‘‘चुनावको कुरा नगर। मेरो टाउको दुख्छ।” मेरिनाले झर्किँदै रुष्मालाई जवाफ फर्काई।
‘‘आफ्नो मताधिकार प्रयोग गर्ने कुरामा किन हेल्चेक्याइँ गर्ने? एकपटक ठण्डा दिमागले सोच है मेरिना।” रुष्माले मेरिनालाई सम्झाउने प्रयत्न गरी।
मेरिना र रुष्मा राजनीतिशास्त्रका स्नातक तहका विद्यार्थी हुन्। उनीहरू राजनीति र मतदानबारे लामै बहस गर्न सक्छन्। संवैधानिक हकका विषयमा उनीहरू जानकार छन्। रुष्मा संवैधानिक हकको उपयोग गर्ने कुरामा जोड दिन्छे। मेरिना संविधान र मौलिक हक कागजी खोष्टो मात्र हो भन्ने प्रतिक्रिया व्यक्त गर्छे।
मेरिनालाई लाग्छ, यो व्यवस्थै ठिक छैन। संविधानप्रदत्त अधिकार नागरिकले उपयोग गर्न पाएका छैनन्। राजनीति ठगीखाने भाँडो भएको छ। भ्रष्टाचार र कमिसन मौलाउँदो छ। भ्रष्टहरूको बोलवाला छ। सर्वसाधारण घुन पिसिए जस्तो पिसिएका पिसियै छन्।
मतदान गरेर गद्धारहरूलाई किन अनुमोदित गर्ने? राष्ट्रघातीहरूलाई किन संसदमा पठाउने? चिल्लो गाडी चढ्न र भत्ताखानबाहेक जनहितका काम नै के गरेका छन र? नातावाद, कृपावाद र परिवारवादमा निर्लिप्त भै नेताहरू सिद्धान्तच्यूत भएका छन्।
सिद्धान्तहीन जत्थाले न कानुन बनाउनै सक्छ न सुशासन नै दिन सक्छ। वषौं वर्ष एउटै पात्र किन दोहोर्याउने? के पार्टीमा नयाँ र योग्य सदस्य छैनन्? नयाँलाई अवसरबाट वञ्चित गरिएको छ। भाट र दास मनोवृत्ति भएकाहरूको कायापलट नगरेसम्म चुनावको कुनै तुक हुँदैन।
हामी राजनैतिक पाखण्डीपनको शिकार भएका छौं। व्यवस्था परिवर्तन भए पनि जनताको अवस्थामा परिवर्तन आउन सकेन। राजनीतिप्रति जनताकाे वितृष्णा बढ्दै छ। नेताप्रति जनआक्रोश बढिरहेको छ। मतदान गर्नु अधिकार हैन अभिशाप सावित भएको छ।
मतदानपूर्व त्यस्ताहरूबारे सही निर्णय लिने हो कि? मतदान किन गर्ने? मत बहिष्कार आजको सान्दर्भिक विषय हाे कि नाइँ?
प्रकाशित: १४ फाल्गुन २०८२ १२:२६ बिहीबार





