राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष तथा लेखक रवीन्द्र मिश्रले प्रहरी हिरासतमा रहँदा सिर्जना गरेका कविताहरूको सङ्ग्रह सार्वजनिक हुने भएको छ।
५० दिन लामो हिरासत बसाइका क्रममा लेखिएका कविताहरू समेटिएको ‘माथिको आदेश छ’ नामक सङ्ग्रह यही भदौ २८ गते पाठकमाझ आउने भएको हो।
मिश्रले हिरासतसँगको बाध्यात्मक बसाइबाट यी कविताहरू जन्मिएको बताएका छन्। ‘यी कविता ‘हिरासतको ‘म’ का आवाज, आवेग र आर्तनाद हुन्,’ उनले भनेका छन्।
आफ्नो हिरासत अनुभवबारे मिश्रले थपे, ‘५० दिन हिरासतमा बस्दा मलाई ३५ ओटा कविता फुरेछन्। त्यति छोटो अवधिमा त्यति धेरै कविता मैले जीवनमा कहिल्यै लेखेको थिइनँ। हिरासत बसाइका क्रममा कुनै दिन दुई ओटा कविता पनि लेखेको रहेछु।’
यो मिश्रको दोस्रो कविता सङ्ग्रह हो। उनको पहिलो सङ्ग्रह ‘रवीन्द्र मिश्रका कविता’ २०७१ सालमा प्रकाशित भएको थियो।
सङ्ग्रहको पाण्डुलिपि अध्ययन गरेका मदन पुरस्कार विजेता कवि नवराज लम्सालले मिश्रको कवित्वको प्रशंसा गरेका छन्। ‘रवीन्द्र मिश्र कवि हुन कविता लेख्दै छैनन्, कविता लेख्न कवि स्वरुपमा अवतरित छन्। कविले होइन, कवित्वले कविता लेखाएको छ,’ लम्सालको टिप्पणी छ, ‘यसमा सूक्ष्म कथ्यमाथि बलियो र अटुट काव्यप्रवाह छ।’
कविता सङ्ग्रहलाई फाइनप्रिन्टले प्रकाशन गर्न लागेको हो।
प्रकाशित: ९ भाद्र २०८२ १८:५२ सोमबार





