प्रसारणमा आउने कुनै पनि राजनीतिक विषय, संवाद वा बहस मेरो रुचिभित्र पर्दैन। त्यसैले हेरेको हुन्न, हेर्दिनँ। बरु स्वधर्म र दिव्यपुरी टिभीले आकर्षित गर्छ। त्यसमा जीवनका विभिन्न रङलाई हेर्न पाइन्छ। संवादमा आएका अनेकन पात्रको बाँच्ने कला र शैलीलाई नियाल्छु। कति ढुक्क खालको छ जीवन। कसैसँग प्रतिस्पर्धा छैन। प्रतिस्पर्धा आफैंभित्र छ। अरूको होइन, आफ्नो कुरा गर्छन्। रागद्वेषबाट मुक्त पनि हुन्छन्। जगत् र जीवनलाई जे जसरी बुझेका छन्, निर्धक्क राख्छन्। निन्दा र स्तुतिको कुरा पनि गरिरहन्नन्। त्यसैले हेर्छु। स्वर्धमका सुभाष अगम र दिव्यपुरीका राजन पौडेलले समाएको भिन्न धारको निरन्तरताका लागि मानसिक कामना पनि गर्छु।
कहिल्यै राजनीतिक विषयवस्तु, बहस तथा संवादमा अभिरुचि नराख्ने मैले नागरिक न्युजको पोडकास्ट ‘फ्रन्ट लाइन’मा पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्री वामदेव गौतम र कमल थापासँग प्रधान सम्पादक गुणराज लुइँटेलले गर्नुभएको संवादले अनायास तान्यो। कारण थियो– थापाप्रति सडक आन्दोलनमा भएको लछारपछारजन्य व्यवहार जोकसैलाई पनि थाहा हुनु। गौतमका लागि आफूले जीवन लगानी गरेको दलमा मूल ढोका होइन, जस्केलो पनि नखुलेको अवस्था। अझ राजनीतिक आग्रह र पूर्वाग्रहबाट मुक्त मजस्ता पात्रका लागि आकर्षित हुनुको कारण संवाद सम्यक थियो।
आक्कलझुक्कल हेरेको संवादमा प्रश्नकर्ताको कडा तथा उत्तेजनात्मक प्रश्नले अतिथिले असहज अनुभूति गरेको आभास हुन्छ। शान्त, सौम्य र सरल प्र्रश्नले पनि उत्तर पाउँछ। आमन्त्रित पाहुनालाई असहज लाग्ने प्रश्न नगरिदिए हुन्थ्यो जस्तो पनि लाग्छ। विकास भइरहेको समाज मनोविज्ञानको अप्रत्यक्ष दबाब र प्रभाव परेको त होइन? भन्ने पनि ठान्छु। मानवीय स्वभाव र प्रकृति एकै खालको हुँदैन। आआफ्नो स्वभाव, शैली तथा बुझाइ हुन्छ भन्ने ठान्छु तर पनि सौम्य र सरल प्रश्न भएको भए हुन्थ्यो भन्ने लाग्छ।
उल्लिखित दुईजना राजनीतिक पात्रसँग भएको संवादको प्रसारित भएको रेकर्डिङ संवादले समयअनुसार फेरिएको राजनीतिक जीवन, अवस्था र भूमिकाले भारतको मुगलकालीन इतिहासमा घटेका केही घटना उल्लेख्य लाग्यो। त्यसले सत्ताको प्रकृति बुझ्न सहायक हुन सक्छ भन्ने ठानेँ। प्रसङ्ग समसामयिक र सान्दर्भिक नलाग्न सक्छ।
कतिपय विषय यस्ता हुन्छन्, प्रासङ्गिक नभए पनि सामाजिक चेत र जागरणका लागि उपयोगी बन्न सक्छन्। त्यसमा पनि न्यूनतम, राजनीतिक संस्कार, संस्कृति, शिष्टाचार, सहिष्णुताको विकास नभएका कारणले पनि इतिहासको त्यो पक्ष स्मरणीय लागेको छ। सत्ता कालजयी हुँदैन। क्षणिक हुन्छ। सत्ता सधैँ आफ्नै अनुकूल भइराख्छ भन्ने हुँदैन।
अनुकूल तथा प्रतिकूल सत्ताका भोक्ता मुगलकालीन कवि रहिमको जीवनमा घटित घटना स्मरणयोग्य छ। कृष्णभक्त तथा हिन्दी साहित्यका समुण भक्तिधारका कवि थिए उनी। उनको पूरा नाम नबाब अब्दुर रहिम खान खाना थियो। उनका पिता बैरम खाँ बाबरका मुगल वंशका संस्थापक छोरा हुमायुँका सर्वाधिक प्रिय पात्र थिए। २४ जनवरी १५५६ मा सन्ध्याकालको बेला आफ्नै पुस्तकालयको सिँढीबाट लडेका हुमायुँको २६ जनवरी १५५६ मा निधन भयो। उनका छोरा अकबरको संरक्षक र अभिभावकत्व उनै सरदार बैरम खाँले गरेका थिएँ।

सत्ता सङ्घर्ष चुकली तथा दाउपेचकै कारण मक्काको यात्रामा खाँ जान्छन्। यात्राकै क्रममा मुबारक खाँले उनको हत्या गर्छन्। त्यसपछि उनका छोरा रहिमको हेरचाह र पालनपोषण अकबरले गर्छन्। रहिम अकबरका नौ रत्नमा एक मानिन्छन् पनि। उनी संस्कृत, अरबी, फारसी, हिन्दी, ब्रज अवधी आदि धेरै भाषाका जानकार थिएँ। अकबरको राज्यकालमा मन्त्री, सेनाध्यक्ष तथा प्रशासक आदि विविध पदमा रहन्छन्। तुर्कीमा रचना गरिएको ‘बाबरनामा’को फारसीमा अनुवाद गरेका थिए। मुगलकालमा ‘फारसी’ राजभाषाका रूपमा थियो। उनले शासनकालमा थुप्रै जागिर पाएका थिए।
अकबरको निधनपश्चात् राजसिंहासनमा रहेका जहाँगिर (सलिम) को शासनकाल रहिमका लागि अभिशप्त बन्छ। जहाँगिरले कुनै कारणवश रहिमलाई दोषी ठान्छन्। कुनै बेला आफ्नै शिक्षक रहेका रहिमको सारा सम्पत्ति तथा जागिर खोस्छन्। कुनै दिन हात्तीमा सवार रहने सेनाध्यक्ष रहिमले नाङ्गो पाउले हिँड्नुपर्ने अवस्था आउँछ। उनी राजाबाट एकाएक रङ्क बन्छन्। त्यसैले उनको सुख–दुःखात्मक अनुभूति धेरै गहन थियो। जसलाई उनले काव्यमा उतारेका छन् भनिन्छ। त्यसपछि उनको काव्यधारा ज्योतिष चक्रपञ्चकतर्फ उन्मुख हुन्छ। त्यसैको परिणामस्वरूप ग्रहर्मीमांसाको ग्रन्थ ‘खटेकौंतुकम’ जन्मिन्छ। (कल्याण, ज्योतिषतत्त्वाङ्क सन् २०१४ को विशेषाङ्क, गीता प्रेस गोरखपुर) ‘खेटकौतुकम्’मा दुई पद छन्। ‘खेट’ अर्थ ‘ग्रह’ र ‘कौतुक’ अर्थ खेल, तमासा, चमत्कार हुन्छ। यस ग्रन्थमा रहेको श्लोकमा संस्कृतका साथसाथै अरबी तथा फारसी शब्द प्रयोग भएको छ भनिन्छ।
पूरा ग्रन्थ दुई प्रकरणमा विभक्त छ, भावफलाध्याय र राजयोगाध्याय। जसको पहिलो भागमा ९९ श्लोक र दोस्रो भागमा २५ श्लोक छन्। रहिमको जीवनमा घटेको घटनाले जन्मिएको ‘खेटकौतुकम्’ ग्रन्थको राजनीतिक सूत्रमा राजनीतिक जीवन प्रभावित छ भन्ने लाग्छ। ग्रहको खेल भन्नु नै समय हो। किनकि नवग्रह आफैं समयका बन्धक छन्। उनीहरू पनि समयअनुसार आफ्नो प्रति चाल्न बाध्य छन्।
एकदिन यिनै प्रसिद्ध कविलाई भेट्न एक व्यक्ति आउँछन्। उनले जीवनमा सबैभन्दा महत्त्वपूर्ण कुन संयम हुन्छ भनेर प्रश्न गर्छन् ? त्यसपछि रहिमले कविताकै माध्यमबाट त्यसको जवाफ दिन्छन्।
रहिमन जिव्हा बाबरी कइ सरग पाताल
खुद कह भीतर घुस गही, जूती पढे कपाल।
अर्थात् वचनको संयम अत्यन्त महत्त्वपूर्ण हुन्छ। जिब्रो त कुरा भनेर मुखभित्र पसिहाल्छ। त्यसको परिणाम भने बोल्नेले भोग्नुपर्छ। (अखण्ड ज्योति, वर्ष ८७, अंक ९) व्यवहार वा राजनीतिक क्षेत्रमा मात्र होइन, सबै क्षेत्रमा बोलीको संयमताको खाँचो छ, भन्ने लाग्छ। त्यसैले रहिमको भाव साभारयुक्त लागेको हो। इतिहास हाम्रो पो हो, अरूको कहाँ हो र भन्ने शासकीय दम्भ तथा भ्रम पनि कहिलेकाहिँ हुन्छ।
भौतिक उपस्थिति नभएकाको पनि इतिहासका पात्रप्रति नानाथरी टिप्पणी गरिन्छ। अरूको इतिहास मेटाउने काम पनि हुन्छ तर सर्वसाधारणले इतिहास जोगाउँछन्। उनीहरूले इतिहास बचाउँछन् सङ्ग्रह वा जनश्रुतिको हस्तान्तरणका माध्यमबाट। यसैको पुष्टिका लागि मुगल शासक जहाँगिर ज्योतिषमा विश्वास राख्थे। त्यसैले उनी आफ्नो राशि चिह्न भएको सिक्काका कारणले पनि प्रसिद्ध छन्।
यस्तो सिक्का जहाँगिरले आफ्नो शासनकालको तेह्रौं वर्षमा सुन तथा चाँदीमा निकालेका थिए। उक्त सिक्कामा फारसी महिनाको स्थानमा राशि चिह्न अंकित गरिएको थियो। यस्तो विचार जहाँगिर स्वयंको थियो। यस विषयमा उनले आफ्नो आत्मकथा ‘तुजुके जहाँगिरी’मा लेखेका छन्। यस्तो सिक्का अत्यन्त कम मात्रामा जारी भएको थियो। त्यसैले सिक्का अत्यन्त कम संग्रहालयमा पूरा सेट पाइन्छ भनिन्छ। त्यस्तो सिक्का ‘जहाँगिर’ को अन्तिम समयसम्म रह्यो तर पछि उनका छोरा शाहजहाँ गद्दीमा बसेपछि सिक्का प्रयोग र संग्रह गर्न रोक लगाउँछन्। त्यसो गरेमा मृत्युको सजाय दिने भन्छन्। त्यस्ता सिक्का सबै राजकीय खजाना जम्मा गर्न उर्दी दिन्छन्। सर्वसाधारण डरले त्यस्तो सिक्का घरमा लुकाएर राखे अथवा पूजाको थैलीमा राखेर जोगाउँछन्। त्यसले सिक्का र इतिहासलाई बचायो।
जीवन एउटै गति, लय र अवस्थामा रहन्छ भन्ने हुँदैन। अपवादबाहेक त्यसबाट अछुत राजनीतिक जीवन हुन्छ भन्ने हुँदैन। इतिहासले पटकपटक त्यस्तै सन्देश दिएको छ। मुगलकालीन अत्यन्त शक्तिशाली बेगम ‘नूरजहाँ’को जीवनले धेरै कुरा सिकाउँछ। राजनीतिक जीवन सधैं उदाइरहँदैन। ‘नुरजहाँ’का बाबुआमा तेहरान निवासी थिए। अहिलेको भाषामा भन्ने हो भने वैदेशिक रोजगारका लागि हिँडेका हुन्छन्। अफगानिस्तानको कान्धारमा छोरीको जन्म हुन्छ। त्यसैबेला एकजना व्यक्ति आएर उनीहरूलाई मुगल दरबारमा काम दिलाउने आश्वासन दिन्छन्।
त्यसैले छोरीको नाम ‘मेहरूनिस्सा’ राख्छन्। जसको अर्थ हुन्छ– सूर्यको किरण। मेहरूनिस्साका बाबु मिर्जा ग्यास बेग र आमा अस्मत बेगम थिइन्। अस्मतमा गुलाफको फूलबाट अन्तर बनाउने ज्ञान थियो। दुवै जना सेवकका रूपमा अन्ततः मुगल दरबारमा प्रवेश पाउँछन्।
सन् १५९४ मा छोरीको विवाह अलि कुली बेगसँग हुन्छ। एक छोरी लाडली बेगमको जन्म हुन्छ। अली कुली शाही फरमानलाई नमान्ने भएकाले उनको हत्या गरिन्छ। मेहरूनिस्सालाई आगरा ल्याइन्छ। उनलाई राजमाता सलिमा बेगमको हेरचाह गर्न राखिन्छ।
मेहरूनिस्साले सन् १६०७ देखि १६११ सम्म दरबारमा काम गर्छिन्। पारसीले मनाउने ‘नौरोज पर्व’ अकबरले पनि चलनमा ल्याए। पर्वको समयमा ‘मिनार’ बजार लाग्थ्यो। त्यसै बजारमा मेहरूनिस्सालाई पहिलोपल्ट जहाँगिरले देख्छन्। उनीप्रति आशक्त हुन्छन्। सन् १६११ मा ३४ वर्षकी विधवा मेहरूनिस्सालाई विवाह गर्छन्। हुन त पहिला नै उनीसँग विवाह गर्न चाहेका थिए, अकबरले दिएनन् भन्ने भनाइ पनि इतिहासमा पाइन्छ।
विवाहपछि मेहरूनिस्साको नाम परिवर्तन गरेर नूरमहल राख्छन्। जसको अर्थ हुन्थ्यो– घरको उज्यालो। पछि ‘नुरजहाँ’ नाम राखे। अर्थ थियो– सबैतर्फको उज्यालो। सन् १६११ देखि १६२२ सम्म बेगम शक्तिशाली बन्छिन्। सत्ता उनकै मुट्ठीमा हुन्छ। आफ्ना आफन्त उच्च पदमा नियुक्त गर्छिन्। जहाँगिर मदिराका सौखिन थिए। उनको त्यो आदतकै कारण उनकी पहिली बेगम मानवाईले आत्महत्या गरेकी थिइन्। जहाँगिरले भनेका पनि छन्– ‘मैले सत्ता नूरजहाँलाई सुम्पिसकेँ। मलाई एक सेर मदिरा र आधा सेर मासु भए केही पनि चाहिँदैन।’ सत्ताको वास्तविक शक्ति नुरजहाँको हातमा हुन्छ।
नुरजहाँको नामबाट सिक्का जारी हुन्छ। महावत खाँले जहाँगिरलाई बन्दी बनाएपछि असिम साहस एवं अपूर्व सुझबुझले कैदबाट मुक्त गराउँछिन्। सन् १६२२ सम्म शासकीय सत्तामा उनको उत्कर्षकाल थियो।
सन् १६२२–१६२७ सम्म सत्तासंघर्षको समय बन्छ। जहाँगिर बिरामी हुन्छन्। मुगलकालमा उत्तराधिकारीसम्बन्धी स्पष्ट वैधानिक नियम थिएन। त्यसैले दरबारिया गुट र षडयन्त्रमा अल्झिन्छिन्। उनका भाइकी छोरीको विवाह जहाँगिरका छोरा खुरर्म (शाहजहाँ) सँग भएको थियो। त्यसैले उनीहरूको साथ नूरजहाँलाई थियो। पछि लाडली बेगमको विवाह जहाँगिरका छोरा सहयारसँग भएपछि ज्वाइँलाई सम्राट बनाउने नूरजहाँमा आकाङ्क्षा पलाउँछ। त्यसपछि उनका भाइ असफ खाँ र शाहजहाँले साथ छोड्छन् अनि बेग्लै गुट बनाउँछन्।
सन् १६२७ मा जहाँगिरको निधन भएपछि शाहजहाँ सिंहासनमा बस्छन्। उनले आफ्ना भाइहरूको हत्या गरेका थिए। ‘नुरजहाँ’को सबै शासकीय अधिकार खोस्छन्। त्यसपछि उनी लाहोरमा आफ्नो विधवा छोरी लाडली बेगमको साथमा रहन्छिन्। जहाँगिर बितेको १८ वर्षपछि सन् १६४५ मा उनको निधन हुन्छ।
त्यसरी वैवाहिक सम्बन्धले कायम भएको सत्ताको अन्त्य हुन पुग्छ। वास्तुकलामा सोख भएकी, जोकरामा बस्ने, घोड सवारकी सौखिन, फेसन र पहिरन फैलाउन योगदान पुर्याएकी उनको उत्तरार्ध समय गुमनाम बन्छ। राजमाताका रूपमा मुगल दरबारमा उनको स्थान भएन।
मुगलकालीन इतिहासकै कुरो भएन। राजनीतिक अभ्यासमा काग्रेसका संस्थापक कृष्णप्रसाद भट्टराई गणेशमान सिंहले जीवनको उत्तरार्धमा दलबाट अलग हुनुप¥यो। शैलजा आचार्यले संसदीय सुनुवाइका क्रममा रुनुपर्यो। आचार्य पो रोएकी हुन् त, हामी होइन भनेर आचार्यको पक्षमा प्रतिवाद पनि भएन। त्यसैले अन्ततः राजनीतिक जीवत रहिमको ‘खेटकौतुकम्’ सूत्रमा बन्धक छ। त्यसैले न्यून नै भए पनि राजनीतिक संस्कार, सहिष्णुता तथा संस्कृतिको विकास हुन आवश्यक छ।
प्रकाशित: २८ असार २०८२ ०७:२१ शनिबार





