रण स्मृति पुरस्कार संस्थाले आफ्नो ३३ औं वार्षिकोत्सवको अवसरमा साहित्यकार सरस्वती श्रेष्ठ सरुलाई शक्ति पुरस्कार २०८२ अर्पण गरेको छ।
पुरस्कारको राशि दश हजार रूपैयाँ, दोसल्ला र सम्मान पत्र रहेको छ। वरिष्ठ साहित्यकार काजी रोशनको अध्यक्षतामा भएको कार्यक्रममा साहित्यकार काजी रोशनले व्यानर पढेर कार्यक्रमको उद्घाटन गर्दै स्व. रणबहादुर खड्का र स्व. शक्तिबहादुर खड्काको तस्बिरमा माल्यार्पण गरेका थिए।
कार्यक्रममा साहित्यकार रोशनले नेपाली काव्य क्षेत्रमा कवि सरस्वती श्रेष्ठ सरुको उल्लेख्य योगदान रहेको भन्दै उनको साहित्यिक सिर्जना र प्रतिभाको उच्च मूल्याङ्कन गर्दै उनलाई पुरस्कृत गरिएको बताए।
मध्यनेपाल नपा - ३ सोतीपसल, लमजुङमा जन्मिएर पोखरालाई कर्मथलो बनाएर चालिसको दशकदेखि नेपाली साहित्यमा निरन्तर लागिरहेको सरुको थुङ्गाथुङ्गा जिन्दगानी (गीतसङ्ग्रह), ‘एक झुल्को घाम ओर्लेर सडकमा’ ( कवितासङ्ग्रह), फूलहरूको आँधी (कवितासङ्ग्रह), किट्टी (बालकथासङ्ग्रह) प्रकाशित छन्।
त्यसैगरी कवि सरस्वती श्रेष्ठ सरुले नवकविता प्रतिभा पुरस्कार (२०५३), समता सम्मान, इलाम (२०५४), गजल प्रतिभा सम्मान (२०६३), धादिङ साहित्य समाज सम्मान (२०६४), बाबा साहित्य साधक पुरस्कार (२०६८), विश्व नारी नेपाली साहित्य सम्मान (२०७१), हाम्रो मझेरी साहित्य प्रतिभा सम्मान (२०७१), समता काव्य सन्ध्या रजत वर्ष सम्मान (२०७४), सुभद्रा अधिकारी प्रतिष्ठान पुरस्कार (२०७६), नारी वाङ्मय प्रतिभा प्रतिष्ठान सम्मान (२०७७), राष्ट्रिय संगीतकर्मी संघ सम्मान (२०७७), सप्तरङ्गी साहित्य सम्मान (पोखरा २०७७), नइ रजत महोत्सव पदक (२०७९), नइ कृति रत्न (२०८०), अभिलेख सम्मान (२०८१), गीतकार प्रतिष्ठान सम्मान (२०८१) जस्ता पुरस्कार तथा सम्मान पाएकी छन्।
नवराज गौतमले सञ्चालन गरेकाे उक्त कार्यक्रममा कमल बोहोरा, सीता नेपाली र नवीन शर्माले शुभकामना मन्तव्य प्रस्तुत गरेका थिए।
प्रकाशित: २ भाद्र २०८२ ११:३४ सोमबार





