जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले सुकुम्बासी बस्ती हटाउने सरकारी अभियानप्रति कटाक्ष गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत काठमाडौं उपत्यकाको नक्सा सेयर गर्दै ‘पहिले खोला किनार थियो’ भन्ने आधारमा बस्ती हटाउने तर्कलाई अव्यावहारिक भएको बताएका छन्।
राउतले व्यंग्य गर्दै यदि त्यही आधार लागू गर्ने हो भने देशका धेरै शहर तथा बस्ती खाली गराउनुपर्ने अवस्था आउने उल्लेख गरेका छन्। उनले महेन्द्र राजमार्ग वरिपरिका अधिकांश शहर तथा बस्ती पनि पहिले जंगल क्षेत्र भएकाले तिनलाई समेत अतिक्रमण मान्नुपर्ने भनाइ राखे।
'कुनै जमानामा खोला किनार थियो रे, त्यसैले खाली गर्नु पर्यो ! त्यसो भए महेन्द्र राजमार्ग वरिपरिका सबै शहर र बस्ती खाली गराउनु पर्यो, जंगल थियो, सबै अतिक्रमित हुन्,' उनले भने।
यस्तै, राउतले काठमाडौं उपत्यकाको ऐतिहासिक पृष्ठभूमि उल्लेख गर्दै कुनै समय यो क्षेत्र प्राचीन ताल (पेलियो लेक) रहेको र त्यसैका आधारमा राजधानी नै खाली गर्नुपर्ने तर्क अघि सारिएको खण्डमा अवस्था कति अव्यावहारिक हुन्छ भन्ने देखाउन खोजेका छन्। उनले पोखरा लगायत अन्य क्षेत्रको सन्दर्भ पनि उठाउँदै विकास र मानव बसोबासको क्रमलाई नबुझी एकपक्षीय निर्णय लिन नहुने बताए।
'खोला किनार थियो रे, त्यसैले खाली गर्नु पर्यो ! ए, त्यसो भए काठमाडौं त पूरै ताल (पेलियो लेक) नै थियो, त्यो पनि आध्यात्मिक दृष्टिकोणले अति नै महत्त्वपूर्ण ताल, स्वयम्भू टापु सहित। नक्सा तल दिएका छौं, यही अनुसार खाली गरौं कि? यस्तो महत्त्वपूर्ण तालमा राजधानी र दरबार बनाएर, घरै-घर ठड्याएर, मान्छे थुपारेर आध्यात्मिक 'पोर्टल' बन्द गर्न पाइन्छ? काठमाडौं ताल अतिक्रमित भएर आज टौदहमा खुम्चिएको छ। पूरै काठमाडौं खाली गरौं, मानव सभ्यताको लागि अति नै महत्त्वपूर्ण त्यो ताल अतिक्रमण मुक्त गरौं! त्यसै गरी पोखरा पनि खाली गरौं!' उनले लेखेका छन्।
राउतले चुरे तथा तराई क्षेत्रमा भएको बसोबास, वन विनाश र वातावरणीय असरबारे समेत प्रश्न उठाउँदै ऐतिहासिक बसोबास, विकास र वर्तमान यथार्थलाई सन्तुलित रूपमा हेर्न आवश्यक रहेको बताए।
उनले भने, 'महेन्द्र राजमार्ग (पूर्व-पश्चिम लोकमार्ग) बनाएर चारकोशे झाडी र वन्यजन्तु मास्ने काम भयो, पूर्णतः बन्द गरौं! महेन्द्र राजमार्ग वरिपरिका सबै बस्ती र शहरहरू अवैध र अतिक्रमित हुन्, सबै खाली गराऔं! चुरिया क्षेत्रका सबै बस्तीहरू जंगल अतिक्रमित गरेर हालै मात्र बसेका हुन्, जसले गर्दा तराईको मरूभूमिकरण र विनाश भइरहेको छ, सबै खाली गराऔं! झापा, चितवन, दांग, कैलाली, कंचनपुरमा आदिवासी जनजाति, थारू, राजवंशी, सन्थाल आदि मूलवासी बाहेकका सबै अतिक्रमण गरेर नै बसेका हुन्, सबै खाली गर्नु पर्ने भयो!'
उनले केही व्यक्तिहरूले आफ्नो आगमनलाई नै इतिहासको सुरुआत ठान्दै अरूलाई अतिक्रमणकारी ठान्ने प्रवृत्ति देखिएको बताए। उनले त्यस्ता व्यक्तिहरूले आफ्नोभन्दा ठूलो घर बनाएको देख्नै नसक्ने र कोही गरीब आफ्नो छेऊ आएर बसेको सहनै नसक्नु जिकिर गरे। यस्तो सोचले सामाजिक द्वन्द्व बढाउने चेतावनी उनले दिएका छन्।
'मानव सम्भताका चरण र विकास नबुझेका वज्रस्वाँठहरू आफ्नो आगमनलाई नै इतिहासको सुरुवात् ठान्दछन्। आफू शहर पसेपछि आफूलाई भूमिपुत्र शहरिया ठान्न थाल्छन् र अरूलाई अतिक्रमणकारी गाउँले देख्दछन्। कसैले आफ्नो भन्दा ठूलो घर बनाएको देख्नै सक्दैनन्, र कोही गरीब आफ्नो छेऊ आएर बसेको सहनै सक्दैनन्, अनि त्यस्तै तर्क पनि ल्याउँछन् 'स्याडिस्ट',' राउतले भनेका छन्।
प्रकाशित: २१ वैशाख २०८३ ०६:५७ सोमबार




-600x400.jpg)
