नेकपा एमालेका सचिव महेश बस्नेतले त्रिभुवन विश्वविद्यालयको परीक्षामा भएको प्रश्नपत्र चुहावटको विषयलाई लिएर सरकार र शिक्षा मन्त्रीमाथि कडा प्रहार गरेका छन्।
उनले नेपाल र भारतको प्रसङ्ग जोड्दै छिमेकी मुलुकमा प्रश्नपत्र चुहावट हुँदा मन्त्रीले नैतिक जिम्मेवारी लिएर राजीनामा दिने गरेको तर नेपालमा भने घटना ढाकछोप गर्न छानबिन समिति बनाएको बताएका छन्।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘भारतमा प्रश्नपत्र चुहावट भयो ‘कक्रोच पार्टी’ सडकमा उत्रियो, मन्त्रीले नैतिक जिम्मेवारी लिएर राजीनामा दिए। नेपालमा चाहिँ त्रिवि रजिस्ट्रार कार्यालयबाटै एमबीएस परीक्षा सुरु भएको केही मिनेटमै प्रश्नपत्र आउट भयो। त्रिविले साइबर ब्युरोलाई पत्राचार गर्यो, छानबिन समिति बन्यो।’
त्रिविले घटनापछि नेपाल प्रहरीको साइबर ब्युरोलाई पत्राचार गरेको र छानबिन समिति गठन गरेको विषयलाई उनले असान्दर्भिक मानेका छन्।
उनले भने,‘अब प्रश्न भारतमा प्रश्नपत्र आउट हुँदा मन्त्री आउट, नेपालमा प्रश्नपत्र आउट हुँदा केवल छानबिन समिति मात्र आउट ? मन्त्रीज्यू, नैतिकता नेपालमा पनि आयात गर्न मिल्छ कि मिल्दैन?’
प्रकाशित: १० श्रावण २०८३ १८:२५ आइतबार





