नेपाली कांग्रेसका नेता देवराज चालिसे लोकतान्त्रिक व्यवस्थामा व्यक्ति होइन, संस्था ठूलो हुने बताएका छन् । लोकतन्त्र प्रक्रिया र विधिबाट सञ्चालन हुने व्यवस्था भएकाले संस्थागत मर्यादा तथा विधि–विधानलाई सर्वोपरि मान्नुपर्ने उनको धारणा छ ।
उनले पछिल्लो समय राजनीतिक दल र संसद्भित्र ‘व्यक्ति ठूलो कि संस्था ?’ भन्ने बहस चलिरहेको उल्लेख गर्दै लोकतन्त्रमा व्यक्तिका चाहना र आकाङ्क्षा प्रक्रियाको अधीनमा रहने बताए । उनका अनुसार प्रक्रिया सबैका लागि समान हुने भएकाले त्यसैले संस्थालाई सञ्चालन गर्छ ।
चालिसेले व्यक्ति क्षणिक भए पनि संस्था स्थायी हुने उल्लेख गर्दै अधैर्य नेताभन्दा धैर्यवान संस्था सधैँ सुरक्षित हुने बताए । पार्टी होस् वा राष्ट्र, आवेगभन्दा संस्थागत सन्तुलनले नै प्रणालीलाई सही दिशामा अघि बढाउने उनको भनाइ छ ।
उनले लोकतन्त्रमा शक्तिशाली नेताभन्दा शक्तिशाली संस्था आवश्यक पर्ने धारणा पनि राखेका छन् । कुनै नेता आफूलाई संस्थाभन्दा माथि ठान्ने, प्रक्रियालाई बोझका रूपमा हेर्ने र संस्थाभन्दा बाहिर आफूलाई स्थापित गर्न खोज्ने अवस्था लोकतन्त्रका लागि खतरनाक हुने उनले औँल्याए ।
उनका अनुसार वास्तविक नेतृत्व भनेको संस्थालाई कमजोर बनाएर व्यक्तिगत छवि निर्माण गर्नु होइन, बरु संस्थालाई अझ बलियो, जवाफदेही र स्थिर बनाउनु हो ।
प्रकाशित: २ जेष्ठ २०८३ १६:०३ शनिबार





