४ फाल्गुन २०८२ सोमबार
image/svg+xml
समाज

‘कुनैपनि बेला हिमालय क्षेत्रमा भूकम्प आउन सक्छ भन्ने आकलन गलत’

रारा ताल अध्ययन निष्कर्ष:

उत्तरी भारत र पश्चिम नेपालमा निकट भविष्यमै ठुलो भूकम्प आउन सक्ने अनुमान गरिए पनि एक वैज्ञानिक अध्ययनले त्यसलाई गलत भनेको छ। रारा तालको गहिराइबाट निकालिएका अवसादी नमुना (सेडिमेन्ट कोर) को विश्लेषणात्मक अध्ययनले यस्तो देखाएको हो।

कतिपय वैज्ञानिक आकलनले यो क्षेत्रमा ठुलो भूकम्प आउन ‘ढिलो’ भइसकेको तर्क गर्दै आएका थिए। यस क्षेत्रमा हजारौं वर्षदेखि साना तथा मध्यम आकारका भूकम्पहरू अनियमित रूपमा आइरहेको अध्ययनमा उल्लेख छ।

ब्रिटिस एन्टार्टिक सर्भे (बिएएस) का अनुसन्धानकर्ताहरूले रारा तालको गहिराइमा सुरक्षित ६ हजार वर्ष पुराना भूकम्पीय अभिलेखहरूको विश्लेषण गरेका थिए। सन् २०१३ मा सुरु गरिएको उक्त अध्ययनमा तालको गहिराइमा देखिएको भूगर्भीय परिवर्तनको अध्ययन गरिएको थियो।

यो हिमालय क्षेत्रका लागि संकलन गरिएको हालसम्मको सबैभन्दा लामो अभिलेख हो। अनुसन्धानकर्ताहरूले निकालेको निष्कर्ष अनुसार ठुला भूकम्पहरू नियमित अन्तरालमा होइन, अनियमित रूपमा आउँछन्। यस्ता भूकम्पहरू कहिले निकै सक्रिय हुन्छन् त कहिले लामो शान्त रहन्छन्।

अध्ययनका क्रममा नेपालको उच्च हिमाली क्षेत्रमा अवस्थित यो तालले भूकम्पीय इतिहासको प्राकृतिक अभिलेखालयका रूपमा काम गर्ने वैज्ञानिक तर्क छ।

वैज्ञानिकका अनुसार जब ठुलो कम्पन हुन्छ, पानीमुनिका ढलानहरू खल्बलिन्छन् र तालको गहिराइमा विशिष्ट तहहरू बन्न जान्छन्। अध्ययनको नतिजा सार्वजनिक गर्ने क्रममा बिएएसद्वारा गत बुधबार जारी विज्ञप्ति अनुसार अनुसन्धान टोलीले ६ हजार वर्षको अवधिमा करिब ५० यस्ता तहहरूको पहिचान गरेको छ।

‘साइन्स एडभान्सेज’ नामक वैज्ञानिक जर्नलमा प्रकाशित उक्त नयाँ अध्ययनले भूकम्प पूर्वानुमानसम्बन्धी प्रचलित धारणा उल्ट्याएको छ। ‘ठुला भूकम्पहरू निश्चित चक्रअनुरूप आउँछन् र कुनै खास क्षेत्रमा अर्को ठुलो भूकम्प आउन ढिला भइसकेको हुन सक्छ भन्ने मान्यता वैज्ञानिक रूपमा सही होइन,’ अध्ययनले भनेको छ।

अध्ययनले भूकम्पहरू मुख्यतः अनियमित रूपमा आउने र यस क्षेत्रमा सोचिएकोभन्दा धेरै भूकम्प पहिल्यै आइसकेको जनाएको छ।

वैज्ञानिकहरूले पछिल्ला ६ हजार वर्षमा यस क्षेत्रमा ६.५ म्याग्निच्युड वा सोभन्दा ठुला स्तरका कम्तीमा ५० वटा भूकम्प आएको प्रमाण फेला पारेका छन्। तीमध्ये सन् १५०५ यता मात्र आठ वटा भूकम्प आइसकेका छन्। यी भूकम्पहरू नियमित अन्तरालमा नभई अनियमित रूपमा आएका छन्।

अध्ययनको नेतृत्व गर्ने बिएएसका भूकम्पविद् डा. जकारिया गाजुई साउसका अनुसार ‘ठुला भूकम्प आउन ढिला भइसकेको’ भन्ने कथन केवल मिथक हो। ठुला भूकम्पहरू पनि साना भूकम्पहरू जस्तै अनियमित र अप्रत्यासित हुने उनको भनाइ छ। ‘विज्ञान स्पष्ट छ, ठुला भूकम्प कुनै समयतालिका अनुसार हुने होइन,’ उनले भनेका छन्।

नेपालको पश्चिमी क्षेत्रमा भूकम्पको कम प्रमाण भेटिएकाले त्यहाँ ‘भूकम्पीय खाली ठाउँ’ (सेस्मिक ग्याप) रहेको मानिएको थियो। यो क्षेत्रमा ठुलो स्केलको भूकम्प चाँडै आउन सक्ने आशंका हुँदै आएको थियो। प्रमुख अनुसन्धानकर्ता डा. जकारिया गाजुइ साउसले यो ‘भूकम्पीय खाली ठाउँ’ नभई ‘ज्ञानको खाली ठाउँ’ रहेको बताएका छन्।

यो अध्ययनअन्तर्गत पहिलोपटक अनुसन्धानकर्ताहरूले हिमालय क्षेत्रको भूगर्भीय अभिलेखलाई आधुनिक उपकरणद्वारा संकलित भूकम्प तथ्यांकसँग जोडेर सांख्यिकीय रूपमा समयक्रम परीक्षण गरेका छन्। त्यसपछि उनीहरूले यी नतिजाहरू इन्डोनेसिया, न्युजिल्यान्ड, चिली र अमेरिकाको प्यासिफिक नर्थवेस्ट क्षेत्रका भूकम्पका दीर्घकालीन अभिलेखसँग तुलना गरेका थिए।

अनुसन्धानकर्ताका अनुसार सबै ठाउँमा एउटै ढाँचा देखिएको थियो। त्यो भनेको भूकम्पहरू अनियमित रूपमा समूहबद्ध (क्लस्टर) हुन्छन् र सक्रिय अवधिपछि लामो शान्त समय आउँछ। भूकम्पको दृष्टिकोणले कुनै पनि क्षेत्रमा नियमित र चक्रीय ढाँचा नदेखिएको उल्लेख गर्दै अन्य जोखिम आकलन गर्ने मोडेलहरूले मान्ने गरेका आकलनअनुरूप अध्ययन नतिजा रहेको बताइएको छ।

वैज्ञानिकका अनुसार यो अध्ययन नजिताले पुराना मोडेललाई चुनौती दिएको छ। भूकम्पीय जोखिम मूल्यांकनमा प्रायः ‘आवधिक’ (पेरियोडिक) अथवा ‘अर्ध–आवधिक’ (क्वाइजाई पेरियोडिक) पुनरावृत्ति मोडेल प्रयोग गरिन्छ, जसले ठुला भूकम्पको सम्भावनालाई अनुमान गर्छ। सीमित अवलोकनमा आधारित यी कम्प्युटर मोडेलहरूले भूकम्पहरू लगभग नियमित चक्रमा आउने मान्यता राख्छन् तर नयाँ अनुसन्धानले यो धारणा आधारहीन भएको देखाएको छ।

उक्त बेलायती अनुसन्धान निकायका अनुसार यो अध्ययन नेपाल तथा विस्तृत हिमालय क्षेत्रमा अभिलेख र आधुनिक उपकरणीय तथ्यांकबिचको पहिलो सांख्यिकीय तुलना हो, जसले गहिरो भूगर्भीय समय र आधुनिक भूकम्प विज्ञानलाई जोडेको छ।

‘हिमालयमा भूकम्पको आवधिकताका विषयमा हुँदै आएको लामो बहस बन्द गर्नुपर्छ र यो एक अनियमित प्रक्रिया हो भन्ने सहमतिमा पुग्नुपर्छ। त्यसै ढाँचाभित्र जोखिमको मूल्यांकन गर्नुपर्छ,’ प्रमुख अनुसन्धानकर्ता भूकम्पविद् डा. गाजुई साउसले भनेका छन्, ‘६ हजार वर्षको तथ्यांकले देखाउँछ कि साना, ठुला भूकम्प जुनसुकै बेला आउन सक्छन्। यसले भूकम्पीय जोखिमको अनुमानलाई उल्लेखनीय रूपमा बढाउँछ, यसले सरकारका नीति, सार्वजनिक लगानी र राहत प्राथमिकतामा प्रत्यक्ष प्रभाव पार्छ।’

अध्ययन निष्कर्षले अफगानिस्तानदेखि भारत, नेपाल, चीन र म्यानमारसम्म फैलिएको हिमालय क्षेत्रमा भूकम्प तयारीका लागि महत्त्वपूर्ण सन्देश दिएको वैज्ञानिक मान्छन्। ‘हामी जनसाधारण, राजनीतिज्ञ र नीतिनिर्माताहरूलाई भूकम्पीय जोखिमलाई सधैं असमान तर निरन्तर रहिरहेको खतरा भनेर लिन सिफारिस गर्छौं,’ गाजुई–साउसले भनेका छन्, ‘ठुला वा साना भूकम्पहरू सक्रिय वा शान्त दुवै अवधिमा आउन/जान सक्छन्।’

१० वर्षअघि अर्थात् २०७२ सालमा नेपालमा आएको विनाशकारी भूकम्पले करिब नौ हजार मानिसको ज्यान लिएको थियो तर अध्ययनले स्मरण गराएको विषय भूकम्पीय जोखिम घटेको छैन भन्ने पनि हो। भवन निर्माण मापदण्डको असमान कार्यान्वयन, तीव्र सहरीकरण र सीमित मानवीय बजेटले अझै जोखिम बढाइरहेका छन्।

अनुसन्धानकर्ताहरूले यो विषयप्रति समग्र शासकीय दृष्टिकोणको आवश्यकता औंल्याएका छन्। नयाँ निर्माणमा भवन संहिता कडाइका साथ लागु गर्ने, विद्यालय र अस्पतालजस्ता महत्त्वपूर्ण संरचनाहरूको शीघ्र सुदृढीकरण (रेट्रोफिटिङ) गर्ने र भूकम्प समूहबद्ध वा लामो शान्त अवधिका दुवै सम्भावनालाई ध्यानमा राखी लगानी तथा प्रतिकार्य योजना तयार गर्ने सुझाव दिएका छन्।

पृथ्वीका भूगर्भमा इन्डियन र युरेसियन टेक्टोनिक प्लेटको टकरावले हिमालय पर्वतमाला बनेको हो र यो प्रक्रिया अझै पनि जारी छ। यसले गर्दा यो क्षेत्र विश्वकै सबैभन्दा ठुलो भूकम्पीय क्षेत्रमध्ये पर्छ। यो अध्ययन नेचुरल इन्भारोमेन्ट रिसर्च काउन्सिलको आर्थिक सहयोगमा सञ्चालन ‘दी विग थो’ नामक परियोजनाअन्तर्गत गरिएको हो।

यो परियोजनाले उच्च हिमाली क्षेत्रमा हिमपात र अन्य जोखिमहरूको पूर्वानुमान सुधार गर्न तथा नेपालसहित विश्वभरका अनुसन्धानकर्तासँग सहकार्य विस्तार गर्न सहयोग गरिरहेको छ।

प्रकाशित: ४ फाल्गुन २०८२ १३:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App