रेटीसँग प्रेममा पर्छिन्। छायांकन सन् २०२६ को सुरुमा न्यूयोर्क, पेरिस, लन्डन र दुबईमा हुने अपेक्षा गरिएको छ।
एक स्रोतले भन्यो, ‘सुरुमा सिड्नी ४५ मिलियन पाउण्डको प्रस्तावबाट छक्क परिन्। यो परियोजना रोचक छ र उनको विश्वव्यापी पहिचान बढाउन सक्छ। भारतीय फिल्म उद्योग शक्तिशाली र बढ्दो छ, यो फिल्म अन्तर्राष्ट्रिय बजारका लागि बनाउन लागिएको हो।’
अर्को स्रोतले भन्यो, ‘सिड्नीले निर्णय लिइसकेकी छैनन्। यो ठूलो अवसर हो। तर पैसा मात्र सबथोक होइन। उनीसँग अन्य परियोजनाहरू पनि छन्। यो फिल्मले उनलाई नयाँ उचाइमा पुर्याउन सक्छ।’ सिड्नीका प्रतिनिधिले यसबारे कुनै टिप्पणी गरेका छैनन्।
उनको आगामी फिल्म ‘क्रिस्टी’ नोभेम्बर ७ मा रिलिज हुँदैछ, जहाँ उनी अमेरिकी लडाकु क्रिस्टी मार्टिनको भूमिकामा देखिनेछिन्। एजेन्सी
प्रकाशित: २ आश्विन २०८२ १४:१६ बिहीबार





