फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै जिल्लामा ड्रोन प्रयोगमा रोक लगाइएको छ।
सहायक प्रमुख जिल्ला अधिकारी मोहनचन्द्र जोशीका अनुसार कुनै व्यक्ति वा निकायले अनुमति लिई सञ्चालनमा रहेका ड्रोन यही फागुन १८ गतेदेखि निर्वाचन प्रक्रिया सम्पन्न नहुँदासम्म प्रयोग गर्न नपाइने भएको छ। नियम विपरीत ड्रोन उडाएको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही हुने उनले उल्लेख गरे।
निर्वाचन हुनुभन्दा तीन दिन अगाडिदेखि निर्वाचन सम्पन्न नहुदासम्म ड्रोनको प्रयोगमा पूर्णरूपमा रोक लगाइएको उनको भनाइ रहेको छ।
यसैगरी, जिल्ला सुरक्षा समितिको निर्णयअनुसार निर्वाचन अवधिभर कञ्चनपुरमा मदिरा बिक्री, वितरण तथा सेवनमा पूर्णप्रतिबन्ध लगाइएको छ। प्रतिबन्ध उल्लङ्घन गरेमा कानुनअनुसार कारबाही हुने प्रशासनले जनाएको छ।
निर्वाचनका क्रममा शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम राख्ने उद्देश्यले निर्णय गरिएको जनाउँदै जिल्ला प्रशासन कार्यालयले होटल व्यवसायी, राजनीतिक दल, नागरिक समाज र सर्वसाधारणलाई सहयोग गर्न आग्रह गरेको छ।
प्रकाशित: १६ फाल्गुन २०८२ ०६:५५ शनिबार





