५ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
कला/साहित्य

ओस्कर विजेता हलिउड अभिनेताको निधन

ओस्कर विजेता अभिनेता रोबर्ट डुभलको ९५ वर्षको उमेरमा निधन भएको छ। उनको आइतबार भर्जिनियाको मिडलबर्गस्थित आफ्नै घरमा निधन भएको उनकी श्रीमती लुसियानाको तर्फबाट जारी विज्ञप्तिमा उल्लेख छ।

छ दशक लामो फिल्म करियरमा ‘द गडफादर’, ‘एपोक्यालिप्स नाउ’ लगायतका चर्चित चलचित्रमा शक्तिशाली भूमिका निर्वाह गरेका डुभल ओस्कर विजेता तथा छ पटक मनोनयनमा परेका थिए। उनकी श्रीमती लुसियाना डुभलले भनेकी छन्, ‘आइतबार हामीले मेरा प्रिय पति, साथी र हाम्रो समयका एक महान अभिनेता रोबर्ट डुभललाई गुमायौं।’

‘द गडफादर’ मा कोर्लियोन परिवारका सल्लाहकार टम हेगेनको भूमिकाले उनलाई ठूलो चर्चा दिलाएको थियो। फ्रान्सिस फोर्ड कोपोलाको यो फिल्मबाट उनले पहिलो एकेडेमी अवार्ड मनोनयन पाएका थिए। दुई वर्षपछि ‘द गडफादर पार्ट टु’ मा पनि उनले सोही भूमिका दोहोर्‍याए। तर पारिश्रमिक विवादका कारण तेस्रो भागमा भने देखिएनन्।

जनवरी ५, १९३१ मा अमेरिकाको क्यालिफोर्नियाको सान डिएगोमा जन्मेका डुभलले बाल्यकालको अधिकांश समय मेरील्याण्डको अन्नापोलिसमा बिताए। उनका बुबा पेशेवर नौसेना अधिकारी थिए। हलिउडका सम्मानित अभिनेताहरूमध्ये एक मानिने डुभलले काउब्वायदेखि सैन्य भूमिकासम्म विभिन्न चरित्रमा देखिएका थिए। 

प्रकाशित: ५ फाल्गुन २०८२ ०९:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App