यो वर्षकै उत्कृष्ट फिल्मको रूपमा चर्चा पाएको ‘रमिताको पिरती’ अब भारतमा पनि रिलिज हुने भएको छ। भारतमा कन्सर्ट र फेसनका इभेन्ट गर्दै आएको इन्फिनिटी इभेन्ट एन्ड इन्टरटेनमेन्टले चलचित्रलाई मार्चको दोस्रो सातादेखि भारतका हलमा देखाउने जिम्मा लिएको छ।
कम्पनीले आफूहरू भारतको रिलिजका लागि निर्माताको रूपमा जोडिएको जनाउँदै ‘रमिताको पिरती’ को कथा र प्रस्तुति भारतका युवा दर्शकले पनि रुचाउने विश्वासका साथ रिलिजका लागि जुटेको बताएका छन्। निर्माता सागर लम्साल र इन्फिनिटीका बीच हालै ‘रमिताको पिरती’ भारतमा रिलिज गर्ने सम्झौता सम्पन्न भएको हो।
‘रमिताको पिरती’ ले अहिलेको युवायुवतीको प्रेम, बिछोड र आत्ममन्थनको विषय रोचक शैलीमा प्रस्तुत गरेको छ। नेपालमा दोस्रो हप्तामा प्रवेश गरेको चलचित्रले यथार्थपरक कथावाचन र आफैंले आफूलाई माया गर्नुपर्छ भन्ने सन्देशका लागि युवा दर्शकबाट प्रेरक प्रतिक्रियाहरू प्राप्त गरिरहेको छ।
इन्फिनिटीले चलचित्र ‘रमिताको पिरती’ ले भारतीय युवा दर्शकको पनि मनोविज्ञान समेटेको महसुस गर्दै भारतभर रिलिज गर्ने निर्णय गरेको जनाएको छ।
दक्षिण एसियाका कथा संसारभर पुर्याउने लक्ष्यसहित कम्पनीको स्थापना भएको हुँदा संसारले रुचाउने कथालाई धेरैभन्दा धेरै दर्शकसम्म पुर्याउने लक्ष्यसहित ‘रमिताको पिरती’ को वितरणमा जोडिएको इन्फिनिटीले जनाएको छ। यसले नेपाली चलचित्र सीमाभित्र मात्र नभएर सीमाबाहिर पनि बजार विस्तारमा मद्दत पुग्ने जनाएको छ।
सहकार्यलाई लिएर इन्फिनिटीका प्रतिनिधिले भने, ‘रमिताको पिरतीले आजको युवाको प्रेम जीवन दुरुस्त देखाएको छ जुन भारतका दर्शकले पनि मजाले रिलेट गर्न सक्छन्। राम्रो फिल्म धेरैभन्दा धेरै दर्शकसम्म पुग्न पनि जरुरी छ। हामी यो फिल्म धेरै दर्शकसम्म पुर्याउँछौं।’
अहिले रिलिजका लागि भारतका हलसँग कुराकानी भइरहेको र चाँडै भारतका कुनकुन ठाउँमा कहिलेदेखि लाग्ने भन्ने जानकारी सार्वजनिक गर्ने कम्पनीले जनाएको छ।
सुदिप्ताको निर्देशनमा बनेको ‘रमिताको पिरती’ मा आना शर्माको मुख्य भूमिका छ। चलचित्रमा विनय श्रेष्ठ, धिरज मगर, समिर श्रेष्ठ, रेनु योगी आदि कलाकारको अभिनय छ।
प्रकाशित: ४ फाल्गुन २०८२ १३:१५ सोमबार





