२४ फाल्गुन २०८२ आइतबार
image/svg+xml
धर्म/संस्कृति

पाँच दिनसम्म पशुपतिमा पाहुना बने चार हजार जोगी र चार सय नागाबाबा

मंगलबार दक्षिणा र उपहार दिएर विदाइ गरिने

यसवर्ष शिवरात्रिमा पशुपति क्षेत्रमा आएका करिब ४ हजार जोगी र करिब ४ सय नागाबाबा मंगलबार पशुपति क्षेत्रबाट बिदाइ हुँदैछन्।  

उनीहरूलाई एकादशीदेखि औसीसम्म पाँच दिनसम्म अर्थात् मंगलबारसम्म पाशुपत क्षेत्रमा पशुपति क्षेत्र विकास कोष र गुठी संस्थानले पाहुना झैं ससम्मान राख्ने गर्छन । मंगलबार गुठी संस्थान र पशुपति क्षेत्र विकास कोषले उनीहरूलाई अलग अलग दक्षिणा र उपहार दिइ विधिवत ससम्मान विदाइ गर्दैछन् ।  

नेपाल गुठी संस्थान शाखा कार्यालय (पशुपति) का कार्यालय प्रमुख सुशीला शर्माका अनुसार यसवर्ष शिवरात्रीमा आएका साधुसन्त, जोगी र नागबााबलाई मंगलबार दक्षिणा, मिठाइ, कमन्डलू, भख्खु, लोटा, चम्म्मर शंख, राँडी लगायतका सामग्रीहरू उपहारस्वरुप दिएर बिदाइ गरिदैछ । त्यसका लागि पशुपति क्षेत्रमा एउटा कार्यक्रम नै राखिएको छ।  

साधुसन्त र जोगीको श्रेणी अनुसार दक्षिणा र उपहार दिने समग्रीहरू फरक फरक हुन्छ । सबैभन्दा बढी रकम र उपहार नागाबाबाले पाउछन । गतवर्ष २ सय रुपैयाँ देखि ९ हजारसम्म दक्षिणा दिइएको थियो । ‘यसवर्ष दिइने दक्षिणाको रकम मंगलबार बिहान तय हुनेछ’ शर्माले भनिन् । उनका अनुसार लाइनमा बसेका कसैलाई पनि खाली हात पठाउने गरिदैन । तर श्रेणी अनुसार रकम फरक फरक हुन्छ । उनीहरूलाई घाटीमा कार्ड झुण्डाएर बिदाइ गर्ने गरिन्छ । सबैभन्दा कम दक्षिणा लाइनमा बसेका माग्नेहरूले पाउछन् । शर्माका अनुसार गुठी संस्थानले जोगीलाई जति रकम दक्षिणा दिने गर्छ । त्यसको ठिक आधा रकम पशुपति क्षेत्र विकास कोषले छुट्टै उपलब्ध गराउने गर्छ ।  

शर्माका अनुसार शिवरात्रीमा आएका जोगीहरूलाई साधु, सन्त, महन्थ, मठाधिश र नागाबाब गरी ५ श्रेणीमा बाडिएको छ । सबैभन्दा कठिन साधना भनेको नागबाबा बन्नु हो ।  

शर्माका अनुसार शिवरात्रीमा आएका जोगी तथा नागाबाबाहरू पाँच दिनसम्म गुठी संस्थान र पशुपति क्षेत्र विकास कोषका पाहुना हुन्। ‘उनीहरूलाई पाँच दिनसम्म गुठी संस्थानले खानपीन गर्न, धुनी बाल्न दाउरा तथा अन्य सहयोग उपलब्ध गराउछ,’ शर्माले भनिन्, पोहरसाल मात्र हामीले जोगीहरूलाई धुनी बाल्न वन विभागबाट ८ हजार दाउरा खरिद गरेका थियौं। यसवर्ष पनि दाउरा खरिद गरेका छौं,’ उनका अनुसार यसवर्ष करिब ४ हजार जोगी पशुपति क्षेत्रमा आएको अनुमान गरिएको छ।

शर्माका अनुसार शिवरात्रीको पाँच दिन अघि र पछि भने जोगी तथा नागाबाबाहरूलाई खानपिन गराउने काम गुठी संस्थान र पशुपति क्षेत्र विकास कोषले गर्दैनन। त्यतिबेला उनीहरूले आफ्नो व्यवस्था आफैं गर्छन्।

शर्माका अनुसार नेपाल आउने सबै जोगी भारत र नेपालकै हुन्। ‘भारत र नेपाल बाहेक अन्य देशका हिन्दु नागरिक जोगी बनेको मैले थाहा पाएकी छैन,’ शर्माले भनिन्। शिवरात्रीको व्यवस्थापन गर्न मात्र गुठी संस्थानले यस वर्ष ३२ लाख रुपैयाँ बजेट छुट्टयाएको छ।

कहाँ बस्छन् नागाबाबा ?

शिवरात्रीमा आएका नागाबाबाहरू पशुपति मन्दिरको एक नम्बर गेट अगाडि अन्नपूर्ण आश्रममा बस्ने गर्छन्। उनीहरू त्यहींबाटै बिदाइ हुँदैछन्। अघिपछि काठमाडौंमा आउने नागाबाबाहरू पनि अन्नपूर्ण आश्रममा बस्ने गर्थे। अन्य जोगीहरू भने चारवटा आश्रममा बस्ने गर्छन्।

निर्मल अखडा, भष्मेश्वर, गोरखनाथ र राममन्दिरमा बस्ने गर्छन्। शर्माका अनुसार यसवर्ष शिवरात्रीमा आएका ४ सय नागाबाबामध्ये करिब एकसय नागाबाबा नेपाली हुन् भने बाँकी सबै भारतीय हुन्।

नागाबाबाहरू भारतका विभिन्न ठाउँमा आश्रम बनाएर बस्ने गर्छन्। कुनै खास समयमा भने जस्तो कि शिवरात्रिको बेला भने उनीहरू काठमाडौं आउने गर्छन्। शिवरात्रिमा पशुपति क्षेत्रमा आएका नागाबाबा पशुपतिको मूलमन्दिर नजिकै बस्ने गर्छन्। पशुपति दर्शन गर्न आउनेहरूले नागाबाबाहरूको पनि दर्शन गर्ने गर्छन्।

कसरी बन्ने नागाबाबा ?

नागाबाबा बन्ने प्रक्रिया निकै लामो र जटिल हुन्छ। यो एकदमै कठिन काम हो। गुरु शंकराचार्यले अखडा बनाई नागाबाबा दीक्षाको सुरुवात गरेको बताइन्छ। अखडाहरूले नागाबाबाहरूको छनौट र दीक्षा दिने गर्छन्।

भारतको विभिन्न ठाउँमा अखडा राखिएको छ। प्रत्येक अखडामा नागाबाबा बन्न आफ्नै विधि र नियम हुन्छ। करिब ६ वर्षसम्म अखडामा बसी नियम मान्नु पर्छ।

उनीहरूले गुरुले भने अनुसार गर्नुपर्छ। त्यतिले मात्र पुग्दैन। पहिलो ६ वर्ष प्रारम्भिक चरण हो। अर्को ६ वर्षबाट अर्को चरण सुरु हुन्छ। त्यसपछि १२ वर्षमा लाग्ने महाकुम्भ मेलामा सहभागी भई शरिरबाट सबै लुगा फुकाली शरीर पुरै पखालेर विधिवत् रूपमा नागाबाबा बन्ने गर्छन्।

त्यसपछि उनीहरू ओडार, जंगल तथा पहाडमा गुमनाम भईं बस्ने गर्छन्। 

प्रकाशित: ४ फाल्गुन २०८२ २०:४१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App