१६ फाल्गुन २०८२ शनिबार
image/svg+xml
कला/साहित्य

समीक्षकले टिप्पणी गरेपछि लाेकार्पण गरियाे ‘रङ्गभेद’

‘कपन-बानेश्वर राष्ट्रिय साहित्यिक साप्ताहिक’ ले साहित्यकार महेन्द्र चालिसेको लघुकथासङ्ग्रह ‘रङ्गभेद’ को लाेकार्पण गरेकाे छ।

वरिष्ठ साहित्यिक पत्रकार रोचक घिमिरेकाे प्रमुख आतिथ्य तथा पत्रिकाका प्रबन्धक एवं साहित्यकार गङ्गा कर्माचार्य पौडेलकाे सभाध्यक्षतामा कृतिकाे लाेकार्पण गरिएकाे हाे।

नेपालको पहिलो र एक मात्र साहित्यिक साप्ताहिक पत्रिका ‘कपन बानेश्वर राष्ट्रिय साहित्यिक साप्ताहिक’ ले ६ सय अङ्क प्रकाशन गरेको अवसरमा पत्रिकाका संरक्षक सदस्य साहित्यकार चालिसेको लघुकथासङ्ग्रहकाे लाेकार्पण गरेकाे हाे।

गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपक रिसाल, बुनपा ९ का वडाध्यक्ष राजिव थापा, लेखक महेन्द्र चालिसे, स्रष्टाकी जीवनसँगिनी इन्दिरा चालिसे, समीक्षकहरू ठाकुर शर्मा, गोपी मैनाली र कपन बानेश्वरका प्रकाशक / सम्पादक निबन्ध आचार्यले कृतिकाे लाेकार्पण गरेका हुन्।

लघुकथाकार महेन्द्र चालिसेले उपस्थित जनलाई शब्दमार्फत स्वागत गरेपछि लघुकथा गान बजाएर कार्यक्रम उद्घाटन गरिएको थियो।

परम्परागत शैलीकाे लाेकार्पणभन्दा पृथक् रूपमा समीक्षकहरू ठाकुर शर्मा र गोपी मैनालीले समीक्षात्मक टिप्पणी गरेपछि मात्रै कृतिकाे लाेकार्पण गरिएको हाे।

कार्यक्रमका सभाध्यक्ष गङ्गा पौडेलले कति लाेकार्पणपछि स्रष्टाकी जीवनसँगिनी इन्दिरा र प्रमुख अतिथि रोचक घिमिरेले कथाकार महेन्द्र चालिसेलाई रुद्राक्षको माला लगाइदिएर सम्मान अर्पिएका थिए।

कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपक रिसाल र गोनपा ९ का वडाध्यक्ष राजिव थापाले साहित्य र साहित्यकारका लागि नगरपालिकाले काम गरिरहेको र गरिरहने बताए।

उक्त कार्यक्रममा साहित्यकारहरू युवराज मैनाली, रमेश खनाल र शङ्कर भारतीले शुभकामना मन्तव्य प्रस्तुत गरेका थिए। सो कार्यक्रममा एनबी जनकपुरेले महेन्द्र चालिसेको गीत गाएका थिए।

प्रमुख अतिथि रोचक घिमिरेले साहित्यिक, त्यसमाथि पनि समाचारमूलक साप्ताहिक रूपमा निकालेर ६ सय अंकसम्म पुयाउनु हिमाल चढ्नु बराबर हो भन्दै प्रशंसा गरेका थिए। साथै महेन्द्र चालिसेको पहिलो कथासङ्ग्रहभन्दा यो कृति परिमार्जन भएर आएको बताए।

सभाध्यक्ष गङ्गा कर्माचार्य पौडेलले पत्रिका प्रकाशन सामूहिक काम भएको र कबा समुहले मिलेर काम गरेको कारण नै ६ सय अङ्कसम्म पुग्न सफल भएको बताइन्।

कपनका सम्पादक तथा प्रकाशक निबन्ध आचार्यले पत्रिकाकाे प्रकाशन यात्रामा सहयाेग पुर्‍याउने शुभेच्छुक स्रष्टाकाे उल्लेखीय भूमिका रहेकाे बताए। उनले प्रकाशन यात्रामा सहयाेग पुर्‍याउने अरुण नदी खत्री, मदन नेपाल र लता केसी लगायतलाई धन्यवाद दिएका थिए।

साहित्यकार आलोक चालिसेले सञ्चालन गरेको कार्यक्रममा प्रकाशक/ सम्पादक निबन्ध आचार्यले धन्यवाद ज्ञापन गरेका थिए।

कपन बानेश्वर राष्ट्रिय साहित्यिक साप्ताहिकको प्रकाशन रहेको रङ्गभेद चालिसेको तेह्रौं प्रकाशित कृति हो। यसभित्र ६५ लघुकथा सङ्गृहीत छन्।

प्रकाशित: ७ फाल्गुन २०८२ ०९:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App