प्रगतिशील लेखक सङ्घ, वैचारिक विमर्श तथा परिसंवाद विभागको आयोजनामा सिन्धुपाल्चोकको सुकुटे कविता साँझ कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ। स्थानीय पर्यटन तथा प्रगतिशील साहित्यलाई समन्वय गर्न सिन्धुपाल्चोकको सुकुटेमा भएको थियो।
विभागको ८५औँ विचार चौतारी शृङ्खलाअन्तर्गत सम्पन्न कार्यक्रमको प्रमुख अतिथि प्रलेस, नेपालका पूर्व अध्यक्ष मातृका पोखरेल थिए। कविता साँझ कार्यक्रममा विभिन्न कविको रचनाह प्रस्तुति भएको थियो।
रचना प्रस्तुत गर्नेहरूमा प्रमुख अतिथि पोखरेलका साथै सल्लाहकारहरू ईश्वरचन्द्र ज्ञवाली, सुशीला प्रधानाङ्ग, डा. विन्दु शर्मा, गोपाल बरालका साथै प्राज्ञ बाबा बस्नेत तथा डा.कौशीला रिसाल रहेका थिए।
त्यस्तै कविता प्रस्तुत गर्नेहरूमा समीर सिंह, डा. अमृता शर्मा, डा. कृष्ण सुवेदी, नमुना शर्मा, दिनेश दुलाल, डा. बालचन्द्र मिश्र, भोला ढकाल, कर्ण दयाल सोरारी, डा.प्रतिभा पुन, पार्वती राउत, सुधा मैनाली, यदुनाथ बसन्तपुरे, भक्त विश्वकर्मा, विजेन्द्र विक्रम जिसी, रमेश दाहाल, राधा कार्की, सुमन थापा सङ्गम, डा. यादेवी ढकाल, सरस्वती शर्मा अधिकारी, वासुदेव पौड्याल, अच्युत घिमिरे, निर्मल बस्नेत, बालकवि सुविन पन्त लगायत थिए। कार्यक्रममा सिन्धु सुकुटे पर्यटन व्यवसायी सङ्घका सचिव कृष्ण सापकोटाको आतिथ्य समेत थियो।
विभागका संयोजक समीर सिंहको अध्यक्षता तथा उपाध्यक्ष डा.अमृता शर्माको सञ्चालनका अगाडि बढेको कार्यक्रममा स्वागत तथा कार्यक्रमबारे जानकारी डा.कृष्ण सुवेदीले गरेका थिए। नेपाल प्रज्ञाप्रतिष्ठानबाट पुरस्कृत ईश्वरचन्द्र ज्ञवाली, सुशीला प्रधानाङ्ग र कर्ण दयाल सोरारीलाई कार्यक्रमका अध्यक्षले बधाई दिएका थिए।
कार्यक्रमको दोस्रो दिन सुकुटे कविता बिहानी कार्यक्रममा कविहरूबाट प्रगतिशील कविता वाचन गरिएको थियो। सोही दिन सुकटे बिच रिसोर्टबाट प्रारम्भ भएर सुनकोसी बिचसम्म र्याफ्टिङ कार्यक्रम समेत भएको थियो। र्याफ्टिङको अवधिमा समेत कविता वाचन गरिएको थियो।
प्रकाशित: २१ वैशाख २०८३ ०६:५१ सोमबार





