२९ मंसिर २०८२ सोमबार
image/svg+xml
कला/साहित्य

रवीन्द्र मिश्रको ‘माथिको आदेश छ’ भदौ २८ मा सार्वजनिक हुने

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले ५० दिन प्रहरी हिरासतमा रहेका समय लेखेको कविताहरूको सङ्ग्रह ‘माथिको आदेश छ’ यही भदौ २८ मा सार्वजनिक गरिने भएको छ ।  

‘माथिको आदेश छ’मा सङ्गृहीत कविता हिरासतसँगको बाध्यात्मक संसर्गबाट जन्मिएका सन्तान रहेको मिश्रले बताए । कविताहरु  ‘हिरासतको ‘म’का आवाज, आवेग र आर्तनाद भएको उनको भनाइ छ ।  

‘५० दिन हिरासतमा बस्दा मलाई ३५ वटा कविता फुरेछन् । कविताको सोच दिमागमा आउनु सामान्य हो तर त्यो सोच कविताको स्वरूपमा अभिव्यक्त हुनु असामान्य हो । हिरासत बसाइमा मलाई निरन्तर रूपमा कविताका सोचहरू दिमागमा फुरेछन् र तिनलाई मैले कवितामा रुपान्तरण गर्न सकेछु,’ कविताबारे उनले भनेका छन्,  ‘तर त्यति छोटो अवधिमा त्यति धेरै कविता मैले जीवनमा कहिल्यै लेखेको थिइनँ । हिरासत बसाइका क्रममा कुनै दिन दुई वटा कविता पनि लेखेको रहेछु ।’

मिश्रको यो दोस्रो कविता संग्रह हो । उनको पहिलो कविता संग्रह ‘रवीन्द्र मिश्रका कविता’ २०७१ सालमा प्रकाशन भएको थियो ।  

‘रवीन्द्र मिश्र कवि हुन कविता लेख्दै छैनन्, कविता लेख्न कवि स्वरुपमा अवतरित छन् । कविले होइन, कवित्वले कविता लेखाएको छ,’ कवितासङ्ग्रहको पाण्डुलिपि अध्ययन गरेका मदन पुरस्कार विजता कवि तथा गीतकार नवराज लम्सालको टिप्पणी छ, ‘यसमा सूक्ष्म कथ्यमाथि बलियो र अटुट काव्यप्रवाह छ । यस सङ्ग्रहमा अध्यात्मतर्फ कविको आकर्षण पनि सुन्दर, सशक्त र गहिरो रुपमा प्रकट भएको छ ।’

‘पत्रकारिता, परोपकार वा राजनीतिको छविबिनै यस सङ्ग्रहका कवि रवीन्द्र मिश्र पूर्ण छन् । मिश्रलाई कविताको बाटोमा दह्रो गरी खुट्टा टेकेर उभिन यो कवितासङ्ग्रह पर्याप्त रहेको पद्मश्री साहित्य पुरस्कार विजेता कवि नवराज पराजुलीको बुझाइ छ । ‘अनुभूतिलाई शब्दमा बिछ्याउँदा कविताको जुन बाटो बन्छ, रवीन्द्र मिश्र त्यो बाटोभरि इमानदार लाग्छन् । इमानदारी सौन्दर्य बनेर उनका कवितामा फुलेको छ,’ पराजुलीले लेखेका छन् ।

प्रकाशित: ९ भाद्र २०८२ १७:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App