१३ पुस २०८२ आइतबार
image/svg+xml
कला/साहित्य

निरुपाय पछुतो

स्मृति

‘अहिले आउनु नै थियो, एक साताअघि किन आइनँ म? किन अलिकति चाँडो आउन सकिनँ?’

विदेशमा बस्ने एक मात्र अविवाहित छोरीले मानिरहने थकथकी हो यो। सान्त्वनाका कस्तै शब्दले पनि उनको मन बाँध्न सघाएन। उनलाई राम्रै थाहा थियो कि २०१९ मा नै निदान भइसकेको उनका बुबाको पित्तथैलीको क्यान्सर मेटस्टासिस हुन थालिसकेको थियो। किमो चलाएर, अपरेसन गरेर पनि केही सिप लाग्नेवाला थिएन तर शरीरभित्र असाध्यै रोगले जरा गाडिसकेको भए पनि बाहिरबाट हेर्दा बुबा सरसराउँदो नै देखिन्थे।

धेरै अघिदेखि छोरी विदेशमा काम गर्थिन्। केही वर्षअघि आमा बिमार हुँदा स्वेस आएकी उनी आमा क्यान्सरको लामो पीडा सहने क्रममा बितेपछि बासँग पाँच वर्ष बसिन्। केही समयपछि बुबालाई पनि त्यस्तै रोग लागेको थाहा भयो। बेचेर खनखनी पैसा गन्ने सम्पत्ति केही नहुनाले उनी यहीं बसिरहन नसक्ने भइन्। रोगी ज्यानका बुबाकै जीवन सहज बनाउन पनि उनले विदेशको पुरानो जागिरमा फर्कनै पर्‍यो। परिवारमा कोही थिएन, बुबालाई हेरविचार गर्ने र समयमा दबाईपानी दिने।

त्यस्तैमा उनले काठमाडौं, हात्तीगौंडामा अवस्थित ‘बिसौन सेवा गृह’बारे चाल पाइन्, जहाँ आफ्ना प्याराहरूलाई आफूले ख्याल गर्न नसक्ने परिस्थितिमा त्यहाँ बस्ने आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीलाई भरपर्दो हेरचाह र सेवा गर्ने गरिन्छ अनि उनले यस सेवा प्रदायक संस्थामा आएर सोधखोज गरिन्। यहाँ बसिरहेका आमाबुबालाई पनि भेटिन् र कुराकानी गरिन्। बिसौनीकी संस्थापक अध्यक्षसँगको कुराकानीपछि ढुक्क भएर उनले बुबालाई यहाँ राखिन्। अनि आफू विदेश गइन्।

बुबा निकै सोझा, कान अलि कम सुन्ने। रोगबारे केही बताइएको थिएन उनलाई। घरमा रेखदेख गर्ने, साथमा रहने साथी कोही नहुने र खर्चपानीका लागि आफू विदेश लाग्नैपर्ने भएकाले बुबालाई यहाँ बिसौनीमा राखेको भनेर सम्झाएकी थिइन् छोरीले। बुबाले खाने ओखतीहरू डाइबिटिज र तन्दुरुस्तीका लागि भिटामिन हुन् भनिएको थियो तर पनि उपाय नास्ती अवस्थामा बुबाले मनलागी खाऊन् र रमाएर बसून् भन्ने ध्येय थियो छोरीको।

सुरुसुरुमा त्यति बोल्दैनथे बुबा, गुमसुम रहन्थे। सायद पत्नी वियोग र आफ्नो घर छाडेर आएकाले हुनसक्छ। छोरी त विदेश गइरहने नै हुन्। छोरी छोडेर गई भन्ने दुखेसो त होइन होला । बुबा खानपिनपछि सुतेर ट्याबलेटमा मन लागेका कुरा हेरिबस्न रुचाउँथे।

रहँदाबस्दा बिस्तारै खुल्न थाले उनी। बिसौनीका सबैलाई चिन्दै गएपछि आफूलाई माया गरेको महसुस हुन थालेपछि ‘ए! यिनारु त आफ्नै रछन्’ जस्तो लाग्यो होला बुबालाई। अनि त सबैसँग बोल्ने हाँस्ने गर्न थाले। छोरीसँग फोनमा बोलेर खुसी हुने। मनले मागेको खानेकुराको फर्माइस गरेर किचनमा गएर बनाउन लगाउने र स्वादले खाने। ममका भोगी उनी, ज्यादाजसो त्यही खान मन पराउने। बेला बेला बाहरूलाई नजिकका मन्दिरमा घुमाउन पनि लगिन्थ्यो।

पछिपछि त, ठुलो बैठक हलमा कहिलेकाहीं बिसौनीका स्टाफहरूले नाचगान गर्दा थपडी बजाउने दर्शक आमाबुबाहरूमध्ये यस आलेखका मुख्य पात्र बुबा सबैभन्दा बढी आनन्दित हुन्थे। फराकिलो आँगनमा घाम ताप्दै अरू बुबाहरू र बिसौनीका सदस्यसँग लन चेयरमा बसेर लुडो पनि जमेर खेल्थे उनी। जित्दाखेरि थपडी बजाउँदै मज्जा मानेर हाँस्थे र बिचबिचमा ल्याइएका त्यहीं फलेका मिठा लताम र हलुवावेदको स्वाद पनि लिन्थे। लुडो खेल्नमा यति मग्न कि झमक्क साँझ परेपछि ‘अब खेल्ने काम बन्द’ भन्दा खिस्रिक्क पर्थे बुबा। ‘भोलि खेल्ने नि फेरि’ भन्दै सम्झाएर भित्र लैजानुपथ्र्यो उनलाई।

बुबाले खुसी भएर खाना खाएको, नाच हेरेर थपडी बजाएको, अन्य बुबाहरू पनि नाच्दा थम्स अप देखाको, लुँडो खेलेर रमाएको र मन्दिरहरूमा जाँदा उल्लासित भएको फोटो–भिडियोहरू पठाइदिँदा खुसीले रुन्थिन् बुबाकी छोरी। खुसीसँगै ढुक्क पनि थिइन् उनी कि बुबाका दिनहरू बडो आनन्दमय गुज्रिरहेका छन्।

   ०००

पुस १७ गते (२०२६ जनवरी १), मेरी मुमाको पाँचौं पुण्यतिथि।

सन् २०२१ न्यु इयरका दिन उहाँ कहिल्यै नफर्कने गरी जानुभयो। ती दिनहरूमा हामी आमाछोरी नै खाटमा लडिरहन्थ्यौं। छातीको टिबी, निमोनिया र ब्रोंकाइटिसले गाँजेर पचपन्न केजीकी म उनन्चालिस केजीमा झरेकी थिएँ। हिँड्नु त के उठेर बस्न पनि सक्दिनथेँ। दीर्घरोगी मुमाको चाहिँ घुँडा दुखाइ, दम र खान मनै नहुने व्यथा एकदम बढेको थियो।

टिबीको दबाई खान थालेपति आफ्नो कोठाबाट बाहिर निस्किनँ तर मैले कोठामा बोलेको कसैले सुन्दैनथे। खै, कसले दिएर हो, त्यसबेला मैले एउटा सिन्थेटिक टोय भेटेकी थिएँ– मृगको सानो रातो पाठो, जसलाई निचर्दा तिखो आवाजमा ‘हुँहुँ’ कराउँथ्यो। मचाहिँ ‘मुमा’ सुन्थेँ। काम पर्दा त्यसैलाई बजाउथेँ, अनि कोही आउँथे म नजिक। घरमा मुमा र म मात्र भएको बेला त्यो करायो भने मुमाले सोध्नुहुन्थ्यो, ‘के चाइयो, मैयाँ?’

मैले ‘यो चाइयो’ भनेर पनि काम थिएन किनकि मुमाले सुन्नु नै हुन्नथ्यो मैले सासले बोलेको। तीन महिनापछि मेरो खकार जाँचमा टिबी निगेटिभ देखियो। अनि आफ्नो कोठा छाडेर ड्राइङ रुममा मुमाको बेडनजिकको काउचमा सुत्न थालेँ। स्वरचाहिँ अलिअलि सुन्न सकिने भएको थियो। क्याथेटर र डाइपरमा आश्रित म घरिघरि विस्मृतिमा हराउने गर्थें र सहयोगी बहिनीलाई भन्थेँ, ‘मलाई बाथरुम लैजाउ।’ उनले क्याथेटरको झोला देखाइदिएपछि बल्ल चाल पाउँथेँ, बाथरुम जाने जरुरतै रहेनछ।

जसोतसो सबैथोक चलिराखेको थियो तर मुमाले साँझ पिउने रक्सीको मात्रा दिन प्रतिदिन बढ्दै गइरहेको थियो। ग्यास्ट्राइटिसको औषधी खानुहुन्थ्यो किनकि घाँटी र छाती पोल्थ्यो उहाँलाई। खाना चराको आहाराजस्तो अनि कमजोर ज्यानले थेग्न नसक्नेगरी रक्सी खानुपर्ने? पहिल्यैदेखि खाइरहनुभएको दमको दबाईले पनि कहिलेकाहिँ त काम नगरेर स्वाँ स्वाँ यस्तो बढ्थ्यो कि कुन बेला सासको डोरी चुट्टिने हो जस्तोसम्म हुन्थ्यो। अनि एसओएस दिने अर्को कडा ओखती दिनुपर्थ्याे। अनि? अनि म रुन्थेँ, कराउँथेँ र बाझ्थेँ उहाँसँग। सानो गिलासको एक गिलास रुटिन डोजले पनि नपुगेर अझ थपिमाग्नु हुन्थ्यो। नदिएपछि हामीलाई सुनाउनुहुन्थ्यो, ‘हामी त माछापुच्छ्रे हिमालमुन्तिर मर्दी खोला किनारको ऊन बेचेर सुन लाउने लामा गुरुङ हो। आमाले रक्सी पारेर चाख्दा हामीलाई नि मुखमा पुच्च पुच्च हाल्दिन्थ्यो। केटाकेटीदेखि खाको रक्सीले आइले के बिगार गर्छ? नचाइने कुरा।’

अझै पनि हामीले चासो नदिएपछि फेरि भन्नुहुन्थ्यो, ‘याँ मान्छेहरू धेर पढेर, जान्नेसुन्ने भएर के गर्नु? नानीदेखिको बानी छुटाइहाल् भन्छ। कुरा बुझे पो!’

‘कल्ले कुरा बुझेन आमा?’ सहयोगी बहिनी सोध्थिन्।

‘त्यै कल्पना बान्तावा भन्नेले।’

म हाँस्थेँ तर पनि रात परेपछि रक्सी दिइरहन सक्दिनथेँ। धेरै रक्सी खाएर मुमाको स्वास्थ्य झन् बिग्रेला भन्ने चिन्ताले सताउँथ्यो मलाई। बरु रात कहिल्यै नपरिदिए हुन्थ्यो जस्तो लाग्थ्यो।

कसै गर्दा पनि मुमालाई सम्झाउन नसकेपछि मैले जानेको अन्तिम शाब्दिक क्षेप्यास्त्र हान्थेँ, ‘यस्तो जिद्दी गर्ने भए म याँ सुत्दिनँ, मेरै कोठामा जान्छु।’

‘कसरी जान्छौ? याँ म भए ठाउँ त आउन सक्तैनौ?’ मुमा हाँस्नुहुन्थ्यो।

‘बहिनीले लग्दिहाल्छिन् नि!’

यतिका भनाभनपछि गिलासको पिँधदेखि थोरै माथिसम्म रक्सी दिएर आमाछोरीको ‘सिज फायर’ हुन्थ्यो त्यो रात।

यसरी नै अझ केही रात बिते। मुमाको खुराकमा बढोत्तरी थिएन, छातीको जलन उस्तै थियो। ग्यास्ट्राइटिसको चक्की र झोल दबाईको अटुट सेवनले पनि बिसको उन्नाइस भएको थिएन। चिनजानका जुनियर डाक्टरलाई फोन गरेर एक पल्ट आएर मुमालाई हेरिदिन अनुरोध गरेँ। कोभिड महामारीमा आमालाई अस्पताल नल्याउन सुझाउँथे साथीहरू।

यस्तैमा एक रात, अत्ति गर्नु भएपछि भनें, ‘मुमा, अबदेखि तपाईं एक्लै सुत्नु याँ, म कोठामा गएँ।’

केहीबेर त मुमा चुपै बस्नुभयो। सायद छोरीले घुर्काएकी होली, एकछिनपछि आइहाल्छे भन्ठान्नुभयो तर म गइनँ। सुतेँ।

‘मैयाँ, यहाँ आऊ बाबु। म केही भन्दिनँ। यहीं सुत। आमाको कुरा मनमा नलेऊ, मैयाँ!’

यी हरफहरू मुमाले कति पटक दोहोर्‍याएर विलाप गर्नुभयो, भनिसाध्य छैन। निदाइहाल्न प्रायः गारो हुने मलाई, मुमाको क्रन्दन सुन्दासुन्दै यसरी निद्राले छोप्यो कि म भुस भएर निदाएछु।

‘आमाआमा, दिदी दिदी! हेर्नु न, आमा त बोल्नु नै हुन्न,’ सहयोगी बहिनीको चिच्याहटले ब्युँझेँ। आत्तिएर भित्ता समाउँदै, घस्रँदै पुगेँ मुमानजिक। मुमा उत्तानो परेर सुतिरहनुभएको थियो। म घोप्टिएँ मुमाको छातीमा।  

०००

ती विदेशमा कार्यरत बहिनी र मैले आआफ्ना आमाबुबा गुमायौं । यी दुवै प्रसङ्गले हाम्रो समानुभूति उजागर हुन्छ। उनका बुबाको क्यान्सर फैलिएर दिमागमा पुगेछ। अनि बुबालाई काम्ने, बोली लरबरिने र बेहोसीले छोप्ने हुन थाल्यो। बिसौनी सेवा गृहबाट तुरुन्त न्युरो अस्पताल लगियो। केही गर्न नसकिने जवाफ दिइयो त्यहाँ तर यतिन्जेल बुबा हाँसीखुसी बाँचेको थाहा पाएर डाक्टरहरूले सुखद आश्चर्य मानेका थिए। हस्पिटल बसाइको तेस्रो दिन ती बुबाले इहलीला त्यागे। युरोपबाट तुरुन्त आउन सम्भव नभएकाले छोरी बुबा बितेपछि मात्र नेपाल आउन सकिन्।

उनको पछुतो थियो, ‘अहिले आउनु नै थियो भने एक साता मात्र अघि किन आइनँ म? कम से कम बुबालाई त भेट्थेँ!’

मेरो पछुतो छ, ‘त्यो रात म किन मुमालाई छाडेर कोठामा आएँ? आखिर मुमा जानु नै हुने रहेछ, मैले उहाँलाई मनलागुन्जेल रक्सी खान किन दिइनँ? उहाँ रमाउने एउटै आधार त्यही रक्सी त थियो। किन रोकेँ? मैले रक्सी खान नदिएर के मुमा अझ धेरै बाँच्नुभयो त?’

म बिसौनी गइरहन्छु, केही दिन बस्ने गर्छु। पोहोर यतिबेलैतिर हाइपरटेन्सनले ब्रेनमा स्ट्रोक भएर मेरो दाहिने आँखाको भिजन गुम्यो। अनि दृष्टिसहित मेरो दैनिकीमै उथलपुथल मच्चियो। घरमा मलाई हेरविचार गर्ने फाल्टु मान्छे कोही थिएन। भाइबुहारीले पापी पेटको खातिर नोकरीमा जानै पर्‍यो। अनि मैले फोनमा कुरा हुँदा साथी वेदनालाई आफ्नो अवस्थाबारे बताएँ। पाँच वर्षअघि उनन्चालिस किलो भएर मैले खटिया समाउँदा पनि उसैले हिँड्न प्रोत्साहित गरिरहन्थी। आकाश पाताल देखाएर सम्झाउँथी कि ‘यो दुनियाँमा आफ्ना लागि आफूबाहेक अर्को कोही हुँदैन। तैंले हिँड्ने कोसिस नछाड्।’ नभन्दै म बिस्तारै हिँड्न सक्ने भएँ।

पोहोर ब्रेन स्ट्रोकले मलाई एक आँखे बनाउँदा पनि उसैले भनी, ‘खुरुक्क बिसौनीमा आइज।’

अनि गएर झन्डै अढाई महिना त्यहाँ बसेँ म। त्यतिखेरको बसाइ अनि प्रायः गइरहनुले नै म बिसौनीबारे यतिको जानकार भएकी हुँ।

पोहोरदेखि खुलेको बिसौनी सेवा गृह मूलतः वेदना थुलुङकै परिकल्पनाको मूर्त रूप हो। ऊ नै हो ‘बिसौनी’की संस्थापक अध्यक्ष । हामी विराटनगर नर्सिङ कलेजदेखि त्रिवि शिक्षण अस्पतालसम्मकै साथी, सहकर्मी हौं। अहिले ऊ एउटा नर्सिङ कलेजमा पढाउँछे। कलेजपछि बिसौनी आएर त्यहाँका आमाबुबाको सेवा र व्यवस्थापनमा सघाउँछे। वेदनाको होस्टेमा हैंसे गर्न अधिकांशतः मनकारी नेपाली नर्सहरूले साथ र सहयोग दिएका छन्, जो अहिले देश विदेशमा छरिएर रहेका छन्  र यो बिसौनी सेवा गृहका बाँकी सहयोगी सदस्य विभिन्न पेसामा आबद्ध छन्। कोही कोही होम मेकर महिला छन्। कोही पिएचडी होल्डर छन्। सबै मिलेर यो सत्कार्यलाई अघि लाउँदै छन्।

मचाहिँ यसको लाइफ मेम्बर त के, सदस्यसम्म पनि छैन। किन? भन्नुहोला। आफ्नै कथाव्यथा छन् मेरा। फेरि कुनै बसिबियालोमा ‘किन’ को गाँठो फुकाउँला।

प्रकाशित: १२ पुस २०८२ ०६:२७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App