नेपाली भाषा, साहित्य, कला, संस्कृति र साहित्यिक पत्रकारितामा योगदान गर्दै आएका एकाउन्न संस्थाको साझा मञ्च ‘साहित्यिक संस्था समन्वय समिति’ ले ९१ वर्षीय वरिष्ठ कवि द्वारिका श्रेष्ठलाई सामूहिक अभिनन्दन गरेको छ।
नेपाल पर्यटन बोर्ड, भृकुटीमण्डप, काठमाडौंमा सो समितिका अध्यक्ष एवं साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा भएको सो समारोहमा वरिष्ठ कवि द्वारिका श्रेष्ठलाई कद बराबरको अभिनन्दनपत्र अर्पिएको थियो। श्रेष्ठलाई दोसल्ला, दूबो, फूल र रुद्राक्षको माला, टोपी, टीका, सगुन र फूल वर्षासहित अभिनन्दन गरिएको थियो।
समारोहमा श्रेष्ठलाई प्रदान गरिएको अभिनन्दनपत्र समितिका सचिव एवं नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनले विशेष मन्तव्यसहित वाचन गरेका थिए।
त्यस्तै कार्यक्रममा अध्यक्ष लेकालीले कार्यक्रमको उद्देश्य र महत्त्वमाथि प्रकाश पार्दै श्रेष्ठले साहित्य सिर्जना, प्रजातान्त्रिक आन्दोलन र देशको विषम परिस्थितिको बेलामा पुर्याएको योगदानको चर्चा गरेका थिए।
अभिनन्दित श्रेष्ठकी श्रीमती गुन्जन नारी साहित्य संस्थाका अध्यक्ष आख्यानकार जलेश्वरी श्रेष्ठलाई पनि सम्मान गरिएको सो समारोहमा समितिका सदस्य वरिष्ठ समालोचक प्रमोद प्रधानले श्रेष्ठको व्यक्तित्व र कृतित्वको चर्चा गरेका थिए। उनले २०१० को पूर्वार्द्धदेखि कविता सिर्जनामा संलग्न भएर सात दशक लामो यात्रामा कवि द्वारिका श्रेष्ठको आफ्नै विशिष्ट पहिचान बनाउनुका साथै महत्त्वपूर्ण योगदान दिएकाे बताए।
उक्त अवसरमा अभिनन्दित वरिष्ठ कवि द्वारिका श्रेष्ठले आफ्नो मन्तव्यसहित कविता वाचन गरेकी थिइन्। सो अवसरमा श्रेष्ठले साहित्यकारहरूलाई स्थान दिएर अघि बढाउने साहित्यिक पत्रकारिता संरक्षण गर्ने काम अझै हुन नसकेकोमा दुख व्यक्त गरिन्। उनले साहित्यको विकास र विस्तारमा राजनीतिक नेता, नेतृत्व र दलहरू उदासीन रहेको पनि बताइन्।
समारोहमा धन्यवाद ज्ञापन तथा सभा विसर्जन गर्दै समितिका सदस्य एवं नेपाली कलासाहित्य डट कम प्रतिष्ठानका अध्यक्ष मोमिलाले आफ्नै विशिष्ट शिल्प लिएर देखापरेका कवि द्वारिका श्रेष्ठको नेपाली कविताको प्रयोगवादी धारका क्षेत्रमा बिर्सनै नसकिने योगदान रहेको बताइन्।
सखी प्रतिष्ठानका अध्यक्ष मन्जिला अनिलले सहजीकरण गरेकाे कार्यक्रममा कवि गीता कार्कीले श्रेष्ठको एउटा कविता वाचेकी थिइन्।
कार्यक्रममा एकाउन्न संस्थाका प्रतिनिधि, साहित्यकार, पत्रकार, कलाकारसहितको बाक्लो उपस्थिति थियो।
प्रकाशित: ३ फाल्गुन २०८२ १०:४७ आइतबार





