कैलालीको गौरीगंगा नगरपालिका–३ कुचैनीकी ५२ वर्षीया जालिना देवी चौधरीको बोक्सीको आरोपमा कुटपिटपछि मृत्यु भएको घटनामा पक्राउ परेका सातै जना १३ दिनमै धरौटीमा रिहा भएपछि पीडित परिवारले न्यायका लागि गुहार मागेको छ।
परिवारका अनुसार असार ३२ गते साँझ मुसलधारे वर्षाका बीच केही व्यक्तिले जालिना देवीलाई सडकछेउबाट लछारपछार गर्दै घरको आँगनसम्म ल्याएर कुटपिट गरेका थिए। ज्यान जोगाउन उनी घर पछाडिको शौचालयमा लुके पनि त्यहाँबाट निकालेर पुनः कुटपिट गरिएको मृतकका छोरा रवि चौधरीको दाबी छ।
उनका अनुसार घटनापछि आमाको मुख र नाकबाट फिज निस्किरहेको अवस्थामा प्रहरी घटनास्थल पुगेको थियो। तर तत्काल अस्पताल नलगिएको र कम्बल ओढाएर भोलिपल्ट अनुसन्धान गर्ने भन्दै प्रहरी फर्किएको उनले आरोप लगाए। भोलिपल्ट बिहान करिब ५ बजे जालिना देवीको मृत्यु भएको परिवारको भनाइ छ।
मृतकका श्रीमान् राजेन्द्र चौधरीका अनुसार श्रीमतीले मृत्यु हुनुअघि आफूलाई धेरै कुटपिट गरिएको र अब बाँच्न नसक्ने बताएकी थिइन्। परिवारले घटनाको सीसीटीभी भिडियोसमेत आफूसँग रहेको दाबी गर्दै त्यसमा कुटपिटका दृश्य स्पष्ट देखिने जनाएको छ।
रवि चौधरीका अनुसार छिमेकीको घरअगाडि चामल फालेको विषयलाई लिएर उनकी आमामाथि बोक्सीको आरोप लगाइएको थियो। यसअघि पनि करिब १५ दिनअघि यस्तै आरोपमा कुटपिट भएको उनको दाबी छ।
- बोक्सीको आरोपमा कुटपिटपछि महिलाको मृत्यु भएको परिवारको दाबी।
-घटनामा पक्राउ परेका सातै जना १३ दिनमै धरौटीमा रिहा।
-पीडित परिवारले अनुसन्धान कमजोर भएको आरोप लगाउँदै निष्पक्ष न्यायको माग।
-प्रहरीको भनाइ– पोस्टमार्टमबाट मृत्युको कारण खुलेको छैन, भिसेरा रिपोर्ट आउन बाँकी।
१३ दिनमै धरौटीमा रिहा
घटनापछि रवि चौधरीले इलाका प्रहरी कार्यालय मालाखेतीमा सरिता थरुनीसहित सात जनाविरुद्ध कर्तव्य ज्यानसम्बन्धी कसुरमा किटानी जाहेरी दिएका थिए। प्रहरीले सातै जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो।
तर, जिल्ला अदालत कैलालीको आदेशपछि उनीहरू जनही एक लाख १० हजार रुपैयाँ धरौटीमा रिहा भएका छन्।
आरोपितहरू रिहा भएको जानकारी आफूहरूले आमाको क्रियाकर्मका क्रममा मात्र पाएको भन्दै परिवारले गम्भीर असन्तुष्टि जनाएको छ। उनीहरूले अनुसन्धान हतारमा टुंग्याइएको र दोषीलाई उन्मुक्ति दिने प्रयास भएको आशंका व्यक्त गरेका छन्।
‘हत्याका घटनामा सामान्यतया लामो अनुसन्धान हुने गर्छ। तर हाम्रो मुद्दामा १३ दिनमै अनुसन्धान सकेर आरोपितलाई धरौटीमा छाडियो,’ मृतकका श्रीमान् राजेन्द्र चौधरीले भने, ‘हामीलाई निष्पक्ष न्याय चाहिएको हो।’
प्रहरीको भनाइ : अनुसन्धान प्रक्रिया कानुनअनुसार
इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायब उपरीक्षक हिरा सिंह महराले भने पीडित पक्षले लगाएको आरोप अस्वीकार गरेका छन्।
उनका अनुसार घटनामा एक जना नाबालक पनि संलग्न रहेकाले कानुनी समयसीमाभित्र अनुसन्धान पूरा गरी सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाइएको हो।
डीएसपी महराले पोस्टमार्टम प्रतिवेदनमा कुटपिटकै कारण मृत्यु भएको स्पष्ट नखुलेको र भिसेरा परीक्षणको रिपोर्ट आउन बाँकी रहेको बताए। उनका अनुसार भिसेरा परीक्षणका लागि नमुना नेपालगञ्ज पठाइएको छ।
उनले उपलब्ध भिडियोमा महिलालाई लछारपछार गरिएको देखिए पनि कुटपिटको विषय अनुसन्धानकै क्रममा मूल्याङ्कन गरिएको बताए।
अदालतको आदेश
जिल्ला अदालत कैलालीका न्यायाधीश भुवनसिंह थापाको इजलासले साउन १२ गते थुनछेक बहसपछि सातै जनालाई जनही एक लाख १० हजार रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको थियो।
यता, पीडित परिवारले भने घटनाको निष्पक्ष अनुसन्धान, भिसेरा परीक्षणको प्रतिवेदन सार्वजनिक गरी दोषीमाथि कानुनबमोजिम कारबाही गर्न सम्बन्धित निकायसँग पुनः माग गरेको छ।
प्रकाशित: १७ श्रावण २०८३ १७:१४ आइतबार





