काठमाडौं महानगरपालिकामा निवर्तमान मेयर बालेन्द्र शाहले सुकुम्बासीबारे दिएको बयान अहिले चर्चामा रहेको छ। गायिका ज्योति मगरले बालेन्द्रमाथि दोहोरो चरित्र देखाएको आरोप लगाएकी छिन्।
उनीमाथि काठमाडौं महानगरको प्रमुख हुँदा खोला किनारका सुकुम्बासी बस्तीमा डोजर चलाएर फुटपाथका गरिबलाई लखेटेको आरोप लाग्ने गरेको छ। तर मंगलबार झापाको कमल गाउँपालिकास्थित सुकुम्बासी बस्ती पुगेका उनले नयाँ तर्क प्रस्तुत गरेका छन्।
झापा पुगेर स्थानीय सुकुम्बासीहरूसँग कुराकानी गर्दै शाहले काठमाडौंमा बाढीबाट जोगाउन सुकुम्बासीलाई व्यवस्थापन गर्न खोजेको प्रस्टीकरण दिएका थिए। साथै झापाका सुकुम्बासीहरूलाई हटाउने कुनै योजना नरहेको र लामो समयदेखिको यो समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
उनको भनाइलाई लिएर गायिका मगरले सामाजिक सञ्जालमा तीव्र व्यंग्य गरेकी हुन्। यस सम्बन्धमा झापा–५ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवार रहेका शाहले दोहोरो चरित्र देखाएको मगरेको भनाइ रहेको छ।
उनले सामाजिक सञ्जालमा लेखेकी छिन्, ‘काठमाडौ महानगरको भोटरहरूको मन जित्न हिजो महानगर वरपरका सुकुम्बासीलाई र फुटपाथका गरिब लाई लखेटेका, भड्काएका मेयर सापले आज झापाका सुकुम्बासीलाई बाढी बाट जोगाउन व्यवस्थापन गर्न खोजेको भन्ने भाष्य सिर्जना गरेको देख्दा हग्नेलाई भन्दा देख्नेलाई लाज भने जस्तै भो।’
उनले अगाडि लेखेकी छिन्, ‘समय समय कि बात है भाइ... हिजो काठमाडौका हुकुम्बासी फकाउन सुकुम्बासीमा डोजर चलाए आज झापामा त्यही सुकुम्बासी को भोट चाहियो...’
प्रकाशित: २१ माघ २०८२ ०८:०९ बुधबार





