बहुचर्चित कर्णाली करिडोर खुलालु–हिल्सा सडकका लागि ६ अर्ब ११ करोड १७ लाख बजेट सुनिश्चित भएको छ।
यसअघि ठेक्का लागेर काम भइरहेको सडक खण्डबाहेक स्रोत सुनिश्चितपछि कालीकोटको खुलालु–कोट, भुक्का खोला–पिलुचौर र हुम्लाको तुम्च–सल्लीसल्लासम्म ४१ किलोमिटर स्तरोन्नति तथा कालोपत्रको लागि ३ अर्ब १५ करोडको लागतमा तिन खण्डमा ठेक्का आह्वान भएको हो।
खुलालुदेखिकोट १३ किलोमिटर, भुक्काखोलादेखि पिलुचौर १५ किलोमिटर र तुम्चदेखि सल्लीसल्लासम्म १३ किलोमिटर सडक कालोपत्रका लागि ३ अर्ब १५ करोड रुपैयाँको बहुवर्षीय ठेक्का आह्वान गरिएको खुलालु–सल्लीसल्ला सडक योजना प्रमुख विसुनदास लामाले बताए।
उनले कर्णाली करिडोर सडक खण्डमा १५ पुलमध्ये ९ निर्माणाधीन र ६ पुलको लागि ६२ करोड रुपैयाँ बजेट सुनिश्चित भएको बताए।
उनले भने ‘कर्णाली करिडोरलाई दुई लेनसहित कालोपत्र गर्न स्रोत सुनिश्चित भएसँगै ठेक्का आह्वान गरिएको छ। अब कर्णाली करिडोर कालोपत्र ‘युग’ मा प्रवेश गरेको छ।’
पुल नहुँदा खोलाबाट जोखिमपूर्ण रूपमा सवारी र मालवाहक गाडी तार्नुपर्ने बाध्यता छ। करिडोरको रहगाड खुलालु खोला, सान्नीगाड, फूगाड, बाजुराको भुक्का खोला, क्वाडीलगायतका ठाउँमा पुल निर्माण हुने छन्।
सडक विभागले यसअघि कर्णाली करिडोरको बाजुराको पिलुचौरदेखि हुम्लाको कुवाडी खोलासम्म ५० किलोमिटर स्तरोन्नतिका लागि ४ अर्बको लागतमा ठेक्कामार्फत काम गरिरहेको छ।
यस्तै उत्तरदक्षिण हिल्सा–सिमकोट सडक आयोजना अन्तरगत हुम्लाको खार्पुनाथदेखि खरिखेत र खरिखेतदेखि सल्लीसल्लासम्म १९ किलोमिटर कालोपत्रको लागि २ अर्ब ३३ करोड ७३ लाख बजेटमा स्तरोन्नतिका तथा कालोपत्रको ठेक्का आह्वान गरीएको कर्णाली कोरिडोर उत्तर खण्ड हिल्सा–सिमिकोट सडक योजना प्रमुख बेल बहादुर नेपालीले बताए। कर्णाली करिडोरमा यो ठेक्काले ६० किलोमिटर सडक कालोपत्र हुनेछ।
विकासका हरेक पक्षबाट पछाडि परेको कर्णाली क्षेत्रको उन्नतिका लागि निर्माण सुरु गरिएको कर्णाली करिडोरलाई यहाँका बासिन्दाले आफ्नो भाग्य र भविष्यसँग जोड्ने गरेका छन्।
‘साउथ एन्ड नर्थ एक्सिस गोर्थ’ का रूपमा लिइएको कर्णाली करिडोरले नेपाल,चीन र भारत जोड्छ। कर्णाली करिडोर अन्तर्गत कालीकोटको खुलालुदेखि हुम्लाको सल्लीसल्लासम्मको ९१ किलोमिटर सडक कालोपत्र हुनेछ।
कर्णाली करिडोरमा पर्ने कालीकोटको फुगाड जलविद्युतको कारण हालको केही सडक डुबानमा पर्ने भएकाले फुगाड हाइड्रोले नयाँ ट्रयाकका लागि सर्वेक्षण सुरु गरेको छ।
डुबान हुने ठाउँमा अर्को ट्रयाक नबनेसम्म मर्मत सम्भारको काम मात्र हुनेछ,भने डुबान हुने क्षेत्र छाडेर स्तरोन्नतिका लागि ठेक्का गरिएको छ।
सुदूरपश्चिमको बाजुरा र कर्णालीका बासिन्दाको लाइफ लाइन मानिएको कर्णाली करिडोर बजेट अभाव र कामको ढिलासुस्तीले ट्रयाक खुल्नै डेढ दशक लागेको थियो।
करिडोरको कालीकोटको खुलालुदेखि हुम्लाको सल्लीसल्ला १ सय २३ र त्यसमाथिको चट्टानी भाग ७ गरी १ सय ३० किलोमिटर सडक नेपाली सेनाले ट्रयाक खोलेको हो।
त्यसभन्दा माथि हुम्ला हुँदै हिल्सासम्म १ सय ३९ किलोमिटरमा सडक विभागले ठेक्कामार्फत निर्माण गरेको बाजुरास्थित कर्णाली करिडोर सडक योजना कार्यालयले जनाएको छ।
कर्णाली करिडोर कालोपत्रको लागि ठेक्का आह्वान भएपछि सहज यात्रा हुनेमा स्थानीय आशावादी छन्।
प्रकाशित: १० श्रावण २०८३ १८:१२ आइतबार





