यही मंसिर २६ गतेबाट प्रदर्शन आउन लागेको ‘पीआर’ चलचित्र अस्ट्रेलिया र न्युजल्याण्डमा सोल्डआउट भएको छ। फिल्मलाई त्यहाँका मि. श्रेष्ठ प्रोप्राइत्री लिमिटेड तथा श्रेष्ठ फ्यास्लिटी म्यानेज्मेन्ट कम्पनीले खरिद गरेको हो। यस कम्पनीका सञ्चालक विजेन्द्र श्रेष्ठले अस्ट्रेलिया र न्युजल्याण्डमा प्रदर्शनका लागि खरिद गरेको बताए।
उनका अनुसार चलचित्रले सामाजिक सन्देश दिने र सबैले बुझ्नुपर्ने विषय भएकाले सबैको मागअनुसार खरिद गरिएको हो। यसअघि यो चलचित्र अस्ट्रेलियाकै विभिन्न स्थानमा विशेष शो समेत गरिएको थियो। शो हेरेका अधिकांश दर्शकले चलचित्र राम्रो बनेको भन्दै चलचित्र र निर्माण पक्षको प्रशंसा गरेका थिए।
शोभित बस्नेतको निर्देशनमा निर्माण भएको चलचित्रमा आर.ए.सुरज पौडेल, विनिता कार्की, राजन कुँवर, पूजा चौधरी, आश्मा अधिकारी मस्तानी, विमला खत्री, गणेश बुढाथोकी, म्याक्स कृष्ण थापा र नवीन घायल प्रमुख भूमिकामा छन्। विशेष भूमिकामा नीर शाह, गौरी मल्ल, रविन्द्र खड्का, उत्तम केसी नेपाल, र दिक्पाल कार्कीलाई पनि देख्न सकिन्छ।
यतिबेला निर्देशक बस्नेत यो चलचित्रको प्रमोसन र त्यहाँको हलमा चलचित्र रिलिजका लागि अस्ट्रेलियामा नै रहेका छन्। उनी यतिबेला अस्ट्रेलियामा नै चलचित्रको प्रमोसनमा लागिरहेका छन्।
यस चलचित्रको प्रस्तुति रञ्जित साह र सन्तोष तिवारीको छ भने लक्ष्मण सापकोटा र प्रदीप दाहालले लगानी गरेका छन्। बन्दे प्रसादको सम्पादन रहेको छ भने गणेश बुढाथोकीको लेखन रहेको छ।
सौरभ सायमी र सौरभ लामाले फिल्मको छायांकन गरेका छन् भने वितरण आरआर फिल्म्सले गर्दैछ। यस फिल्मका गीतमा मानस राजको संगीत, सनुप पौडेल र नीतु पुनको गायनलाई पनि सुन्न सकिन्छ। सलोन सलिना फिल्म्सको ब्यानरमा निर्माण भएको यो चलचित्रमा कोरियोग्राफी रामजी लामिछानेको छ।
प्रकाशित: १२ मंसिर २०८२ १०:२४ शुक्रबार





