१३ श्रावण २०८३ बुधबार
image/svg+xml
कला/साहित्य

निष्ठाछेँका ज्येष्ठ तपसी

करिब तीन वर्षअघि पहिलो भेट हुँदा उहाँले पूर्णाङ्गिनी ध्रुवेश्वरी कायस्थसँग परिचय गराउनु भयो– ‘उहाँ मेरी सासूकी छोरी।’

मैले उत्तर दिएको थिएँ– ‘हजुर उहाँको सासूको छोरा।’

भक्तपुर सूर्यविनायकस्थित ‘निष्ठा छेँ’ छिरेको म, त्यहाँबाट बिदा हुँदैगर्दा मुसक्क भएँ– ‘सासूका छोरीछोराको छेँ’ बाट निस्कदै छु।

बुढ्यौली उहाँको वर्तमान वय परिचय हो, ठट्यौली पुरानो विशेषता। उहाँ आफ्ना कतिपय विचार ठट्टा, उखान र अरूका भनाइबाट पुष्टि गर्नुहुन्छ। नेपाली, नेपाल, संस्कृत, अङ्गे्रजी तथा हिन्दी भाषाका साहित्यको राम्रो जानकारी राख्ने उहाँका वर्तमान दिन निष्ठा छेँको वोल्लो–पल्लो कोठा गरेर बित्दैछन्। लेख्ने, पढ्ने त छँदैछ तर भन्नुहुन्छ– ‘आँगन नै परदेश।’

घरभित्र छिरेपछि ज्येष्ठ तपसी दुई कपोताकपोती देखिन्छ। त्यो घर कपोतपाली लाग्छ अर्थात् परेवा जोडीको गुँड। अनायस प्रार्थना गर्छ हृदयले –‘यो जोडीलाई नछुटाए है दैव’ दुवै अशक्त तर भन्नुहुन्छ– यहाँसम्म आएपछि हाम्रो नेवारी खाजा खानुपर्छ। पहिलो पटक हामी निष्ठा छेँ पुग्दा खाजा तयार भइसकेको रहेछ। मैले असहमति जनाएँ– यसरी हामी आउँदा छोरी, बुहारीले बिदा लिएर खाजा तयार गर्नुपर्दा हाम्रो आगमन धेरै कष्टकर हुने भएकाले कि हामी आउँदैनौं, कि हल्का चियापानी मात्र होस्। तर उहाँ भन्नुहुन्छ–मलाई धेरैभन्दा धेरै साथीभाइ आएर खाइदिए सन्तोष लाग्छ, पेन्सनको पैसा पनि आउँछ क्या अलिअलि, चिन्ता नलिनू।

बालकृण सम, केदारमान व्यथित, सिद्धिचरण श्रेष्ठ, माधवप्रसाद घिमिरे, सत्यमोहन जोशी लगायत नेपाली वाङ्मयका अग्ला पात्रहरू यो घरमा आएका छन्, भेटघाटमा रमाउने उहाँले इतिहास सम्झनुभयो। वर्तमानको मूल्याङकन गर्नुभयो– उतिखेर भेटघाट र जनसम्पर्कलाई महत्त्व दिइन्थ्यो, आजकल मानिसमा त्यस्तो बानी छैन। भेटघाटले जानकारी मिल्छ, जानकारीले लेखन विषय दिन्छ, उहाँको अनुभव छ। निष्ठा छेँमा प्रायः सबै नयाँ पुराना लेखक तथा साहित्यकार आएका र त्यो क्रम निरन्तर रहेको बताउनुहुन्छ। हरेक दिन कोही न कोही आउँछन्, नआए खल्लो लाग्छ उहाँलाई। भेटघाट, अध्ययन र लेखन उहाँका अभिन्न साथी हुन् जसले समय कटाउन सहज गरिदिन्छन्।

निबन्धकार, इतिहासविद्व् साधक तेजेश्वरबाबु ग्वङ्ग (१९९२ कात्तिक ७) हालसालै प्रकाशित पत्रपत्रिका, आफूलाई प्राप्त पुस्तक तथा विविध रचना पढेर प्रतिक्रिया लेख्न पनि भ्याउनुहुन्छ।

साहित्य पोष्टका सम्पादक मित्र अश्विनि कोइराला र म २०८२ चैत १२ गते शनिबार साहित्य साधक ग्वङ्गलाई भेट्न जाने भयौँ। मैले समय मिलाएँ, आउनुस्– खुसी हुँदै भन्नुभयो। उहाँको पुरानै बानी हो–प्रत्येक दिन कोही न कोही घरमा आइदिए हुन्थ्यो। पहुनाको अति चाहना र श्रद्धा गर्ने उहाँ।  

हामी पुग्दा उहाँहरू (जीवनसङ्गिनी ) शयन कक्षमा हुनुहुन्थ्यो। एक तला उक्लेर बोलायौँ। हिँड्न अलि अप्ठेरो गरेर बैठकसम्म आउनुभयो। चस्मा, ढाका टोपी, अग्रभाग केही झुकेको शरीर हामीले अभिवादन ग¥यौँ। हामीलाई स्वागत गर्नुभयो। हामी पुग्नुअघि नै हाम्रा लागि फ्रुटी र जुनार तयार गर्नुभएको रहेछ। पछि उहाँले खानू भन्नुभएपछि हामीले खायौँ।

उहाँले भरखरै पाएको मधुपर्क र बालपत्रिका मुनाका बारेमा समीक्षात्मक धारणा राख्नुभयो। केही लेख लेख्दै हुनु हुँदाे रहेछ–‘लेख माग्न आएका थिए, मैले सर्त राखेँ’ कस्ता सर्त मलाई उत्सुकता भयो। ‘मेरा लेख मेरै हस्ताक्षरलाई स्क्यानिङ् गरेर छाप्नुपर्छ, प्रिन्ट गर्न पाइने छैन’ सर्त सुनाउनुभयो।

अश्विनीजी उहाँसँग विगतमा पटक पटक भएका भेटघाट र संवादको स्मरण गराउन थाल्नुभयो। म निश्चल साधक ग्वङ्गलाई हेरिरहेको छु, मनमा प्रश्न आउँछ – मानिस बाँच्नु भनेको के हो? कतिपय युवा छन् तर कर्महीन छन्। रहर शून्य छन्। कतिपयसँग रहर र उद्देश्य छन् तर सुन्न खोज्छन् कानले साथ दिन्नन्, देख्न खोज्छन् आँखाले साथ छोड्छन्, कतिपय लेख्न खोज्छन् विस्मृतिले अगाडि बढ्न सक्दैनन्। कतिपय शताब्दी आयुमा पनि लेख्ने, पढ्ने गर्दैछन्। आँखा, कान, स्मरण शरीर सबै क्रियाशील छन्। मानिस बाँच्नु भनेको उनीहरूका विभिन्न अवयव पनि बाँच्नु रहेछ। यस मानेमा तेजेश्वरबाबु ग्वङ्ग पूर्ण जीवित, सक्रिय र युवा हुनुहुन्छ। उमेर ९० वर्ष, ठिक्कको होचो पुरानो शैलीको साना झ्याल भएको घर, केही अँध्यारो तर मजाले लेखिरहनुभएको छ। पढिरहनुभएको छ। लेख्ने अथाह आकाङ्क्षा छ। सोध्नुहुन्छ लेख्न नसके दिन कसरी कटाउने त ?

मुना मासिक पढेर लेखेको टिप्पणी देखाउनुभयो–कस्ता सुन्दर अक्षर, कस्तो धैर्य, कति नियमितता। साधक हुन चाहिने अचुक विशेषता देखिन्छन् उहाँमा। लेख्दै जाँदा जहाँ बिग्रन्छ, टिपेक्स लगाउनुहुन्छ। टिपेक्स लतपत छैन, आफै लगाउनुहुन्छ ? म सोध्छु, हो मैले लेखेपछि कसले सच्याउँछ त ? यसको मतलब उहाँको हात त्यति काम्दैनन्।

मुना बारेमा लेखेको मन्तव्यको फोटा खिचौँ ? हुन्छ उहाँले  अनुमति दिनुभयो।  

बुढ्यौलीको बादलले ठट्यौलीको घामलाई पूरै छेक्न सक्दैन रहेछ, र त उहाँ मलाई कोट्याउँदै आफ्नो बैठक कोठा उर्फ पुस्तकालय कक्षको कुनामा देखाउनुहुन्छ– ऊ त्यहाँ छन् तपाईका दाजु।

दाजु ? म छक्क परेँ, को मेरा दाजु ?

विसं. २००७ मा गठित पहिलो राणा–काँग्रेसको मन्त्रिमण्डलका प्रधानमन्त्री मोहन शमशेर र गृहमन्त्री बीपी कोइराला लगायतको तस्बिर। दाजु भनेर बीपीलाई भन्नुभएको होला, अर्थात् सान्दाजु!

तस्तिर हेर्दे जाँदा देखिदैन रक्षा मन्त्री बबर शमशेर।

किन ? मैले प्रश्न गरें–‘बबर शमशेरले भनेछन्, यी हिजो हामीले थुने, पक्रेका मानिससँग सँगै बसेर फोटो खिचाउन्न’ बबर शमशेरलाई उदृत गर्दै साधक ग्वङ्गले स्पष्ट पारिदिनुभयो –‘उनी अल्ली झोडी स्वाभावका थिए।’

जुन कोणबाट कुरा गरेपनि साधक ग्वङ्ग आफैमा पुस्तकालय लाग्नु हुन्छ। कत्रो जानकारी कत्रो सम्झना ? पुस्तकालय भनौँ वा छापाखानाको भण्डारजस्तो छ उहाँको बैठक कक्ष। अमेरिकाबाट सांस्कृतिक मानवशास्त्रमा स्नातकोत्तर उहाँको अध्ययन कक्षमा देखिने विभिन्न मूर्ति, कला, पुस्तकले त्यहाँ पुगेकालाई इतिहास पढाइरहेका हुन्छन्। कला र साहित्य पढाइरहेका हुन्छन्।

कति लोभलाग्दो स्मरण शक्ति, सातसाले मन्त्रीहरूको नाम सरर्ररै भन्नुभयो, जसको तस्बीर छ उहाँको बैठक कक्षमा। श्री ३ महाराज मोहन शमशेर, बीपी कोइराला, सुवर्ण शमशेर, चूडाराज शमशेर, गणेशमान सिंह नृपजङ्ग राणा, भद्रकाली मिश्र, यज्ञबहादुर बस्नेत, भरतमणि शर्मा। पहिलो संयुक्त सरकार १० सदस्यीय थियो।

दीर्घ साधकको जीवनबाट केही न केही प्रेरणा लिनुपर्छ। ग्वङ्गबाट पाइने प्रेरणालाई क्रमबद्ध गर्न नसकिए पनि प्रमुख प्रमुख प्रेरणा सक्रियता, सद्विचार, सकारात्मक टिप्पणी, अध्ययन हुन्। सँधै विद्यार्थी हुने बानीले उहाँलाई विराट साधक बनाएको छ। नयाँ पुस्ताका लागि यही हो प्रेरणा। शिक्षकदेखि खरिदार र नेपाल सरकारको उपसचिवसम्म राष्ट्रसेवाको दौरान उहाँले जागिरे जीवनमा जे जति पाउनुभयो त्योभन्दा धेरै साहित्य साधक ग्वङ्गलाई उहाँको साधनाले नेपाली साहित्यको शिखर स्थानमा पुर्‍याएको छ। 

प्रकाशित: १० श्रावण २०८३ ०८:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App