२१ श्रावण २०८३ बिहीबार
image/svg+xml
राजनीति

धार्मिक समूहसँग सरकारको वार्ता नाटक भन्दै वार्ताकारको परिचय खुलाउन एमाले सचिव बस्नेतको सुझाव

नेकपा (एमाले) का सचिव महेश बस्नेतले धार्मिक सद्भावको नाममा राजनीतिक स्वार्थ पूरा गर्न खोजेको भन्दै धार्मिक अगुवाहरूको वास्तविक परिचय सार्वजनिक गर्न माग गरेका छन्। 

उनले आफ्नै पार्टीका कार्यकर्तालाई धार्मिक समूहको प्रतिनिधिका रूपमा प्रस्तुत गरेर सरकारसँग वार्ता गराउने कार्य राजनीतिक नाटक भएको बताएका छन्। वार्तामा सहभागी भएका धार्मिक अगुवाहरू रास्वपासँग प्रत्यक्ष आबद्ध रहेको विषय सार्वजनिक भएपछि त्यसबारे प्रश्न उठ्नु स्वाभाविक भएको बताएका छन्। 

बस्नेतले धार्मिक संवेदनशीलतालाई राजनीतिक छवि निर्माणको माध्यम बनाउन नहुने र जनताको भावनामाथि खेल्ने, समाजलाई तनावतर्फ धकेल्दै आफैं शान्तिको श्रेय लिन खोज्ने प्रवृत्तिले मुलुकलाई थप विभाजित बनाउने बताएका छन्। 

उनले वार्तामा को–को सहभागी थिए, उनीहरूको वास्तविक परिचय के थियो र कुन हैसियतमा उनीहरूलाई प्रतिनिधित्व गराइएको थियो सार्वजनिक गर्न माग गरे। 

‘धर्म र आस्थालाई राजनीतिक स्टन्ट बनाउने काम तत्काल बन्द हुनुपर्छ। नेपाली जनताले नाटक होइन, इमानदार नेतृत्व, पारदर्शिता र वास्तविक सामाजिक सद्भाव चाहेका छन्,’ बस्नेतले सामाजिक सञ्जालमा लेखेका छन्। 

यसअघि रास्वपाका नेता तथा सांसद मनिष झाले सरकारसँग भएको वार्तामा सहभागी एक व्यक्ति रास्वपाको सदस्य भए पनि हिन्दूवादी अभियन्ताका रूपमा सहभागी हुनु उनको व्यक्तिगत स्वतन्त्रता भएको बताएका थिए। 

प्रकाशित: १७ श्रावण २०८३ १७:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App