१) राजनीति
‘साँपसाँप!’ भुँराहरू पोखरीमा छटपटाएर हारगुहार गर्न थाले। उनीहरूको जीवनलीला समाप्त हुँदै थियो। आफ्ना सन्तानहरू नासिएको देखेर वयस्क माछाहरू ठूलो चिन्तामा परे।
एउटाले सुझायो, ‘ठूलो माछालाई खवर गरौँ? आखिर हामी सबैको रक्षक उनी नै हुन्।’
कसै गरेर उनीहरू ठुुलो माछाकोमा पुगे। ऊ शानसँग सत्ताको कुर्सीमा विराजमान थियो। उनीहरूले समस्या राखे।
सुन्नासाथ ऊ तात्तियो, ‘पोखरीमा सुरक्षाका सबै तरिकाहरू अपनाइएको छ तर सर्पहरू कसरी छिरे?’
वयस्कहरू निरीहझैँ चूपचाप बसे। उसले हुकुमी पाराले आदेश गर्याे, ‘जाओ, पत्ता लगाओ।’
उनीहरू सुराक पत्ता लगाउन त खटिए तर सफल भएनन्। ठूलो माछा रन्किएर उनीहरूको झाँको झार्दै भन्यो, ‘यत्ति सानो काम गर्न सक्दैनौ? भोलि मेरो अवसानपछि पोखरीमा शासन कसरी गर्छौ?’
ठूलो माछा आफै मैदानमा उत्रियो। केहीबेरमै साँपहरू पोखरीबाट गायब भए। भुरा र वयस्क सबै माछाहरू खुसी भए। संकट मोचन गरेकोमा उनीहरूले जयजयकार गरे। ठूलो माछा भने मुसुमुसु हाँसिरहेको थियो।
ठूलो माछाको सबै क्रियाकलाप हेरिरहेको एउटा माझीले सोच्यो, ‘सत्ता बचाइराख्न प्रतिद्वन्द्वीसँग कसरी मेलमिलाप गर्नुपर्छ भन्ने कुरा यी आलाकाँचाहरूलाई के थाहा?’
२) बन्देज
‘शुभप्रभात!’ उसको मेसेज आयो।
‘हजुर शुभप्रभात!’ मैले जवाफ फर्काएँ।
‘चिया खानुभयो?’ फेरि प्रश्न आयो।
‘किन सम्झनुभयो?’ मैले सन्दर्भ कोट्याउन खोजेँ।
‘एकैछिन है!’ भनेर ऊ हरायो।
म सोच्न थालेँ, ‘साहित्यको संसारमा उसलाई चिनेको धेरै भएको छैन तर पनि हामी बीच कुरा कति मिल्छ? घण्टौँ कुरा गर्छौं। एक अर्कालाई चिन्न कहिले घरपरिवारको कुरा गर्छौं त कहिले आआफ्ना सिर्जनाबारे चर्चा गर्छौं।’
फुत्त एउटा लघुकथा मेसेजमा आयो। मेरो तन्द्रा टुट्यो। लघुकथा पढेँ। उसैको रहेछ।
केही सुझावसहित जवाफ फर्काउँदै आग्रह गरेँ, ‘टाइप गर्ने मेरो औँलामा घाउ आएकाले अशुद्ध धेरै, मिलाएर बुझ्नू है!’
उसले तुरुन्तै सहानुभूति देखाएर जवाफ लेख्यो, ‘अहो, गाह्रो भयो भनेर आत्तिनु भएन। जीवनमा घाउ आउँछन्, जान्छन्। मान्छे धैर्यशील र सहनशील बन्न सक्छ नि!’
मैले अवस्था दर्साउँदै लेखेँ, ‘यो त निरंकुश शासकले विद्रोही साहित्यकारको कलम रोके जस्तै पो भएको छ।’
३) बराबर
बूढो घरबाट कार्यलयतिर निस्किनै खोज्दा बुढीलाई अङ्कमाल गर्याे, म्वाइँ खायो र भन्यो, ‘राम्ररी बस है!’
बुढीले पनि उसै गरिन् र भनिन्, ‘आज दिउँसो समय मिलाऊ है! म उतै आउँछु। सपिङ जाऔँ ल!’
‘म अवस्था हेरेर कल गर्छु नि!’ उसले आश्वासन बाँड्दै बाइक चलायो र आँखाबाट ओझेल भयो।
उनी चिटिक्क परेर घरबाट बाहिर निस्किन्। साथी भनाउँदाको बाइकमा बसेर हावामा उडिन्। एउटा रेस्टुरेन्टमा बन्द कोठामा दुई साथी मस्तीमा हराउँदै थिए। फोनमा घण्टी बज्यो।
बुढाले भन्यो, ‘सरी डार्लिङ! आज मिटिङ छ। घर आउन अलि ढिला हुन्छ। भोलि निस्कौँला है।’
साथीको अँगालोमा बेरिँदै बुढालाई फोनमा नै सोधिन्, ‘आज तिमीलाई के खान मन छ? भन त! बेलुकालाई त्यही पकाउँछु नि!’
‘आज साधा खाना खाने है?’ उसले मस्किँदै भन्यो।
एकछिनको कुराकानीपछि कल कट्यो।
उनले भनिन्, ‘अब फर्किने होइन?’
उसले जिस्किँदै भन्यो, ‘के हतार छ र? तिम्रो बूढो मिटिङमा होइन र?’
‘हो तर काम सकिएपछि यहाँ किन बसरिरहनु नि?’
उनीहरू बाहिरिदै थिए। उताबाट अर्को जोडी भित्रिँदै थियो। आउने र जाने दुवैले नियालेर हेरे। उनीहरूका आँखा चार भए। आउने यात्री उनकै बुढा थिए।
४) साथी
विद्यालयबाट फर्किएपछि रोहणले पढ्ने टेबलभरि किताब फिँजायो र खुरुखुरु गृहकार्य गर्न थाल्यो। लेख्दा लेख्दै झमक्क साँझ पर्याे।
उसले आमालाई सोध्यो, ‘आज बाबा कतिबेला आउने हो?’
आमाले मायालु भावमा भन्नुभयो,‘बाबा त आज सधैँभन्दा अलि ढिलो आउने रे! बाबु आज खेल्न नगएर किन बाबा खोजेको?’
उसले हैरान हुँदै भन्यो, ‘आज म खेल्न जादिनँ, आमा। गृहकार्य धेरै छ। एउटा चैँ अलि गाह्रो छ, बाबालाई सोधेर मात्र गर्नुपर्छ।’
आमाले छोराको कपाल सुमसुम्याउँदै भन्नुभयो, ‘कठैबरा! ५ कक्षा पढ्ने बाबुलाई पनि मिस सरले कत्ति धेरै र गाह्रो काम दिएको होला? म भोलि विद्यालयमा कुरा गर्छु है त!’
ऊ अलि डरायो र भन्न थाल्यो, ‘नाई, नभन्नू आमा नत्र म विद्यालय जान्न। तपाईजस्तै घरमा बसेर घरकै काम गर्छु।’
आमा उसको हाउभाउ देखेर हाँस्नुभयो र भन्नुभयो, ‘ल तिम्रो गृहकार्य सकेर बाबा नआउन्जेल आराम गर। म भात पकाउन जान्छु है त! ऊ आमा पछिपछि भान्सामा गयो। आमाको मोबाइल माग्यो। उहाँ सशंकित हुनुभयो।
‘कतै दुरुपयोग त गर्दैन?’
मोबाइल लिएर ऊ आफ्नै कोठामा आयो। आफ्नै तालमा मक्ख पर्याे। निकैबेरपछि आमा आएर भन्नुभयो, ‘ल बाबा आउनुभयो। पहिला गृहकार्य छिटोछिटो सकाऊ अनि खाना खानुपर्छ।’
उसले तत्कालै जवाफ फर्कायो, ‘अब सिकाउनु पर्देन। मैले गरिसकेँ बरू खाना खाऔँ। निन्द्रा लागिसक्यो।’
आमा छक्क पर्नुभयो र सोध्नुभयो, ‘ गाह्रो छ भन्थ्यौ, कसरी गर्याैं त?’
उसले खुसी हुँदै भन्यो, ‘आमाको फोनमा भएको गुगल साथीको सहयोगले सकाएँ नि!’
५ ) भय
‘जन्म र मृत्यु भनेका शाश्वत कुरा हुन्। जन्मेपछि मर्नै पर्छ भन्ने बुझेर पनि किन कतिपय मानिसलाई मृत्यभय भएको होला?’ एक वृद्धले प्रश्न राखेँ।
सत्संग चलिरहेको थियो। प्रकाण्ड विद्वान जीवन दर्शनबारे लगातार ज्ञान प्रवाह गरिरहेका थिए। प्रश्न आउनासाथ उत्तर दिन उनको ध्यान केन्द्रित भयो।
उनले भने, ‘कर्मको आधारमा मान्छे सज्जन र दुर्जन हुन्छ। पापकर्म गर्ने दुर्जनहरू दु:ख पाएर मर्छु कि भनेर ससंकित हुन्छन् र मनमा मृत्यभय पाल्छन्। सज्जनहरू कहिले पनि मृत्यलाई भय ठान्दैनन्।’
एकाएक सभाहलमा खुसुर फुसुर चल्यो। छेउमा बसेकाहरू एकापसमा टिप्पणी र चर्चा गर्न थाले।
वृद्धले छेउमा बसेको आफ्नै दौँतेरीलाई उनले भने, ‘मैले जागिरे जीवन हुँदा कति दुश्कर्म गरेँ। म भगवान् मान्दिनँ। म नास्तिक हुँ, दुर्जन हुँ तर पनि म मृत्युसँग डराउँदिनँ।’
साथीले भन्यो, ‘मर्ने बेलामा रोगले सताएर, दुर्घटनामा परेर अशक्त भएर दुख पाइन्छ कि? भन्ने त्रास सबैलाई हुनु स्वभाविक हो।’
दुई जनाको बीचमा मृत्युभय ‘हुन्छ र हुँदैन’ भनेर तर्कवितर्क चल्यो। लामै समयसम्म चर्काचर्की परेपछि प्रवचन दिने विद्वानले दुवै जनालाई आफू नजिक बोलाए र सोधे, ‘तिमीहरू दुवै डाँडापारिका जून भैसक्यौ। भन त, तिमीहरूको अन्तिम इच्छा के छ?’
साथी बोल्न नपाउँदै वृद्धले प्रभुलाई सम्झेर भने, ‘हे प्रभु! म सहज मृत्यु वरण गर्न पाऊँ।’
(पाहुर लघुकथासंग्रहबाट)
प्रकाशित: ९ फाल्गुन २०८२ १२:१४ शनिबार





