केही समयदेखि ठूलो पर्दाबाट टाढिएका अभिनेता पुष्प खड्का नेपाली चलचित्र ‘महाराजधिराज’मार्फत पुनः रजतपटमा फर्किँदै छन्।
‘महाराजधिराज’ मा अभिनेता पुष्प खड्काको इन्ट्रि भएको छ। निर्माण पक्षले नयाँ वर्षको दिन पुष्पलाई मुख्य भूमिकामा अनुबन्ध गरेको जानकारी दिँदै पोस्टर समेत सार्वजनिक गरेको हो।
यस अघि उक्त चलचित्रमा अभिनेता पल शाह अनुबन्धित थिए। तर शाह चलचित्रबाट बाहिरिए पछि खड्काको इन्ट्रि भएको हो।
मंगलबार सार्वजनिक पोस्टरमा खड्कालाई शीर्ष भूमिकामा प्रस्तुत गरिएको छ। सार्वजनिक टिजर पोस्टरमा पुष्पलाई दुईवटा विपरीत र शक्तिशाली लुक्समा देखाइएको छ। एकमा उनी ‘रोयल लुक्स’मा प्रस्तुत छन्। उनले शीरमा श्रीपेच, हातमा राजदण्ड र राजर्षी पहिरन लगाएका छन्। अर्को फोटोमा उनी नग्न, दुब्लो एवं कमजोर अवस्थामा देखिएका छन्।
परिच्छेद सेनको निर्देशनमा रहेको चलचित्रमा नीर शाह, आर्यन सिग्देल, रमेश उप्रेती, वर्षा राउत, उषा रजक, हिउँवाला गौतम, जयकिशन बस्नेत, शिशिर भण्डारी, गजित विष्ट, आशा पौडेल लगायतका कलाकारहरुको अभिनय रहने छ।
निर्माण पक्षका अनुसार ‘महाराजधिराज’लाई आगामी बडादशैंको फूलपातीका अवसरमा देशव्यापी प्रदर्शनमा ल्याउने तयारी रहेको छ ।
प्रकाशित: १ वैशाख २०८३ १६:५२ मंगलबार





