३० जेष्ठ २०८३ शनिबार
image/svg+xml
समाज

होल्डिङ सेन्टरमा हेल्थ डेस्क प्रभावकारी, सुकुम्बासी परिवारलाई सहज स्वास्थ्य सेवा

कोहलपुर नगरपालिकाले सुकुम्बासी बस्ती हटाएर नयाँ बसपार्क भवनमा अस्थायी रूपमा स्थानान्तरण गरिएका परिवारका लागि सञ्चालन गरेको हेल्थ डेस्क प्रभावकारी बन्दै गएको छ। होल्डिङ सेन्टरमै स्वास्थ्य सेवा उपलब्ध भएपछि सामान्य बिरामीसमेत सहज रूपमा उपचार पाउन थालेका छन्।

नगरपालिकाले अस्थायी बसोबासमा रहेका परिवारको स्वास्थ्य अवस्थालाई प्राथमिकतामा राख्दै हेल्थ डेस्क सञ्चालन गरेपछि दैनिक २० देखि ३० जनासम्मले स्वास्थ्य परीक्षण तथा उपचार सेवा लिइरहेका छन्। नगर अस्पतालबाट खटिएका स्वास्थ्यकर्मीमार्फत बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म नियमित सेवा सञ्चालन भइरहेको छ भने रातिको समयमा पनि निगरानीको व्यवस्था गरिएको छ।

स्वास्थ्य सेवा सहज भएपछि होल्डिङ सेन्टरमा बस्ने परिवारले राहत महसुस गरेका छन्। नगर अस्पतालकी नर्सिङ निरीक्षक राधा केसीका अनुसार अधिकांश बिरामी सामान्य प्रकृतिका छन्। ग्यास्टिक, टाउको दुख्ने, ज्वरो र रुघाखोकीजस्ता समस्या बढी देखिएको उनले बताइन्। केही व्यक्तिमा उच्च रक्तचाप र मधुमेहसम्बन्धी समस्या पनि देखिएको छ।

“अधिकांश बिरामी सामान्य खालका छन्। दैनिक २०/३० जनाको चेकजाँच भइरहेको छ,” केसीले भनिन्।

उनका अनुसार होल्डिङ सेन्टरमा हाल पाँचजना स्वास्थ्यकर्मी परिचालन गरिएको छ। उनीहरूले नियमित स्वास्थ्य परीक्षण, औषधि वितरण, परामर्श तथा निगरानीको काम गरिरहेका छन्। आवश्यक पर्ने सामान्य औषधिसमेत निःशुल्क उपलब्ध गराइएको छ।

बालबालिकाको स्वास्थ्यलाई पनि प्राथमिकतामा राखिएको छ। उमेर समूहअनुसार जुकाको औषधि वितरण गरिएको स्वास्थ्यकर्मीले बताएका छन्। अस्थायी बसोबास, भीडभाड र सरसफाइसम्बन्धी चुनौतीका कारण संक्रमणको जोखिम बढ्न सक्ने भएकाले यस्तो अभियान सञ्चालन गरिएको हो।

नर्सिङ निरीक्षक केसीका अनुसार हेल्थ डेस्क स्थापना भएपछि स्वास्थ्यसम्बन्धी जोखिम कम भएको छ। “सामान्य बिरामी भए पनि सुकुम्बासीहरू चेकजाँच गराउन आउँछन्। हेल्थ डेस्क नहुँदो हो त उनीहरूको स्वास्थ्य समस्या झन् जटिल बन्न सक्थ्यो,” उनले भनिन्।

उनका अनुसार धेरै परिवार आर्थिक रूपमा कमजोर भएकाले बाहिर गएर उपचार गराउन कठिन थियो। “उपचारका लागि पैसा जुटाउनसमेत समस्या हुन्थ्यो,” उनले बताइन्।

स्वास्थ्य सेवा सहज भएपछि होल्डिङ सेन्टरमा बस्ने नागरिकमा आत्मविश्वाससमेत बढेको देखिएको छ। सामान्य स्वास्थ्य समस्या हुँदा पनि तत्काल स्वास्थ्यकर्मीको पहुँचमा पुग्न पाउनु उनीहरूका लागि राहतको विषय बनेको छ। स्वास्थ्यकर्मीको नियमित उपस्थिति र औषधिको उपलब्धताले आकस्मिक अवस्थामा तत्काल उपचार पाउने वातावरण बनेको उनीहरूको भनाइ छ।

कोहलपुर नगरपालिकाका प्रमुख पूर्णप्रसाद आचार्यले अस्थायी बसोबासमा रहेका नागरिकको स्वास्थ्यप्रति स्थानीय सरकार गम्भीर रहेको बताए। उनले आधारभूत स्वास्थ्य सेवाबाट कोही पनि वञ्चित नहोस् भन्ने उद्देश्यले हेल्थ डेस्क सञ्चालन गरिएको जानकारी दिए।

उनका अनुसार एउटै स्थानमा धेरै परिवार बस्दा विभिन्न स्वास्थ्य जोखिम बढ्न सक्ने भएकाले सुरुदेखि नै स्वास्थ्य सेवामा विशेष ध्यान दिइएको हो। आवश्यक परे थप स्वास्थ्यकर्मी तथा सेवा विस्तार गर्न नगरपालिका तयार रहेको उनले बताए।

होल्डिङ सेन्टरमा बसोबास गर्ने अधिकांश परिवार दैनिक ज्यालादारी तथा अस्थायी काम गरेर जीविका चलाउने समुदायका छन्। आर्थिक अवस्था कमजोर भएकाले उनीहरू नियमित स्वास्थ्य सेवाको पहुँचबाट टाढा थिए। अहिले भने निःशुल्क उपचार र औषधि उपलब्ध भएपछि उनीहरूले राहत महसुस गरेका छन्।

सुकुम्बासी परिवारका अनुसार सुरुआती दिनमा अस्थायी बसोबासमा विभिन्न समस्या भए पनि अहिले स्वास्थ्य सेवा सहज भएपछि वातावरण केही व्यवस्थित बनेको छ। नियमित स्वास्थ्य परीक्षणले बिरामी पहिचान गर्न र समयमै उपचार गर्न मद्दत पुगेको उनीहरूको भनाइ छ। विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक र दीर्घरोगीलाई हेल्थ डेस्कले प्रत्यक्ष लाभ पुर्‍याएको बताइएको छ।

होल्डिङ सेन्टरमा सरसफाइ तथा स्वास्थ्य सचेतनासम्बन्धी कार्यक्रमसमेत सञ्चालन भइरहेका छन्। स्वास्थ्यकर्मीले व्यक्तिगत सरसफाइ, सुरक्षित खानेपानी, संक्रमणबाट बच्ने उपाय र पोषणसम्बन्धी परामर्श दिइरहेका छन्। भीडभाडयुक्त स्थानमा संक्रामक रोग फैलिन सक्ने जोखिमलाई ध्यानमा राख्दै नियमित निगरानीसमेत भइरहेको छ।

स्वास्थ्यकर्मीका अनुसार हालसम्म कुनै जटिल स्वास्थ्य समस्या देखिएको छैन। अधिकांश बिरामी उपचारपछि निको हुने गरेका छन्। यद्यपि मौसम परिवर्तन, भीडभाड र अस्थायी बसोबासका कारण आगामी दिनमा स्वास्थ्य चुनौती थपिन सक्ने भएकाले सतर्कता अपनाइएको जनाइएको छ।

स्वास्थ्य सेवा प्रभावकारी बनेपछि होल्डिङ सेन्टरमा बस्ने परिवारले सामान्य उपचारका लागि बाहिर धाउनुपर्ने बाध्यता हटेको छ। स्थानीय सरकारको सक्रियता र स्वास्थ्यकर्मीको निरन्तर उपस्थितिले अस्थायी बसोबासमा रहेका नागरिकलाई उल्लेखनीय राहत पुगेको देखिएको छ।

प्रकाशित: १ जेष्ठ २०८३ १५:२७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App