२३ चैत्र २०८२ सोमबार
image/svg+xml
कला/साहित्य

छात्रवृत्ति

लघुकथा

“बाबा, हेर्नुस् त, त्यहाँ किन मानिसहरूको त्यत्रो घुइँचो?” छोराले भनेपछि बाबा पनि त्यही घुइँचोतिर जानुभयो।

पञ्चमी बजार हप्तामा एक दिन लाग्ने ठूलो बजार थियो। त्यहाँ धेरै मानिस सामान किनबेच गर्थे।

“तातोतातो बदाम लिनुस्, हजुर!” सानो माइकमा आवाज कैद गर्दै एकजना बुढा बा बोलिरहनुभएको थियो।

मानिसहरू धमाधम बदाम किन्दै थिए। सानो छोराले पनि बदाम किन्न आग्रह गर्‍यो।

सानो छोराले बदाम बेच्ने बुढा बालाई सोध्यो, “हजुरबा, हजुरले किन घरमै नबसी यसरी बजारको बीचमा बदाम बेच्नुभएको?”

बालकलाई हेरेर बुढा बा केही नबोली मुसुक्क हाँसिरहनुभयो।

फेरि बालकले साेध्याे, “घरमा कोही छैन र यसरी बेच्नुभएको?”

“सबै घरका सदस्यहरू बिहानै उठेर आआफ्नो काममा जान्छन्। मैले पनि यसरी घरमै बस्नुभन्दा केही गरौँ भनेर हो, के बाबु!” उहाँले माया मिश्रित स्वरमा भन्नुभयो।

बालकको उत्सुकता अझ बढ्यो, “अनि यसरी कमाएको पैसाले के गर्नुहुन्छ नि, हजुर?”

बुढा बा अलि भावुक हुँदै भन्नुभयो, “आफ्नो आवश्यकतापछि बाँकी रकम मैले आफ्नै गाउँका  जेहेनदार गरीब विद्यार्थीहरूको छात्रवृत्तिका लागि जम्मा गरिदिन्छु।”

प्रकाशित: २३ चैत्र २०८२ ०९:५० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App