२१ श्रावण २०८३ बिहीबार
image/svg+xml
कला/साहित्य

कवितासङ्ग्रह ‘द काष्ट अफ फ्लावर्स’ बजारमा

कवि सुशान्त विकद्वारा रचित दलित समुदायको भोगाइ समेटिएको अङ्ग्रेजी भाषाको कवितासङ्ग्रह ‘द काष्ट अफ फ्लावर्स’ बजारमा आएको छ।

भारतको बुक प्रेसले हालै प्रकाशन गरेको उक्त कवितासङ्ग्रह बजारमा आएको हो। ‘एमेजोन अनलाइन पोर्टल’मा राखिएको विकका १०८ पृष्ठको उक्त सङ्ग्रहमा ६२ कविता छन्।

गुलरियाका विकले लामो समयदेखि अङ्ग्रेजीमा कविता लेख्दै आएका छन्। अङ्ग्रेजी भाषामा तुलनात्मक रूपमा कम मात्रामा रचना कोरिने गरिन्छ। उनका कविता र लेखहरू राष्ट्रिय तथा अन्तरराष्ट्रिय सङ्ग्रह, पत्रपत्रिका र ‘अनलाइन’ माध्यमहरूमा प्रकाशित छन्। ‘प्यान्डामिक पोयट्री’, ‘हाइपरपोयम’, र ड्युयट्स अफ प्लुरल डुओ—लर्स’ नामक अन्तरराष्ट्रिय कवितासङ्ग्रहमा उनले लेखेका कविताहरू पनि समावेश छन्।

विक कवितालाई मौन आवाजहरूको प्रतिबिम्बका रूपमा लिने गरेको बताउँछन्। त्यसैले उनले आफ्न सिर्जनामा मौन र उपेक्षितहरूको आवाज उजागर गर्ने प्रयत्न गरेको बताए। “दलित समुदायले भोग्नुपरेको सामाजिक यथार्थ यस पुस्तकमा चित्रित गरिएको छ र यसको समग्र सन्देश पुनर्जागरण तथा रूपान्तरण हो”, विकले भने।

कवि विकले आफ्ना रचनामा राज्यले दलित समुदायमाथि थोपरेको विभेद र त्यसको चपेटामा उक्त समुदायले भोग्नुपरेको परिणामलाई मानवीय संवेदनाको दृष्टि राखेर कविता रचेको बताए। सरकारले नीति र संरचना बनाएर दलितमाथि अपमाजनक व्यवहार गरेकामा कवितामार्फत उनले आलोचना गरेका छन्।

उनी भन्छन्, “मेरो कविताले सीमान्तकृत समुदायको पीडा उजागर गर्नाका साथै सामाजिक न्यायको पक्षमा समेत वकालत गरेको छ।”

उनले समाजको बेथितिलाई रचनात्मक ढङ्गले निरुत्साहित गर्न कविता सुन्दर माध्यम हुने गरेको धारणा राखे।

प्रकाशित: ३ जेष्ठ २०८३ १२:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App