१७ चैत्र २०८२ मंगलबार
image/svg+xml
कला/साहित्य

निफ ‘मेन इभेन्ट’मा प्रवेश, आउन थाले विदेशी अतिथि

आउँदाे चैत १९ देखि २३ सम्म हुन लागेको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को नवौं संस्करणको सम्पूर्ण तयारी पूरा भएको आयोजकले बताएको छ।

‘विश्वका कथाहरूको उत्सव, नेपाल अन्तर्राष्ट्रिय चलिचत्र महोत्सव’ भन्ने नाराका साथ फ्युचर फर्वाड थिममा आयोजना हुन लागेको यस महोत्सवको प्राविधिक र व्यवस्थापकीय पक्षलाई आयोजक समितिले अन्तिम रूप दिएको हो।

निफका अध्यक्ष केपी पाठक भन्छन्, ‘प्रि-इभेन्ट सकिएलगत्तै हामी मेन इभनेन्ट प्रवेश गरेका हौं। विदेशी अतिथिहरू आउने क्रम सुरु भइसक्यो।’

निफको उद्घाटन समारोहका विशेष अतिथि बलिउडका प्रसिद्ध निर्देशक रमेश सिप्पी भने १८ गते साँझ ६ बजे नेपाल आइपुग्ने उनले बताए। उनीसहित कलाकार किरण जुनेजा र नेपाली मुलका भारतीय चलचित्र निर्माता निलकण्ठ रेग्मी पनि निफमा सहभागी हुनेछन्।

चैत १९ गते सिभिल मलमा हुने उद्घाटन समारोहमा प्रमुख अतिथिका रूपमा नेपाल सरकारकी सञ्चार सचिव लक्ष्मीकुमारी बस्नेतको उपस्थिति रहने बताइएको छ।

निफको दोस्रो दिन चैत २० गते दिउँसो ३ बजे पर्यटन बोर्डमा निर्देशक सिप्पी र महानायक राजेश हमालबीच ‘सिनेमा संवादः रमेश सिप्पी र राजेश हमालसँग’ शीर्षकको संवाद कार्यक्रम तय भएको छ। जहाँ उनीहरूले आफ्नो व्यक्तिगत अनुभव, सिनेमा क्षेत्रको यात्रा र सिनेमाको भविष्यबारे केन्द्रित रहेर कुराकानी तय भएको आयोजकले बताए।

त्यस्तै, युवा मेकरहरू लक्षित गरी निफमा पाँच दिने एआई फिल्म वर्कसप पनि राखिएको छ। निफ अविधभर यो जारी रहनेछ। निफका संयोजक शिव पुरी भन्छन्,  ‘यो फिल्म निर्माणमा एआईको प्रयोगबारे वर्कसप हो।’

यस वर्कसपमा नेपाली विज्ञहरूले एआई-डिजिटल कन्टेन्टबारे कानुनी जटिलता र प्रतिलिपि अधिकारबारे पनि वर्कसप दिनेछन्।

पुरी भन्छन्, ‘एआई प्रयोग गरी बनाएका सामग्रीको कानुनी पाटोबारे पनि वर्कसपमा चर्चा हुन्छ।’

त्यस्तै, निर्माताका खोजीमा रहेका लेखकहरूलाई उनीहरूको पहुँचमा पुर्‍याउने उद्देश्यले ‘फिचर पिच’ कार्यक्रम पनि राखिएको छ। जहाँ लेखकहरूले निर्मातालाई आफ्नो कथा सुनाउन पानेछन्।

यो संस्करणमा ४० देशका ८८ फिल्मले प्रतिस्पर्धामा सहभागी भएका छन्। ६ वटा चिनियाँ र ४ वटा रुसी प्रतिस्पर्धाबाहिर रहेर विशेष प्रदर्शन गरिने आयोजकले बताएको छ।

रसियन हाउसमा रसियन फिल्म डेज आयोजना गरिनेछ। अन्य दिन पनि यस स्थानमा प्रदर्शन हुने फिल्महरू निशुल्क हेर्न पाइनेछ।

यस पटक निफमा सिजाङ प्यानोरमा पनि आयोजना गरिएको छ। जस अन्तर्गत ६ चिनियाँ सिनेमा र वृतिचित्र प्रदर्शन गरिनेछ। पर्यटन बोर्ड र छाया सेन्टरमा यी फिल्महरू निशुल्क हेर्न पाइनेछ।

प्रतिस्पर्धमा रहेका मध्येका फिल्महरू सिभिल मल र छाया सेन्टरमा भने सशुल्क प्रदर्शन हुनेछ। निफ अन्तर्गत १० अन्तर्क्रियात्मक कार्यकम राखिएको छ। जसमा विभिन्न देशका मेकरहरुले ‌आफ्नो अनुभव सेयर गर्नेछन्।

प्रकाशित: १७ चैत्र २०८२ १३:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App