१८ चैत्र २०८२ बुधबार
image/svg+xml
कला/साहित्य

कवि नारायण निरासीका गुञ्जिए एक दर्जन कविता

राष्ट्रिय जनसांस्कृतिक महासङ्घ, नेपालले ‘अविरल जनसाहित्य यात्रा’ को १०७ औं विशेष शृङ्खलामा सशक्त प्रगतिवादी स्रष्टा नारायण निरासी प्रस्तुत गरेकाे छ।

नेपाली प्रगतिशील साहित्यमा पनि छन्दा बचाउ अभियानका अभियन्ता वरिष्ठ साहित्यकार प्राडा रामप्रसाद ज्ञवालीको प्रमुख आतिथ्य तथा राष्ट्रिय जनसाहित्यिक सङ्घ नेपालकी अध्यक्ष प्राज्ञ नर्मदेश्वरी सत्याल अध्यक्षतामा कार्यक्रम भएकाे हाे।

कार्यक्रम राष्ट्रिय जनसांस्कृतिक महासङ्घ, नेपालकाे सभाकक्ष पुतलीसडक, काठमाडौँमा भएकाे हाे। सङ्घका सचिव सोमनाथ दाहालले कार्यक्रमकाे सञ्चालन गरेका हुन्।

उक्त कार्यक्रममा उक्त शृङ्खलामा सशक्त प्रगतिवादी स्रष्टा नारायण निरासीले एक दर्जन कविता प्रस्तुत गरेका छन्।

प्रगतिशील लेखक सङ्घ नेपालका अध्यक्ष डा. देवी क्षेत्री दुलाल, युद्धप्रसाद मिश्र स्मृति प्रतिष्ठानका निवर्तमान अध्यक्ष डा. फणीन्द्रराज निरौला, प्राडा बद्रीविशाल पोखरेल, प्रभाती किरण लगायतको उपस्थिति थियो।

कार्यक्रममा नर्मदेश्वरी सत्यालले कविलाई माल्यार्पण गरी स्वागत गरेकी थिइन्। हरेक महिना दोस्रो शनिबार हुने यो विशेष समारोहको उद्देश्य साहित्यका माध्यमबाट सामाजिक रूपान्तरणको अभियान सञ्चालन भएकाे पनि उनले  बताइन्।

अवस्था प्रतिकूल भएको भए पनि हामी स्रष्टा आफ्नो काम निरन्तर गरि नै रहन्छौँ  भन्दै उनले कार्यक्रममा सहभागीजनलाई शब्द मार्फत स्वागत गरेकी थिइन्।

२०७० चैत्र १४ देखि तत्कालीन राष्ट्रिय जनसाहित्यिक मञ्चका संस्थापक अध्यक्ष डा.मोदनाथ प्रश्रितबाट थालनी गरिएको ‘अविरल जनसाहित्य यात्रा’को १०७ औँ विशेष शृङ्खला भएकाे उनले बताइन्।

देशैभरिका नेपाली प्रगतिवादी साहित्यमा आआफ्नो क्षेत्रबाट योगदान गरिरहेका एकजना स्रष्टालाई हरेक महिनाको दोस्रो शनिबार उपस्थित गराई उनका एक दर्जन कविता सुन्ने र कवितामाथि समीक्षासमेत गरी परिष्कार परिमार्जनमा सघाउने बताइन्।

कविनायक परिचय 

साहित्यकार प्रभाती किरणले नेपाली प्रगतिवादी कविता अभियानमा योगदान गर्दै साहित्य सिर्जना गरिरहेका, प्राध्यापनकर्ममा रहेका, साहित्यिक सङ्घसंस्थामा क्रियाशील रहेका, सामाजिक रूपान्तरण अभियानका अभियन्ता एवम् सचेत प्रगतिवादी स्रष्टा नारायण निरासीको परिचय प्रस्तुत गरेका थिए।

कवि निरासी २०३८ असार २१ मा सर्लाहीको हालको हरिवन नगरपालिका वडा नं.७ मा माता राधादेवी प्रसाई र पिता चन्द्रप्रसाद प्रसाईका सुपुत्रका रूपमा जन्मिएका हुन्। उनकाे खास नाम तीर्थप्रसाद प्रसाई भए पनि साहित्यमा नारायण निरासीका नामले परिचित छन्।

नेपाली साहित्यमा स्नातकोत्तर र बीएड गरेका निरासीका ‘तुसारोमा फुलेका फूलहरू’ (२०६४, गजलसङ्ग्रह), ‘आँखाभरि तुसारो’ (२०७०, खण्डकाव्य), ‘फूलमाथि तुसारो’ (२०७५, कवितासङ्ग्रह), ‘निर्धरा’ (उपन्यास, २०८१), संयुक्त लेखनमा खण्डकाव्य र महाकाव्य समेत प्रकाशित छन्।साथै उनले पाठ्यक्रमसँग सम्बन्धित दर्जनौँ पुस्तक पनि प्रकाशित गरेका छन्।

 लेखनलाई पेसा बनाएका र प्रगतिवादी चेतनाका साथ सिर्जना गर्नुका साथै रूपान्तरणको सन्देश सम्प्रेषण गर्ने निरासी अहिलेको समयका अत्यन्त सक्रिय स्रष्टा हुन्।

कविता प्रस्तुति

कविनायक निरासीले एक दशक अघिदेखि सञ्चालन भइरहेको अविरल जनसाहित्य यात्राको १०७ औँ शृङ्खलामा आफू जोडिन आइपुगेकोमा खुसी व्यक्त गरेका थिए।

उनले अभियानमा पटकपटक उपस्थित भएर विभिन्न स्रष्टाका कविता सुनेकाे छु। समारोहमा नेपाली प्रगतिशील साहित्यका वरिष्ठ साधक प्राडा रामप्रसाद ज्ञवाली प्रमुख अतिथि र प्राडा बद्रीविशाल पोखरेल वाचित कविताकाे टिप्पणी गरिदिन उपस्थित भइदिएकोमा खुसी व्यक्त गरे।

उनले भने, म आफू छन्दको पनि साधनामा छु। मेरो लेखनको उद्देश्य मेरा कविताले नै बोल्ने छन् तापनि राष्ट्रियता नै पो विसर्जन हुन्छ कि भन्ने चिन्ता लगेको समयमा, देशको नक्सा खुम्चिएको अवस्थामा पीडाबोध भएको वेलामा, सुस्तामा सीमा मिचिएको वेलामा, मुलुक गरिब होइन हाम्रो मानसिकता गरिब हो भन्ने मलाई लागेको बेलामा, सहिदको सम्मान र सम्झनामा, नेपालीलाई हेप्ने प्रवृत्तिविरुद्धमा, पैसामुखी प्रवृत्ति माैलाएको देखेपछि, मानवता हराएको र स्वाधीनता तल पर्न लागेको अनुभूत गरेपछि, छुवाछुत तथा जातीय विभेद पटक्कै उपयुक्त होइन भन्ने सन्देश दिनका लागि, देशै नरहला कि भन्ने चिन्ता लागेको वेलामा, अभावले जिन्दगीलाई ठेल्दै लग्दाखेरि, निर्मला पन्तजस्ता नेपाली चेलीको बलात्कार तथा नृशंस हत्याको पीडाले विह्वल बनाएपछि मैले कविता लेखेकाे छु।

उनले कविताका रचनागर्भ बताउँदै कविता वाचेका थिए। प्रस्तुतिका क्रममा १२ कवितामध्ये शार्दूलविक्रीडित छन्दको ‘खुम्चिरहेको नक्सा’, शार्दूलविक्रीडित छन्दकै ‘प्रतिज्ञा’, शार्दूलविक्रीडित छन्दकै ‘पैसा’ र शार्दूलविक्रीडित छन्दकै ‘चेली’ शीर्षकका रूपान्तरणको सन्देश बोकेका चार कविता वाचेका थिए।

त्यस्तै सहयोगी कवि जय गौडेलले मालिनी छन्दको ‘देशको मानचित्र’ , कवि पुष्कल किरणले शार्दूलविक्रीडित छन्दको ‘आफ्नो सुरक्षा गर’ र पञ्चचामर छन्दको ‘युवा’, कवि केशव भट्टराईले शार्दूलविक्रीडित छन्दको ‘सहिद’ , कवि रूपक अलङ्कारले पञ्चचामर छन्दको ‘हुरी नआउने घर’, कवि प्रभाती किरणले उपजाति छन्दको ‘रोकिन्न क्रान्ति’ र कवि शान्ति पौडेलले मन्दाक्रान्ता छन्दको ‘सङ्कल्प’ र ‘पञ्चचामर छन्दको ‘जीवनप्रण’ शीर्षकका कविता वाचेका थिए।

समीक्षा

अतिथि एवम् समालोचक प्राडा बद्रीविशाल पोखरेलले वाचित कविताकाे समीक्षात्मक टिप्पणी गरेका थिए। कविका कवितामा समसामयिक सामाजिक यथार्थको उद्घाटन, कलात्मक, लयात्मक, विम्बात्मक, भावात्मक, आलङ्कारिक भएकाे बताए।

कविताकाे उठान र बैठान उपयुक्त भएका, प्रगतिशील राष्ट्रवादको पक्षधरता लिएका, इतिहासका गौरवशाली परिघटनाको उत्खनन गरिएका, सिङ्गो राष्ट्रवादका पक्षमा वकालत गरिएका, बाह्य राष्ट्रको उक्साहटमा विखण्डनको प्रयत्न भइरहेकोप्रति विरोध कवितामा भएकाे बताए।

सपाट अनि सरल भाषाशैलीमा गम्भीर राजनैतिक भाव सम्प्रेषण गर्ने, शालीन विद्रोहका माध्यमबाट रूपान्तरणप्रेमी वैचारिकता सम्प्रेषण गर्ने, सुन्दर विम्बहरूको प्रयोग गर्ने, प्रतीक र अलङ्कारको समुचित परिशीलन गरेर लेखिएका उनका कविताहरूमा नेपाली संस्कृति, मूल्य, मान्यताप्रति सचेत संवेदनशीलता पाइने बताए।

कविले विविध छन्दमा कविता लेखेका छन्, यसबाट उनको छन्दलाई खेलाउन सक्ने सामर्थ्य देखिएको धारणा राखे।

प्रमुख अतिथि प्राडा रामप्रसाद ज्ञवालीले मौसम र राजनीतिक कारणले उपस्थिति केही कम देखिए पनि कार्यक्रम गुणात्मक रहेको बताए।

वास्तवमा आजको यो विशेष समारोह काव्यिक संसद्जस्तो भएको छ। मिहिनेती, प्रतिभाशाली छन्दकवि नारायण निरासीका देशभक्तिपूर्ण, विद्रोही चेतनालेयुक्त, प्रत्येक बिहानी नयाँजस्तै लाग्ने खालका कविता प्रस्तुत भएकाे छ। 

देख्नु, हेर्नु स्थिति हो भने परिस्थितिचाहिँ भोगाइ हो। त्यसैले कविले परिस्थितिजन्य कविता लेख्ने हो। माहुरी र माकुराको संश्लेषण हो कविता भन्ने कुराको अनुभूत कविले गर्नु आवश्यक छ। गुफामा अँध्यारो हुनु प्रकृति असफल भएको मान्नु हो र त्यसमा मान्छेले बत्ती बालेर सफल बनाइदिनुपर्छ त्यसैले पनि कविले कल्पना, दर्शन, विचारको संश्लेषण गरेर कविता सिर्जना गर्दछ।

शक्तिशाली कविले आफू बदलिएर होइन अरूलाई बदल्ने सामर्थ्य राख्नुपर्छ त्यसैले कवि अत्यन्त थोरै मात्र बन्न सक्छन् भनिन्छ। जतासुकै र जुनसुकै क्षेत्रबाट पनि राम्रा कुराको ग्रहण गर्ने, प्रत्येकको महत्ताबोध गर्ने, सौन्दर्यको सृष्टि गर्दा सामूहिकता र वर्गीयता बिर्सिनु नहुने कुराको ख्याल राख्नुपर्दछ। प्रचारको, हल्लाको साहित्य जीवनको साहित्य हुन सक्तैन। कविले आलोचना र प्रशंसा स्वीकार गरी साधना गर्नु आवश्यक छ। कविता लेख्दा आफैँ कवितामा रूपान्तरण हुनु कविको प्राप्ति हो। अनुप्रभाव (अरूको प्रभाव ग्रहण गर्ने), मौलिकता र आविष्कार (युग बदल्ने, नयाँ धारा निर्माण गर्ने) चरणमा आविष्कार सबल पक्ष हुन्छ।

धन्यवाद र समापन

सङ्घका उपाध्यक्ष रमेश पोखरेलले कार्यक्रममा उपस्थितजनप्रति कृतज्ञता ज्ञापन गरेका थिए। उनले सबै कवितामा देशप्रेम, राष्ट्रवादी भावना, वर्गीय पक्षधरता स्पष्ट रूपमा आएको बताए।

सरलताका माध्यमबाट गम्भीर भाव सम्प्रेषण गर्नुका साथ सशक्त वैचारिकताका माध्यमबाट सदैव आशावादी एवम् सत्मार्गको सन्देश कविताले दिएकाे पनि सङ्घका उपाध्यक्ष पोखरेलले बताए।                                   

प्रकाशित: १७ चैत्र २०८२ १०:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App