लघुकथाकार प्रार्थना खनालको 'शान्तविजय' लघुकथासंग्रहको लाेकार्पण भएकाे छ।
हाम्रो लघुकथा केन्द्र, नेपालका अध्यक्ष तथा समालाेचक डा. शेखरकुमार श्रेष्ठको अध्यक्षता तथा लघुकथाकार खनालकाे
९३ वर्षीय बुबा विजय खनाल प्रमुख अातिथ्यमा कार्यक्रम भएकाे हाे।
अन्य आमन्त्रित व्यक्तित्वहरूमा देउडा संस्कृतिका अभियन्ता
नन्दकृष्ण जोशी,नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ
'रोदन', खेमराज पोखरेल, सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका
पूर्व उपकुलपति डा.अमरराज जोशी, प्रा.पुरुषोत्तम दाहाल, कथाकार लता केसी तथा कृति समीक्षक मन्दिरा मधुश्री लगायतको उपस्थिति थियो।
मञ्चासिन व्यक्तित्वहरू तथा लेखक प्रार्थना खनाल समेतले सामूहिक रूपमा कृति लाेकार्पण गरेका हुन्। आमाबाबुमा नै समर्पित कथाकृतिको शीर्षक पनि आमाबाबुको नामबाट नै जुराइएको हो।
प्रमुख आमन्त्रित व्यक्तित्व विजय खनालले आफ्नो मन्तव्य राख्दै छोरीले आफ्नो नाम राखेर कृति प्रकाशन गरेकोमा खुसी व्यक्त गरेका थिए। लेखक छोरीलाई आशीर्वाद दिंदै उनले एउटा हिन्दी गीत गाएर सुनाएका थिए।
कार्यक्रमका सभापति हाम्रो लघुकथा केन्द्रका अध्यक्ष डा. शेखरकुमार श्रेष्ठले पूर्व मेचीदेखि पश्चिम महाकाली र पहाड देखि तराईसम्मका सर्जकहरूको उपस्थितिमा केन्द्रले एउटा नयाँ कृतिको विमोचन गर्ने अवसर पाएकोमा आभार प्रकट गरेका थिए। आजको कार्यक्रमबाट केन्द्रको गरिमा बढेको उनको भनाइ थियो।
विमोचित कृतिबारे संक्षेपमा समीक्षा गर्दै कथाकार मन्दिरा मधुश्रीले खनालका कथाहरूले सरल र सकारात्मक भाव बोकेका छन् भनेर बताइन्। उनका कथामा पौराणिक तथा धार्मिक, समसामयिक घटना,अध्यात्म,दर्शन, ज्ञानविज्ञानका,आधुनिक प्रविधि र त्यसको प्रयोग र महत्त्व अनि मानवीय संवेदना र सम्बन्ध रहेको बताइन्।
त्यसैगरी,उनले खनालका कथामा मौलिक संस्कृति,चाडपर्व र आदर्श समाजको कल्पना समेत भएको बताउँदै कथामा शारीरिक अङ्ग पनि पात्र बनेर आएका छन् र ती पात्रहरूले आफ्नो चरित्र राम्रोसँग निर्वाह गरेका छन् भनेर बताइन्।
श्रीओम श्रेष्ठ'रोदन', प्रा.पुरुषोत्तम दाहाल, खेमराज पोखरेल, लता केसी, भानुभक्त जोशी, रामचन्द्र कुशवाह तथा डा. अमर राज जोशीले शुभकामना मन्तव्य राख्दै कथाकार खनालको व्यक्तित्व तथा कृतित्वमाथि संक्षेपमा प्रकाश पारेका थिए।
कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्दै देउडा संस्कृतिका कलाकार नन्दकृष्ण जोशीले कार्यक्रमलाई एउटा
पारिवारिक जमघट भएको बताए।
साहित्यकार सुभाषचन्द्र पौडेल'भीमफेदीया' काे अनुसार कथाकार प्रार्थनाले बझाङ को संस्कृतिलाई दुई किसिमले उजागर गरेको बताउँदै कृति भित्रका दुई कथा 'बल्याजातो' र 'पडिम्याइत्' बारे चर्चा गरेका थिए।
देउडा गीतकार नन्दकृष्ण जोशीले दिवङ्गत बाबु, आमा र दाजुको स्मरण गर्दै केहीबेर भावुक भएका थिए भने श्रोताहरूको अनुरोधमा झ्याम्म झ्याम्म देउडा गीत गाएर सबैलाई हँसाएका थिए।
विमोचित कृतिभित्रबाट वन्दना घिमिरेले'प्रेम'शीर्षकको कथा
शान्ता तिमिल्सिनाले'अन्तर्दृष्टि'र सुनिता निरौला पौडेलले
'गुनासो'शीर्षकको कथा वाचन गरेर सुनाएका थिए।
केन्द्रकी उपाध्यक्ष सत्या अधिकारीले स्वागत मन्तव्य राखेकी थिइन्।
कथाकार प्रार्थना खनालले आफ्नो लेखकीय मन्तव्य राख्दै आफ्नी दिवङ्गत आमा शान्ताको स्मरणमा भावुक बनेकी थिइन्।
सानैदेखि लेख्ने बानी भए पनि छपाउन अल्छी गरेको बताउँदै उनले आफ्नो प्रेरणाको स्रोत श्रीमान् नन्दकृष्ण जोशी भएको बताइन्। आफ्नो लेखनको पहिलो पाठक पनि श्रीमान् नै भएको र उनको मार्गदर्शन तथा लघुकथा केन्द्रको सहयोगमा कृति प्रकाशन हुन सकेकोमा सबैप्रति आभार व्यक्त गरेकी थिइन्।
लघुकथा केन्द्रको तर्फबाट कथाकार प्रार्थना खनाललाई प्रशंसापत्र प्रदान गरिएको थियो। पुतलीसडकस्थित ग्रिनलिफ रेष्टुरेन्टमा भएको कार्यक्रमको सञ्चालन केन्द्रकी सहसचिव मिसु श्रेष्ठ थपलियाले गरेकी थिइन्।
प्रकाशित: १५ असार २०८३ ०६:४० सोमबार





