शान्त शान्त शान्त
कसले भन्यो को कसको मालिक हो
यहाँ आफैँले आफैँलाई चट्रयाङझैँ गर्जिएर
स्वघोषणा गरेका छन्
पृथ्वीको मालिक हो अमेरिका
दक्षिण एसियाको मालिक हो भारत
यो क्रम देश, प्रदेश, जिल्ला, सहर, गाउँ हुँदै
एउटा सामान्य घरभित्र पुगेर हेर्दा
भन्दोरहेछ एउटा पुरुषले
यो "घरको मालिक म हुँ"
यहाँ आत्मसम्मानको बर्को ओढेर
बाँचेको छु भनी देखाउन
मान्छेले केसम्म गर्नुपर्दो रहेछ हेर न
एउटा घरभित्रकै उदाहरण
गल्लीको कुकुरलाई समेत नभएको छेकबार
जाबो एक छाक खान र एक झोका श्वास फेर्नलाई
पत्नीले घरको मालिक आफ्नै पतिलाई
कतिसम्म लच्किएर
जी हजुरी गरिरहेकी हुन्छे
ठीक यसैगरी
गाउँले सहरलाई
सहरले जिल्लालाई
गर्दैगर्दै
भारतले अमेरिकालाई।
प्रकाशित: ६ असार २०८३ ०६:३२ शनिबार





