१९ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
कला/साहित्य

‘साहित्यसुधा नेपाल’ ले मनायाे सातौँ वार्षिकाेत्सव

‘साहित्यसुधा नेपाल’ ले आफ्नो सातौं वार्षिकोत्सवको अवसरमा तीन अग्रज व्यक्तित्वलाई सम्मान तथा पुरस्कार अर्पिएको छ।

नेपाल प्रज्ञाप्रतिष्ठानको लेखनाथ प्रवचन कक्षमा आयोजित कार्यक्रममा प्राडा अञ्जना वस्तीलाई हरिभक्त साहित्यसुधा सम्मान तथा पुरस्कार २०८२, कवि जगन्नाथ आचार्यलाई केवलपुरे किसान साहित्यसुधा सम्मान तथा पुरस्कार २०८२ र कवि असीम सागरलाई मनीषा साहित्यसुधा सङ्घर्षशील सम्मान तथा पुरस्कार २०८२ अर्पिएको छ।

‘साहित्यकाे संवर्द्धन, हाम्राे अभियान’ मूल नारा भएकाे साहित्यसुधा नेपालकी अध्यक्ष कल्पना काफ्लेकाे अध्यक्षता तथा लाेकप्रिय आख्यानकार प्राज्ञ माया ठकुरीकाे प्रमुख आतित्यमा कार्यक्रम भएकाे हाे।

कार्यक्रमका प्रमुख अतिथि साहित्यकार माया ठकुरी, साहित्यसुधा नेपालकी अध्यक्ष कल्पना काफ्लेले विशिष्ट अतिथिहररूको उपस्थितिमा तीन व्यक्तित्वलाई दोसल्लासहित जनही १५ हजार रुपैयाँ नगद पुरस्कार र प्रमाणपत्र अर्पिएकी थिइन्।

कार्यक्रममा सम्मानित व्यक्तित्वत्रयले सम्मान पुरस्कारले हौसला र प्रेरणा मिलेको भन्दै साहित्यसुधा नेपालप्रति कृतज्ञता व्यक्त गरेका थिए।

सम्मानित व्यक्तिहरू कवि जगन्नाथ आचार्यले केवलपुरे किसानको कविता वाचन गरेका थिए। त्यस्तै असीम सागरले आफ्नी पत्नीको भूमिकाको प्रशंसा गर्दै उनकै लागि रचेकाे कविता वाचन गरेका थिए।

कार्यक्रममा साहित्यसुधा नेपालका संरक्षक प्राडा देवी नेपाल तथा कवि तथा साहित्यसुधा नेपालका सल्लाहकार कलानिधि दाहालले सम्मानित व्यक्तिहरूको जीवनी तथा कृतित्वबारे प्रकाश पारेका थिए।

प्राडा देवी नेपालले पुरस्कारका संस्थापकहरू हरिभक्त सिग्देल, केवलपुरे किसानका छोरा कमल पौडेल (हाल हङ्कङ) साथै साहित्यसुधा नेपालकै परिकल्पनाकार मनीषा प्रसाईंको परिचय समेत प्रस्तुत गरेका थिए। उनीहरूले सम्मानित व्यक्तिहरूले नेपाली भाषा र साहित्यको विकासमा खेलेको भूमिकाको चर्चा गर्दै सम्मानले उर्जा थप्ने विश्वास व्यक्त गरेका थिए।

तीनै जनाको जीवनी तथा कृतित्वमाथि चर्चा गर्ने साहित्यकारहरूले आगामी जीवनमा पनि साहित्यको क्षेत्रमा नयाँ कृति प्रकाशनका लागि सम्मानले प्रेरणा मिलोस् भनी शुभकामना व्यक्त गरेका थिए।

यस्तै सम्मान तथा पुरस्कार स्थापना गरिएका व्यक्तित्वहरूका तर्फबाट आध्यात्मिक कवि हरिभक्त सिग्देलले आफूले आगामी दिनमा पनि सम्मान तथा पुरस्कारलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्दै सम्मानित व्यक्तित्वहरुलाई शुभकामना व्यक्त गरेका थिए।

जेन  जी आन्दोलनको स्मरणमा उनले आफ्नो कविता समेत वाचन गरेका थिए।

केवलपुरे किसानकी छोरी गोमा पौडेलले आफ्ना पिताका दुई कविता वाचन गरेकी थिइन्। उनले ती कविता आज पनि उत्तिकै सान्दर्भिक भएको चर्चा गरेकी थिइन्।

साहित्यसुधा नेपालकी परिकल्पनाकार मनिषा प्रसाईं (हाल इजरायल ) ले मनीषा साहित्यसुधा सङ्घर्षशील पुरस्कार यस वर्ष स्थापना गरेकी हुन्। उनको कविता संस्थाका सदस्य डिल्लीप्रसाद मूलतिहुनले वाचन गरेका थिए।

कार्यक्रममा विशिष्ट अतिथिहरू डा. तुलसी भट्टराई र डा.अभि सुवेदीले सम्मानित स्रष्टाहरूलाई बधाई तथा शुभकामनासहित नेपाली साहित्यमा स्रष्टाहरूको थप योगदानको अपेक्षा व्यक्त गरे।

प्रमुख अतिथि साहित्यकार माया ठकुरीले पनि सम्मानितहरूलाई शुभकामनासहित साहित्यसुधा नेपालले स्तुत्य कार्य गरेकोमा बधाई तथा शुभकामना दिएकी थिइन्।  

कार्यक्रमकी सभापति साहित्यसुधा नेपालकी अध्यक्ष कल्पना काफ्लेले प्रत्येक वर्ष संस्थाले साहित्यमा योगदान पुर्याउने स्रष्टाहरूलाई सम्मान गर्दै आएको जानकारी गराउँदै आगामी दिनमा अझ धेरै स्रष्टालाई सम्मान गर्न सक्ने गरी वातावरण तयार गर्दै लाने बताइन्।

२०७५ सालमा स्थापना भएको साहित्यसुधा नेपालले हालसम्म  लगभग ३ दर्जन भन्दा बढी (आजको समेत) कार्यक्रम सम्पन्न गरेको सुनाउँदै काफ्लेले भनिन्, ‘साहित्यसुधा नेपालले केही त गर्छ, केही त गरोस्, केही त गर्नेछ भन्ने लागेर हामीले काम गरेका छौं। हामीलाई यहाँहरू र विभिन्न संघसंस्थाबाट प्राप्त साथसहयोगप्रति आभार व्यक्त गर्दछौं। तपाईंहरूथाक्नु हुँदैन है भनेर केही संस्थाले प्रायोजन समेत गर्नुभएको छ। त्यसका लागि कृतज्ञता व्यक्त गर्दछु।’

 उनले साहित्यसुधा नेपालले आगामी दिनमा पनि विभिन्न कार्यक्रमहरू गर्ने योजना सुनाउँदै तिनमा सबैको सक्रिय सहभागिताको अपेक्षा समेत व्यक्त गरेकी थिइन्।  

कार्यक्रममा साहित्यसुधा नेपालका उपाध्यक्ष गणेश मार्मिकले स्वागत मन्तव्य राखेका थिए। साहित्यसुधा नेपालले ‘साहित्यको सम्वर्द्धन, हाम्रो अभियान’ को परिकल्पना बोकेर आफ्ना साहित्यिक गतिविधि अघि बढाउँदै आएको छ।

कार्यक्रमको विशेषताको रूपमा प्रमुख अतिथि साहित्यकार माया ठकुरी, कार्यक्रमका सभापति एवम् साहित्यसुधा नेपालकी अध्यक्ष कल्पना काफ्ले र सम्मानित तीनमध्ये एक प्राडा अञ्जना वस्ती गरी तीन महिला रहेकाे भन्दै  महिला सहभागिता पनि उत्साहप्रद नै रहेको चर्चा समेत गरिएको थियो।

प्रकाशित: १० फाल्गुन २०८२ ०९:२३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App