तिमीले गलहत्याएको
त्यही मजदुर
जसलाई भोकले फेरि
खेदेको छ एकपल्ट
आफूजस्तै नाङ्गो
सडकको कछाडमा
र मुक्काएका छन् क्रान्तिकारीहरूले
समयका
प्रत्येक सुईले
घोच्दै सेकेन्डसेकेन्ड
ठोक्दै मिनेट मिनेटमा!
भन्न सक्छन्
यो भव्य महलको
जगका प्रत्येक ढुङ्गाले
उसको नाम;
भगवान, अल्लाह र मसिहाका
दिव्य र भव्य
मन्दिर, मस्जिद र चर्च
सुन्दर गजुर, बुर्जा र क्रसहरूमा
उसकै हातका नुनिलो पसिना
र रगत अझै टल्काएर
उभिएकै छन्!
ऊ बाहिरै उभिएको छ।
हे!
धर्मका लागि चढ्ने सुगन्धित फूल,
मिठा फल,
प्रत्येक देवालयमा पाक्ने स्वादिला प्रसाद,
प्रत्येक भोज,
प्रत्येक समारोह,
प्रत्येक अनुष्ठान, अनुष्ठानकर्ता,
के ख्याल गरेका छौ, कहिल्यै!
यो सबैको फल कसले पाउनुपर्ने?
धर्मको पहिलो हकवाला को?
पुण्यको फल के?….सधैं
भोको, उही किसान!
सडकमा उही श्रमिक?
के यही हो धर्म?
प्रकाशित: १० श्रावण २०८३ ०९:०१ आइतबार





