वरिष्ठ गायिका मथुरा प्रधान श्रेष्ठको ‘जीवनको अनमोल यात्रा’ आत्मकथा कृति र ‘सुख त सपनै भो’ म्यूजिक भिडियोको लोकार्पण भएको छ ।
प्रमुख अतिथि वरिष्ठ कवि तुलसी दिवस र विशिष्ट व्यक्तिहरुले संयुक्त रूपमा कृतिको लोकार्पण गरे । लोकार्पणपछि म्यूजिक भिडियोको प्रदर्शन गरिएको थियो।
कार्यक्रममा प्रमुख अतिथि तुलसी दिवसले मथुरा प्रधान श्रेष्ठ आफ्नो विद्यार्थी भए पनि स्रष्टाका रूपमा आफ्नै स्थान भएको बताए । उनले साहित्यकारहरूले लेखनबाट, सङ्गीतकर्मीहरूले सङ्गीत र गायनबाट आफ्नो देशलाई विश्वमै चिनाइरहेको बताए ।
कवि तथा पत्रकार शकुन्तला जोशीले सरल र सहज भाषामा लेखिएको यो कृतिले लेखकको सङ्घर्षलाई राम्ररी प्रस्तुत गरेको बताइन । कार्यक्रमका सभाध्यक्ष साहित्यिक पत्रकार सङ्घका अध्यक्ष राधेश्याम लेकालीले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै प्रतिभाहरूलाई अगाडि ल्याउने कार्यमा साहित्यिक पत्रकार सङ्घले ५४ वर्षदेखि काम गर्दै आइरहेको बताए ।
कृतिकार मथुरा श्रेष्ठले आफ्नो साङ्गीतिक सङ्घर्ष र सहयोगीहरूबारे बताउँदै यात्रामा सघाउनेहरू सबैप्रति आभार व्यक्त गरिन । कार्यक्रममा वरिष्ठ आख्यानकार पद्मावती सिंह र चलचित्र निर्देशक प्रकाश सायमीले शुभकामना मन्तव्य राखेका थिए । कवि सविता श्रेष्ठ बेहोसीले संचालन गरेको कार्यक्रममा वरिष्ठ इतिहासविद् डा. सुरेन्द्र के.सी. कवि एवं आख्यानकार उषा शेरचन, पूर्व राजदूत महेश मास्के र ओम अस्पतालका अध्यक्ष डा. आनन्द श्रेष्ठको उपस्थिति थियो।
कार्यक्रममा मथुरा प्रधान श्रेष्ठका जीवनसँगी प्रदीप श्रेष्ठले धन्यवाद ज्ञापन गरेका थिए । म्यूजिक भिडियो सुख त सपनै भो का गीतकार प्रकाश सायमी र सङ्गीतकार प्रवीन बराइली पनि कार्यक्रममा सहभागी थिए ।
प्रकाशित: २ कार्तिक २०८२ २२:१२ आइतबार





