परदेशमा रहेका खसमको याद
महिनौं/वर्षौ नदेखेको /नभेटेको
मुग्लानपारिबाट आएको सन्देश
प्रेमले भरिएका शब्दहरू
मायाको चिनो हुन्थे
सिरानी र पत्रको आलिगनमा जीवनभर कुर्ने पत्नीको
अदृश्य विश्वास, आत्मिय र भरोसामा
जिन्दगीभरको सम्बन्ध बाँधिएका हुन्थे
सातुसामल पोको पारेर
छोराछोरीलाई शहर पसाएका
बाआमाहरू
मीठोमसिनो पाकेको दिन
हरेक गाँसमा माया र स्नेह भर्थे
चाउरिएका मुहारमा
ढोगप्रणामको सन्देशले
औंसीको रातमा पूर्ण चन्द्रमा उदाउँथ्यो
वेदना, पीर र दुखहरू
सुस्केराहरूको हावामा हराउँथ्याे
आशीर्वाद, प्रेम र ममता
खहरे उर्लेसरी छातीभरि उर्लन्थ्यो
कागजको चिर्कटोमा
सन्तानको उपस्थितिको अनुभूति
फूलको असीम सुवासझैं मग्मगाउँथ्यो
हुलाकी दाइको पदचाप र छाया
साइकलको घण्टी
एकादेशका कथा भएका छन्
विद्युतीय पत्रको युग आएको छ
जसरी हराएका
हुलाकीका पदचाप, छाया र घण्टीहरू
उसैगरी हराएका छन् भावनाहरू
संवेदनहीन समवेदनाहरू पोखाएर
संवेदनशील देखाउने कथाहरू लेखिंदै छन्।
- लक्ष्मी श्रेष्ठ 'रेशमी ’
प्रकाशित: १४ भाद्र २०८२ १३:१९ शनिबार





