फित्कौली अनलाइन मिडिया तथा फित्कौली डटकमले विशिष्ट हास्यव्यङ्ग्यकार मुकुन्द आचार्यलाई फित्कौली हास्यव्यङ्ग्य राष्ट्रिय सम्मान (२०८२) अर्पिएकाे छ।
त्यस्तै गरी वरिष्ठ हास्यव्यङ्ग्य कलाकार तथा कवि डम्बर घिमिरेलाई श्रीप्रशन्नमूर्ति फित्कौली सम्मान (२०८२) अर्पिएकाे छ।
वरिष्ठ हास्यव्यङ्ग्यकार नरेन्द्रराज पौडेलको अध्यक्षता र डा. माधवप्रसाद पोखरेलकाे प्रमुख आतिथ्यमा कार्यक्रम भएकाे हाे।
कार्यक्रममा प्रमुख अतिथि पोखरेलले हास्यव्यङ्य पारामै मन्तव्य दिंदै हास्यव्यङ्ग्यले समाज परिवर्तनमा ठुलो मद्दत गर्ने र खासगरी राजनीतिभित्र देखिएको विकृति नियन्त्रण गर्न सहयोगी भूमिका हुने बताए।
भक्तपुरको काैशलटारिस्थत ह्वाइट प्यालेस ब्याङ्केटमा फित्कौलीको खित्कौली सभा-४ आयोजना गरिएको हो। सभामा हास्यव्यङ्ग्य क्षेत्रमा लेखन र कलाका माध्यमबाट योगदान गर्ने छ स्रष्टालाई सम्मान गरिएको हो।
२०८२ का लागि ‘गोविन्द–विजया–फित्कौली राष्ट्रिय हास्यव्यङ्ग्य प्रतिभा पुरस्कार’ माणिकरत्न शाक्यलाई र ‘फित्कौली राष्ट्रिय हास्यव्यङ्ग्य निबन्ध पुरस्कार’ पोखराका हास्यव्यङ्ग्यकार शेषराज भट्टराईलाई अर्पिएकाे हाे।
त्यसैगरी २०८२ को ‘फित्कौली हास्यव्यङ्ग्य राष्ट्रिय कविता पुरस्कार’ छन्दका व्यङ्ग्यकवि ओखलढुङ्गाका डिल्लीप्रसाद मूलतिहुन र ‘मुकुन्द-मुना फित्कौली राष्ट्रिय बुढ्यौली साहित्य पुरस्कार’ बुढ्यौली विषयक साहित्य सिर्जनामा सक्रिय कविराज घिमिरे भक्तपुरलाई अर्पिएकाे हाे।
श्रीप्रशन्नमूर्ति फित्कौली सम्मानद्वारा सम्मानित डम्बरलाई सम्मानपत्र, नेपाली ढाकाटोपी र दोसल्ला अर्पिएकाे हाे। हास्यव्यङ्ग्यकार आचार्यलाई २०,१०५।–, सम्मानपत्र र दोसल्ला र शाक्य, भट्टराई, मूलतिहुन र घिमिरेलाई जनही १५,१०५।– रूपैयाँकाे साथ सम्मानपत्र र ढाकाटोपी अर्पिएकाे हाे।
फित्कौली अनलाइन मिडियाले स्थापना गरेकाे यस वर्ष सम्मानित एवम् पुरस्कृत व्यक्तित्व चयनका लागि चट्याङ मास्टरको संयोजकत्वमा सिस्नुपानी नेपालका अध्यक्ष लक्ष्मण गाम्नागे एवम् प्राडा मुकेशकुमार चालिसे रहेको छनोट समितिले छनोट गरेको थियो।
सम्मान तथा पुरस्कार समर्पण समारोहमा डा. रमेश शुभेच्छुले सम्मानित तथा पुरस्कृत स्रष्टाहरूको परिचय प्रस्तुत गरेका थिए।
उक्त कार्यक्रममा हास्यव्यङ्ग्यका तीन कृति लाेकार्पण गरिएकाे छ। देवीप्रसाद चापागाईंको बक्रपुराण, भलाद्मी भोलाको घोप्टेयुग र रमेश समर्थनको बदनाम आँचल लाेकार्पण गरिएको हाे।
डा. हरिप्रसाद सिलवालले चापागाईंको बक्रपुराणकाे र नवराज खतिवडाले भलादमी भोलाको घोप्टेयुगको समीक्षात्मक टिप्पणी गरेका थिए।
कार्यक्रममा रोहित दाहाल, पार्वती दाहाल र टङ्क दाहालले मेरा बा शीर्षकको हास्यात्मक प्रहसन, सुबोध गौतम, धीरेन्द्र प्रेमर्षि र रणबहादुर बुढाथोकीले हास्यव्यङ्ग्य प्रस्तुति मनोरञ्जक थिए।
कार्यक्रममा विश्वनाथ ढुङ्गेल (नुन बाजे), सीताराम गुरुङ, थरेन्द्र बराल लगायतका गायक कलाकारहरूले आआफ्नो प्रस्तुति प्रस्तुत गरेका थिए।
आरम्भमा फित्कौलीका प्रधानसम्पादक नरनाथ लुइँटेलले स्वागत मन्तव्य दिँदै हास्यव्यङ्ग्यको प्रवर्द्धन र उन्नयनका लागि फित्कौलीले २०८० को दशकलाई नेपाली हास्यव्यङ्ग्यको पुनर्जागरण दशक बनाउने घोषणा गरेको बताए।
नेपाली हास्यव्यङ्ग्य लेखन र प्रकाशनलाई प्रोत्साहित एवम् प्रेरित गर्दै आएको फित्कौलीले हास्यव्यङ्ग्यकार चोलेश्वर शर्मा, आर.सी. रिजाल, गायत्री लम्साल, महेश थापा, काशीनाथ मिश्रित, खगेन्द्र नेउपाने, सुभाषचन्द्र देवकोटा, देवीप्रसाद चापागाइँ, रामशरण न्यौपाने, दीनानाथ पोखरेल र कार्टुनिष्ट राजेश मानन्धरलाई यसअघि सम्मान अर्पिएकाे छ। संस्थाले १५ हास्यव्यङ्ग्य कृति प्रकाशित गरिसकेको छ।
राजेश मानन्धरका हास्यव्यङ्ग्यले भरिपूर्ण कार्टुनहरूको प्रदर्शनी समावेश उक्त समारोहमा पुरस्कार अक्षकोष दाता चट्याङ मास्टर, विजया गजुरेल, जनक चालिसे, डा. मुकेश चालिसे, सिस्नुपानी अध्यक्ष लक्ष्मण गाम्नागे लगायतको आतिथ्य रहेकाे थियाे।
त्यस्तै युगल बसेल, हरिकला उप्रेती, रामशरण न्यौपाने, राममणि ढुङ्गेल, गोपीचन्द्र कार्की, सालिकराम दाहाल, विके मकाजु, कृष्णप्रसाद पौडेल, दीनानाथ पोखरेल, भूप धमला, अमर अधिकारी, गणेशबहादुर पहरी लगायतकाे हास्यव्यङ्ग्यप्रेमीहरूको सहभागिता रहेको थियो।
फित्कौलीको यो हास्यव्यङ्ग्य अभियान अत्यन्त सार्थक, प्रभावकारी र हामी सबैले सराहना गर्नुपर्ने बताउँदै नरेन्द्रराज पौडेलद्वारा विसर्जन गरिएको समारोहलाई अनिल पौडेलले सञ्चालन गरेका थिए।
प्रकाशित: ३ मंसिर २०८२ ११:३३ बुधबार





