१६ फाल्गुन २०८२ शनिबार
image/svg+xml
कला/साहित्य

देवघाटमा ‘परमानन्द काव्य-सरिता’ तथा ‘उल्टो टोपी’ नाटक प्रदर्शन

तनहुँको देवघाटस्थित परमानन्द गुरुकुलम्ले हरेक वर्ष आयोजना गर्दै आएको ‘परमानन्द काव्य-सरिता’ को १७ औँ शृङ्खला भव्यताका साथ भएको छ।

गुरुकुलका प्राचार्य सचिदानन्द सरस्वतीको सभाध्यक्षता र नेपाल प्रज्ञाप्रतिष्ठानका पूर्व प्राज्ञ परिषद् सदस्य, वरिष्ठ कवि तथा समालोचक प्राडा देवी नेपालको प्रमुख आतिथ्यमा कार्यक्रम भएकाे हाे।

साँझको आठ बजेदेखि रातको साढे एक बजेसम्म भएकाे उक्त समारोहमा स्वामी ज्ञानानन्द सरस्वती, विवेकानन्द सरस्वती जस्ता विशिष्ट सन्त, महन्त र स्वामीहरू र देशका ख्यातिप्राप्त कवि तथा नवकविहरूको उपस्थिति रहेको थियो।

ब्रह्मलीन स्वामी परमानन्द गुरुको २९ औं स्मृति दिवसको पूर्वसन्ध्यामा आयोजना भएको र स्वामी स्वरूपानन्द सरस्वतीज्यूको कविता वाचनबाट शुभारम्भ भएको उक्त कवितामय कार्यक्रममा भरतपुर प्रज्ञाप्रतिष्ठानका सदस्य सचिव बालकृष्ण थपलिया, ललितकला क्याम्पस, काठमाडौंका सहायक क्याम्पस प्रमुख कृष्णकुमार खरेल, लाेकप्रिय युवाकविहरू पुरुषोत्तम आचार्य, केशव भट्टराई, उत्तम विचार भेटवाल र मनोज भण्डारीले आआफ्ना सिर्जना प्रस्तुत गरेका थिए।

उक्त कार्यक्रममा कविराज खनाल, नवराज पाण्डे, कृष्णप्रसाद पाण्डेय, विपिन ढकाल, सुरभि भट्टराई, विष्णु काफ्ले, सन्दीप भट्टराई, सन्तोष बस्याल, प्रवीण काफ्ले, अङ्कित पाण्डे, प्रकृतिप्रेमी, राधिका लम्साल, चेतराज कँडेल र अनमोल खनाल आआफ्ना सिर्जना प्रस्तुत गरेका थिए।

चार घण्टे काव्यसरिता कार्यक्रममा नीलकण्ठ लम्साल, प्रमिसा लामिछाने, सङ्गम बस्याल, सङ्गम रायमाझी, एस.आर दुवाडी, रोहन खनाल, किरण भण्डारी, अविनाश पौडेल, प्रदीप कोइराला, प्रसिद्ध घिमिरे, नवीना भट्टराई, निशान रिजाल, सौरभ बस्याल, मुकेश खनाल, आदित्य भण्डारी र चन्द्रकान्त खनालले पनि नेपाली र संस्कृत भाषामा कविता, गीत र गजलहरू प्रस्तुत गरेका थिए।

कार्यक्रमका प्रमुख अतिथि प्राडा देवी नेपालले आफ्नो मन्तव्य राख्दै देवघाटका नवकविहरूको लेखनले अग्रज कविहरूलाई पराजित गरेको र नयाँ पुस्ताबाट आफू हार्न पाएकामा गौरवान्वित भएको बताए।

उनले संस्कृत साहित्यको विराट छन्दपरम्परालाई संस्कृतपछिका भारोपेली परिवारका हिन्दी, मैथिली, भोजपुरी, अवधी आदि भाषाले र भोटबर्मेली परिवारको नेपाल भाषाले सुरुसुरुमा सफल र सबल रूपमा प्रयोग गरे पनि वर्तमानमा शून्यप्रायः हुँदै गएको अवस्था स्मरण गर्दै नेपाली भाषामा चाहिँ हालसम्ममा चार सयभन्दा बढी छन्द सफल रूपमा प्रयोग भइरहेका हुनाले अब शास्त्रीय छन्द बचाउने, विकास, विस्तार र मानकीकरण गर्ने एक मात्र जिम्मा नेपाली भाषाले पाएको अवधारणा प्रस्तुत गरे। उनले वाचित ३६ कविका ३६ कविताको त्यही छन्द, त्यही भाषा र त्यही शैलीमा प्रतिक्रिया दिँदा काव्यगोष्ठी झन् रोमाञ्चक बनेको थियो।

प्रखर युवाकवि गोविन्दगोपाल खतिवडाको काव्यिक सञ्चालन र छात्र कल्याण परिषद्का अध्यक्ष कृष्णप्रसाद भण्डारीको स्वागत मन्तव्यबाट सुरु भएको उक्त काव्यसरिताको उत्तरार्धमा गुरुकुलका विद्यार्थीहरूकै लेखन, निर्देशन र अभिनयमा नेपालको वर्तमान राजनीतिक तथा सामाजिक अवस्था द्योतन गर्ने ‘उल्टो टोपी’ नाटक पनि प्रदर्शन गरिएको थियो।

गुरुकुलका प्रमुख संरक्षक ज्ञानानन्द सरस्वती र विद्यापीठका प्राचार्य सचिदानन्द सरस्वतीले समग्र कार्यक्रमको समीक्षा गर्दै यस वर्षको काव्यसरिता विशेष भएको र सिर्जनशील नवपुस्तालाई सिर्जनात्मक मार्गमा लाग्न उत्प्रेरित गर्न यस्ता कार्यक्रमहरू गुरुकुलले निरन्तर गरिरहने प्रतिबद्धता व्यक्त गरे।    

प्रकाशित: ३० पुस २०८२ १३:३१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App