कर्णालीका अति दुर्गम हिमाली जिल्लाका केही बस्तीलाई लक्षित गरि फागुन २१ को प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि मतपेटिका पुर्याइएको छ ।
भौगोलिक विकटता, मौसमको प्रतिकूलता र पूर्वाधारको अभावका बाबजुद नेपाली सेनाको हेलिकप्टर प्रयोग गरी निर्वाचन सामग्री र कर्मचारी पुर्याउने काम सुरु गरिएको हो।
कर्णाली प्रदेशका हिमाली जिल्ला हुम्ला र डोल्पाका चार स्थानीय तहमा रहेका २७ मतदान स्थलमा शनिबारदेखि हेलिकप्टरमार्फत सामग्री ढुवानी र कर्मचारी परिचालन थालिएको छ। जिल्ला प्रशासन कार्यालयको निर्णय र मागका आधारमा नेपाली सेनाले निर्वाचनको जिम्मेवारी दुर्गम भूगोलसम्म पुर्याएको हो।
यी मतदान स्थलहरू सडक सञ्जालबाट टाढा छन्। कतिपय स्थानमा हिँडेरै पुग्न पनि जोखिमपूर्ण अवस्था छ। पछिल्लो समय परेको बाक्लो हिउँले पैदल मार्गसमेत अवरुद्ध भएपछि निर्वाचनको लागि हेलिकप्टर नै एकमात्र विकल्प बनेको छ।डोल्पाको डोल्पोबुद्ध गाउँपालिका र छार्काताङसोङ गाउँपालिकामा ६-६ र शेफोक्सुण्डो गाउँपालिकामा ११ मतदान स्थल रहेका छन्।
यस्तै हुम्लाको नाम्खा गाउँपालिकामा ४ मतदान स्थलमा हेलिकप्टर प्रयोग गर्ने निर्णय गरिएको हुम्लाका प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीले बताए। नाम्खा गाउँपालिकाका हिमशिखर आधारभूत विद्यालय तिल, हिमाल आधारभूत विद्यालय चाला, भृकुटी आधारभूत विद्यालय जाङ्ग र सुनखानी आधारभूत विद्यालय हल्जीमा रहेका मतदान स्थलमा हिउँ जमेकाले निर्वाचन सामग्री ढुवानी र कर्मचारी आवागमन अत्यन्त चुनौतीपूर्ण बनेको छ।
'पछिल्लो समय परेको हिउँले सडक पूर्ण रूपमा अवरुद्ध भएको छ,' प्रमुख जिल्ला अधिकारी रेग्मीले भने, 'मतदान रोक्नुभन्दा हेलिकप्टर प्रयोग गरेर भए पनि निर्वाचन गराउनु राज्यको दायित्व हो।'
डोल्पाका उच्च हिमाली बस्तीमा पनि अवस्था उस्तै छ। प्रमुख जिल्ला अधिकारी जुनु हमालका अनुसार दुर्गम भेगमा निर्वाचन गराउनु प्रशासनिक काम मात्र नभई भौगोलिक जोखिमसँग जुध्नुजस्तै हो। 'जमेको हिउँ अझै नपग्लिएकाले कर्मचारी पुर्याउन र फर्काउन हेलिकप्टर अनिवार्य भएको छ,' उनले भनिन्, 'यहाँका २३ वटै मतदान स्थलमा कर्मचारी खटाउने र सामग्री पठाउने काम सुरु भइसकेको छ।'
छार्काताङसोङ गाउँपालिकाका ढाँडगाउँ, लुङ्गाबगर, छार्का, घेराङ्ग, कागकोट, मुकोट र पुङ्गाबगर मतदान स्थलमा पुग्न पैदल यात्रा समेत कठिन छ। यस्तै डोल्पोबुद्ध गाउँपालिकाका धो, कलाङ, ताक्सी, तिन्जे, पोल्दै र सिमेन तथा शेफोक्सुण्डो गाउँपालिकाका भिजेर, सालदाङ, कोमास, निसाल, कराङ, धुङदार, फोतगाउँ, कुगाउँ, साइजल, रिग्मो र पुग्मोमा रहेका मतदान स्थलमा पनि हेलिकप्टर प्रयोग गरिने भएको छ।यता डोल्पामा कुल २४ हजार एक सय १५ मतदाता छन्।
जसमध्ये ११ हजार नौ सय २८ पुरुष र १२ हजार एक सय ८७ महिला मतदाता छन्। जिल्लामा ६८ मतदान स्थल र ६८ मतदान केन्द्र छन्।त्यसैगरी हुम्लामा ३४ हजार तीन सय ७२ मतदाता छन्। तीमध्ये १८ हजार २१ पुरुष र १६ हजार तीन सय ५१ महिला मतदाता छन्।
हुम्लामा ६० मतदान स्थल र ६४ मतदान केन्द्र रहेका छन्। जहाँ राज्यका अन्य सेवा पुग्न कठिन छ, त्यहीँ चुनाव पुर्याउनु लोकतन्त्रको सबैभन्दा कठिन परीक्षा हो। कर्णालीका हिमाली गाउँमा हेलिकप्टरको आवाजसँगै पुगेका मतपेटिका र कर्मचारीले यही सन्देश बोकेका छन्। दुर्गम भए पनि नागरिकको मताधिकारबाट राज्य पछि हट्दैन।
प्रकाशित: १६ फाल्गुन २०८२ १९:०५ शनिबार


-600x400.jpg)


-600x400.jpg)