भदौ २० गतेबाट प्रदर्शनमा आउने ‘रिमै’ सिनेमाको रिलिजको पूर्वसन्ध्यामा भव्य प्रिमियरको आयोजना गरिएको थियो। न्युरोडस्थित रञ्जना सिनेप्लेक्समा आयोजना गरिएको प्रिमियरमा ‘रिमै’ हेर्न सिनेमाकर्मी र रंग पत्रकारको बाक्लो उपस्थिति देखिएको थियो।
यो सिनेमाको प्रिमियर शो सुरु हुनुअघि गुरुङ समुदायको सांस्कृतिक झाँकी सोरठी नाच समेत प्रस्तुत गरिएकाे थियाे। सिनेमाका मुख्य अभिनेता दयाहाङ राई र अभिनेत्री रिश्मा गुरुङ गुरुङ समुदायको वेशभूषामा देखिए। यो सिनेमाको प्रिमियरमा निर्देशक ज्ञानेन्द्र देउजा, दीपक आचार्य (काकु), अनिल योञ्जन, अभिनेता विल्सनविक्रम राई, रोहित रुम्बा लगायतका सेलिब्रेटीहरू पुगेका थिए।
सिनेमा हेरिसकेपछि अभिनेताबाट निर्देशक बनेका विल्सनविक्रम राईले ‘रिमै’ मन छुने सिनेमा बनेको बताए। यो सिनेमा हालसम्म गुरुङ समुदायमाथि बनेको उत्कृष्ट सिनेमा भएको आफ्नो बुझाइ रहेको उनको भनाइ थियो।
यता सिनेमाका अभिनेता तथा निर्देशक माओत्से गुरुङले पनि रिमै निकै राम्रो बनेको बताए। उनले भने, निर्देशकले हाम्रो समुदायमाथि एउटा निकै राम्रो सिनेमा निर्माण गरेकाे छ। सबैले साथ दिनु जरुरी छ। त्यसैले सबै समुदायका दर्शकलाई ‘रिमै’ हेर्न अनुरोध छ।
सिनेमाकी मुख्य अभिनेत्री रिश्मा गुरुङले पनि आफ्नो झण्डै ८ वर्षपछिको कमव्याकलाई लिएर उत्साहित रहेकाले सिनेमा हेरिरहँदा रोचक लागेका अनुभव सुनाइन्। ‘म लामो समयदेखि अमेरिका बस्दै छु। म जुन शहरमा बस्छु, त्यहाँ नेपाली समुदायको बसोबास निकै कम छ। त्यसैले अमेरिकामा हुँदा यो सबै मिस गरिरहेकी थिएँ। आज रिमै हेरिरहँदा त्यो सबै भुलेर नयाँ अनुभव बटुले। सिनेमा निकै राम्रो बनेको छ। लामो समयपछि काजी र मैंयाको जोडी फेरि पर्दामा आएकाले दर्शकलाई आकर्षित गर्ने विश्वास छ,’ उनले भनिन्।
यो सिनेमाका निर्देशक खिलबहादुर गुरुङ आफूले ३ वर्ष यता रातदिन रिमैबाहेक अरू केही नसुनी काम गर्दाको परिणाम आज पाउँदा खुशी लागेको बताए। ‘हामीले इमान्दारीताका साथ सिनेमा निर्माण गरेका छौं। दर्शकले मन पराइदिनुहुन्छ भन्ने विश्वास छ। आज प्रिमियर शोबाट मिलेको प्रतिक्रियाले सिनेमाको व्यापारमा अझै प्लस गर्ने विश्वास छ,’ निर्देशक गुरुङले भने।
गोरखा सिरानचोक एण्ड लिगलिगकोट फिल्मस् प्रालिको प्रस्तुति र रोटेपिङ इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको सिनेमामा दयाहाङ राई, अर्पण थापा, रिश्मा गुरुङ, गौमाया गुरुङ, कविता आले मगर, माओत्से गुरुङ, पुस्कर गुरुङ, वीरमाया गुरुङ, वीरवल घले, डिवी गुरुङ, टेक गुरुङ र बालकलाकार असिम सुब्बा, प्रेस्टु गुरुङ र प्रश्ना राना मगर लगायतको पनि अभिनय छ।
कवि तथा निर्देशक उपेन्द्र सुब्बाको पटकथा लेखन रहेको सिनेमालाई शैलेन्द्र ध्वज कार्कीले खिचेका हुन्। वीरवल घले कार्यकारी निर्माता रहेको सिनेमामा टिका गुरुङ, जित यात्री गुरुङ र दुनबहादुर घले निर्माता तथा बिनु गुरुङ, रोशन भट्टराई र राजेश घिमिरे सह-निर्मातामा छन्।
खिलबहादुर गुरुङको निर्देशनमा निर्माण भएको सिनेमामा दीपक शर्मा र थानेश्वर गौतमको संगीत, किरण चाम्लिङ राई मुख्य सहायक निर्देशक, विष्णु मैनाली प्रोडक्सन म्यानेजर र मित्र डि गुरुङको सम्पादन छ। यो सिनेमा आगामी भाद्र २० गतेबाट देशव्यापी प्रदर्शनमा आउँदैछ।
प्रकाशित: १९ भाद्र २०८२ १२:०८ बिहीबार





