रोमान्टिक भावको गीत ‘बेहाल’ सार्वजनिक गरिएको छ। राजधानीमा आयोजित एक कार्यक्रमका बिच गीत सार्वजनिक गरिएको हो।
कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ संगीतकर्मी फणिन्द्र राई, विशिष्ठ अतिथिहरू गीतकार अम्बिका गुरुङ, गीतकार तथा गजलकार भुपेन्द्र महत, चलचित्र सेन्सर बोर्डका सदस्य तथा चलचित्र पत्रकार संघका उपाध्यक्ष कुबेर गिरी लगायतले गीतको अडियो तथा भिडियो सार्वजनिक गरेका हुन्।
प्रेमभाव बोकेको गीतमा डा. देवेन्द्र प्रधानको शब्द, शंकर थापा ‘स्माइल’ को संगीत र सुगम पोखरेल र रिता केसीको स्वर रहेको छ। विषम आचार्यको एरेन्जमेण्ट रहेको गीतमा किशोर थापाको मिक्सिङ तथा मास्टरिङ रहेको छ।
यस्तै गीतको भिडियोलाई केशवराज भट्टले निर्देशन गरेका हुन्। अभिषेक श्रेष्ठ र श्रीतिका श्रेष्ठको अभिनय रहेको भिडियोमा दिनेश पराजुलीको छायाकन र डिन्सन शाहको सम्पादन छ।
गीत सार्वजनिक कार्यक्रममा बोल्दै प्रमुख अतिथि संगीतकर्मी राईले हरेक दृष्टिबाट गीत उत्कृष्ट बनेको बताए।
यस्तै गीतकार गुरुङले गीत सुन्दा सरल भए पनि शब्द, संगीत र स्वरको उत्कृष्ट संयोजन रहेको जनाए। यस्तै उनले गीतको भिडियो पनि आकर्षक बनेको बताए।
यता गजलकार महतले गीतको अडियो र भिडियो दुवै पक्ष सशक्त बनेको बताए।
यस्तै सेन्सर बोर्ड सदस्य गिरीले पछिल्लो समय थुप्रै गीत बजारमा आए पनि केही गीत मात्र उत्कृष्ट हुने बताए। तिनै उत्कृष्ट गीतहरूको सूचीमा यो गीत पनि अट्ने उनको भनाइ छ। आफूले लामो समयदेखि संगीतकार थापाको कामलाई नजिकबाट चिनेकाे भन्दै उनको सिर्जनामा नवीनता र मौलिकता दुवै भेटिने बताए।
भारतको कालिङपोङ निवासी गीतकार डा. प्रधान यही गीत सार्वजनिक कार्यक्रमका लागि काठमाडौं आएका हुन्। नेपाली साहित्य र गीतसंगीतमा गहिरो रुचि राख्ने प्रधान सन् २०१९ देखि गीति लेखनमा सक्रिय छन्।
झण्डै एक दर्जन गीतका श्रर्जक डा. प्रधानले भौगोलिक रूपमा जहाँ भए पनि मन भने नेपाली भएको बताए। कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफ्नो परिवेशले नै आफूलाई नेपाली साहित्य र संगीतमा लाग्न प्रेरित गरेको बताए।
उनले आफू निरन्तर नेपाली साहित्य तथा गीत लेखनमा सक्रिय रहने बताए। आफूले झण्डै आधा दर्जन संगीतकारलाई यो शब्द कम्पोज गर्न दिएको भन्दै गीतकार डा. प्रधानले संगीतकार थापाको सिर्जना उत्कृष्ट लागेकोले आफूले उनीसँग सहकार्य गरेको बताए।
यस्तै संगीतकार थापाले शब्दको भावअनुसार नै संगीत सिर्जना गर्ने आफ्नो कोसिस रहेको बताए। प्रेमको गहिराइमा पुगेर गीतकारले लेखेका सरल शब्दलाई आफूले पनि सरल शैलीमा कम्पोज गरेको उनको भनाइ छ।
पन्ध्र सयभन्दा बढी गीतमा संगीत दिइसकेका संगीतकार थापाका २ दर्जन बढी गीत करोड क्लवमा छन्। उनले आफ्ना अघिल्ला गीतहरूभन्दा अलिक भिन्नै स्वाद यो गीतमा पस्किएको जनाए।
यता गायिका रिता केसीले उत्कृष्ट शब्द संगीतमा आफूले स्वर दिएको पाएको बताइन्। उनले गीतकार डा. प्रधानका शब्दहरू सुन्नासाथ आफूलाई मन परेको बताइन्। गीत राम्रो बनेको भन्दै उनले स्रोताको मन जित्ने विश्वास राखिन्।
यस्तै भिडियो निर्देशक केशवराज भट्टले आफूले गीतको भावअनुसार नै भिडियो बनाउने कोसिस गरेको बताए। मुस्ताङदेखि पोखरासम्म ४ दिन लगाएर गीतको छायाकन गरिएको उनको भनाइ छ।
उनले प्रत्येक दृष्यलाई अर्थपूर्ण र सुन्दर बनाउन आफू र आफ्नो टिम लागिपरेको जनाए। यस्तै मोडल श्रीतिका श्रेष्ठले एउटा राम्रो सिर्जनाको हिस्सा हुन पाएकोमा खुशी व्यक्त गरिन्।
नजिकबाट गीतकार डा. प्रधान
डा. देबेन्द्र प्रधानको जन्म भारतको डुवर्सस्थित सामासिङ चियाबारीमा भएको हो। डा. प्रधान हाल पश्चिम बंगाल सरकार अन्तर्गत कालेबुङ जिल्लामा प्राणी सम्पद विकास विभागमा उपनिर्देशकका रूपमा कार्यरत् छन्।
नेपाली साहित्य र संगीतमा गहिरो रुचि राख्ने डा. प्रधानले आफ्ना विभिन्न सिर्जनामार्फत नेपाली साहित्य क्षेत्र सिञ्चित गर्दै आएका छन्।
कोभिड १९ अर्थात कोरोनाको चपेटामा परेर जीवन गुमाउनेहरूप्रति समर्पित गरी उनले पहिलो पटक ‘थाहै नपाई’ बोलको गीत रेकर्ड गरेका थिए। त्यसयता उनका झण्डै एक दर्जन गीत रेकर्ड भइसकेका छन्। थुप्देन भुटिया, उदय सोताङ, मनिला सोताङ, मिलन नेवार, आरिफ रवाफ, स्वरुपराज आचार्य, सुगम पोखरेल, रिता केसी लगायतका गायकगायिकाले उनका शब्दमा स्वर दिइसकेका छन्।
यस्तै उनले संगीतकारहरू शंकर थापा ‘स्माइल’, योगेन्द्र घतानी, उदय सोताङ, सचिन सिंह, मधुसुदन लामासँग उनले सांगीतक सहकार्य गरेका छन्। उनका सृजनाहरूलाई ‘देव प्रोडक्सन’ को युट्युव च्यानलमा हेर्न सकिनेछ।
नजिकबाट संगीतकार शंकर थापा ‘स्माइल’
दुई दशक लामो समयदेखि नेपाली संगीत क्षेत्रमा सक्रिय नाम हो संगीतकार शंकर थापा ‘स्माइल’। उनले आधुनिक, पप, लोकपप, भजन, फिल्मी लगायत विभिन्न जनराका पन्ध्र सयभन्दा बढी गीतमा थापाले संगीत सिर्जना गरेका छन्। नेपाली, हिन्दी, नेपाल (नेवारी), गुरुङ लगायतका विभिन्न भाषाका गीतमा उनको संगीत सुन्न सकिन्छ।
उनीद्वारा संगीतबद्ध धड्कन, असिम, नजर, सधैँसधैँ, मनोकाक्षा, कादम्बरी कुञ्ज, भाव, अनुपम यात्रा लगायत झण्डै एक दर्जन म्युजिक एल्वम समेत बजारमा आएका छन्। उनले फाटेको जुत्ता, सेन्टि भाइरस, के घर के डेरा लगायतका आधा दर्जन चलचित्रका गीतमा समेत संगीत दिएका छन्।
राष्ट्रव्यापी खुला संगीत प्रतियोगिता २०७७ मा उत्कृष्ट भएका उनले उत्कृष्ट संगीत सिर्जनाका लागि थुप्रै अवार्ड प्राप्त गरिसकेका छन्। संगीतकार थापाले अमिन राष्ट्रिय म्युजिक अवार्ड, नेशनल राप्ती म्यूजिक अवार्ड, ओएस म्युजिक अवार्ड, योङ्ग माइण्ड इन्टरटेनमेण्ट अवार्ड, कालिका म्युजिक अवार्ड, नेशनल पावर न्यूज म्युजिक अवार्ड, म्युजिक खबर म्युजिक अवार्ड, जिनियस म्युजिक अवार्ड, बक्स अफिस नेशनल म्युजिक अवार्ड, स्पर्श म्युजिक भिडियो अवार्ड लगायत झण्डै दुई दर्जन अवार्ड प्राप्त गरिसकेका छन्।
प्रकाशित: ४ फाल्गुन २०८२ ०९:०३ सोमबार


-600x400.jpg)


