लीलाध्वज थापा साहित्य प्रतिष्ठानको आयोजनामा यशस्वी साहित्यकार लीलाध्वज थापाको १०६ औं जन्मजयन्ती एवं पुरस्कार समर्पण समारोह एक विशेष समारोहका बीच भव्यताका साथ सम्पन्न भएको छ।
प्रतिष्ठानका अध्यक्ष विजयध्वज थापाको अध्यक्षता तथा विशिष्ट शिक्षाविद् एवं कूटनीतिज्ञ प्राडा जयराज आचार्यको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो।
समारोहमा वरिष्ठ साहित्यकार रोचक घिमिरेलाई नगद, सम्मानपत्र, दोसल्ला र मालासहित विशिष्ट साहित्य सम्मान अर्पिएको छ। प्रतिष्ठानका अध्यक्ष विजयध्वज थापाबाट दोसल्ला र माला तथा प्रमुख अतिथि प्राडा जयराज आचार्यबाट सम्मानपत्र र नगद पुरस्कार हस्तान्तरण गरिएको थियो।
कार्यक्रमको प्रारम्भमा राष्ट्रिय गान र स्व. लीलाध्वज थापाको तस्वीरमा पुष्प अर्पण गरिएको थियो। कार्यक्रममा विशिष्ट अतिथिहरू लगायत उपस्थित सम्पूर्ण आमन्त्रित अतिथिहरूलाई विजयध्वज थापा र कमला थापाद्वारा खादा ओढाई स्वागत गरिएको थियो ।
कार्यक्रममा आमन्त्रित अतिथिहरूलाई स्वागत गर्दै रामप्रसाद पन्तले स्वागत मन्तव्य राखेका थिए। विशिष्ट अतिथि डा. देवी नेपालले स्व. लीलाध्वज थापाको साहित्यिक योगदान, उनको जीवनी र नेपाली साहित्यमा उनले पुर्याएको अतुलनीय योगदानबारे विशेष प्रकाश पारेका थिए।
यसैगरी कार्यक्रमका प्रमुख अतिथि प्राडा जयराज आचार्यले आफूले ६६ वर्षदेखि निरन्तर स्वतन्त्र रुपमा साहित्यिक साधना गरिरहेका व्यक्तित्व (रोचक घिमिरे) लाई सम्मान गर्न पाउनु पशुपतिको भट्टले पशुपतिनाथको पूजा गरे सरह आफ्नो भाग्य रहेको बताए। प्राडा आचार्यले आफ्नो मन्तव्यका क्रममा आदिकवि भानुभक्त आचार्य र कविशिरोमणि लेखनाथ पौड्यालका विशेषताहरूको चर्चा गर्दै भानुभक्तको तुलनामा कविशिरोमणि लेखनाथ पौड्यालले परिष्कृत र परिमार्जित रूपमा काव्य सिर्जना गरेको धारणा व्यक्त गरे। सोही क्रममा उनले महाकवि लक्ष्मीप्रसाद देवकोटाले कविशिरोमणि लेखनाथ पौड्यालका विषयमा लेखेको भूमिकाको प्रसङ्गलाई समेत उनले मन्तव्यका क्रममा उल्लेख गरे।
साहित्यकार लेखक जयराम बिडारीकाे अनुसार सो अवसरमा सम्मानित व्यक्तित्व वरिष्ठ साहित्यिक पत्रकार तथा साहित्यकार रोचक घिमिरेले उपन्यास र नाटकबाट साहित्यिक क्षेत्रमा प्रवेश गरेकाे लीलाध्वज थापा एक यशस्वी साहित्यकार रहेको कुरा व्यक्त गरे। उनले आफ्नो भनाइका क्रममा नाट्यशिरोमणि बालकृष्ण समसँग लीलाध्वज थापाको सहकार्य र संस्मरणलाई स्मरण समेत गरे। घिमिरेले ‘थापाद्वारा २००९ सालतिर लेखिएको हास्य व्यंग्य ‘दारी साझेदारी’ लगायतका रोचक प्रसङ्गहरू सुनाउँदै, नेपाली हास्यव्यंग्य साहित्यका सिद्धहस्त हास्यव्यङ्ग्यकार भैरव अर्याल र लीलाध्वज थापाको मित्रताको प्रसंग उल्लेख गरे।
घिमिरेले ‘मन’ लगायतका थापाका सबै साहित्यिक रचनाहरू उत्कृष्ट रहेको पनि बताए। सोही प्रसंगमा सुयोग्य संस्थाले (लीलाध्वज थापा साहित्य प्रतिष्ठानले) आफूलाई योग्य सम्झेर पुरस्कार तथा सम्मान प्रदान गरेकोमा कृतज्ञता ज्ञापन गर्दै उनले यो सम्मान सहर्ष स्वीकारेको बताए। उनले आफ्नो व्यक्तिगत प्रतिष्ठा वा लेखन क्षमता जाति जतिसुकै योग्य रहे पनि सन्तानले गर्ने यस्ता साहित्यिक गतिविधिले स्रष्टाका योगदानलाई जीवन्त तुल्याउने कार्यको प्रशंसा गर्दै राज्य उदासीन हुन नहुने विचार व्यक्त गरे।
यादव भट्टराई र डा. भागवत ढकालले संयुक्त रूपमासहजीकरणकाे गरेकाे कार्यक्रमको मुख्य आकर्षणका रूपमा प्रसिद्ध दुई कवि असीम सागर तथा रन्जु दाहालले आफ्ना रचना प्रस्तुत गरेका थिए भने नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनले संक्षिप्त शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
समारोहको अन्त्यमा सभापति तथा प्रतिष्ठानका अध्यक्ष विजयध्वज थापाले उपस्थित सम्पूर्ण प्रमुख अतिथि, विशिष्ट अतिथि, साहित्यकार तथा पत्रकारहरूलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रम समापन गरेका थिए।
प्रकाशित: २१ असार २०८३ ०७:०१ आइतबार




-600x400.jpg)