नेपाल मुक्तक प्रतिष्ठानले तेह्रौं वार्षिकोत्सव मुक्तक दिवस मनाएकाे छ। प्रतिष्ठानले ‘मुक्तक साम्रज्ञी’ उषा शेरचनलाई ‘भीमदर्शन मुक्तक पुरस्कार’ र डा. रूपक श्रेष्ठलाई ‘कृष्ण-रत्न-चेतन मुक्तक पुरस्कार’ अर्पिएको छ।
प्रतिष्ठानले सो अवसरमा वरिष्ठ मुक्तककार उषा शेरचनलाई एकाउन्न हजार राशिसहित ‘भीमदर्शन मुक्तक पुरस्कार’ र मुक्तककार डा. रूपक श्रेष्ठ (बेलायत) लाई एकतीस हजार राशिसहित ‘कृष्ण-रत्न-चेतन मुक्तक पुरस्कार’ अर्पिएकाे छ।
विसं २०१२ भदौ ६ गते जन्मिएकी उषा शेरचनका ‘अक्षरहरूका शिविरबाट’ र ‘त्रासदीका हिमनदी’ मुक्तकसङ्ग्रह लगायत विभिन्न विधाका एक दर्जन कृति प्रकाशित छन्।
शेरचन २०३५ सालमा पोखरेली युवा सांस्कृतिक परिवारको आयोजनामा पोखरामा नेपालमै पहिलो पटक सशुल्क सम्पन्न ‘टिकटमा मुक्तक’ कार्यक्रमकी प्रणेता तथा अत्यन्त सक्रिय आयोजकमध्ये एक हुन्।

यसैगरी २०२२ माघ ६ गते जन्मिएका डा. रूपक श्रेष्ठका ‘पोख्तक’, ‘चौशूल’ र पोख्तकको अङग्रेजी अनुवाद मुक्तक कृति लगायत विभिन्न विधाका आधा दर्जन कृति प्रकाशित छन्।
लामो समयदेखि बेलायतमा बस्दै आएका श्रेष्ठले अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाली मुक्तकको विकास र विस्तारका निम्ति महत्त्वपूर्ण योगदान गर्दै आएका छन्।
दुवै स्रष्टाले मुक्तकको उन्नयनमा गरेको योगदानका आधारमा पुरस्कार अर्पिने निर्णय गरेको प्रतिष्ठानले जनाएको छ। यसअघि ‘भीमदर्शन मुक्तक पुरस्कार’ यादव खरेल, सरुभक्त र नन्द हाङ्खिम तथा ‘कृष्ण-रत्न-चेतन मुक्तक पुरस्कार’ रुद्र ज्ञवाली, अनुराधा ढकाल र खगेन्द्र गिरी कोपिलालाई अर्पिएको थियो।
नेपाल साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीका अनुसार नेपाली आधुनिक मुक्तकका प्रथम प्रयोक्ता भीमदर्शन रोका एवम् नेपाली मुक्तकका विशिष्ट साधकत्रय कृष्णप्रसाद पराजुली, रत्नशम्शेर थापा र चेतन कार्कीका सम्मानमा स्थापित उक्त पुरस्कार प्रतिष्ठानको वार्षिकोत्सव तथा मुक्तक दिवसका अवसरमा अर्पिएकाे हाे।
नेपाल मुक्तक प्रतिष्ठानका अध्यक्ष रामकाजी कोनेको सभापतित्वमा आयोजित सो कार्यक्रममा दुवै पुरस्कार कार्यक्रमका प्रमुख अतिथि पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठ र अध्यक्ष कोनेले अर्पिएका हुन्।
कार्यक्रममा नेपाल मुक्तक प्रतिष्ठानले प्रकाशित गरेको प्राडा लक्ष्मणप्रसाद गौतमको ‘नेपाली मुक्तकको रचनाविधान’, नेपाल मुक्तक प्रतिष्ठान बेलायत शाखाले प्रकाशन गरेकाे ‘ईलिंग’ स्मारिका र डा. रूपक श्रेष्ठका ‘चौशुल’ र ‘पाेख्तक’ (अंग्रेजी संस्करण) को लोकार्पण गरिएकाे छ।

कार्यक्रममा प्रमुख अतिथि पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठले मुक्तक विधालाई समाजको संवेदनशील र अति सूक्ष्म साहित्यिक अभिव्यक्तिको प्रभावकारी माध्यमका रूपमा व्याख्या गर्दै ‘मुक्तक समाजलाई थोरै शब्दमा धेरै कुरा भन्न सक्ने शक्तिशाली विधा भएकाे र आजको तीव्र गतिको समाजमा मुक्तकले विचार, पीडा, आशा र दर्शन सटिक रूपमा व्यक्त गर्ने बताए।
यसैगरी अध्यक्ष रामकाजी कोनेले मुक्तक दिवसको विशेष शुभकामना व्यक्त गर्दै मुक्तक विधाको सौन्दर्य र गहिराइ सरल रुपमा व्याख्या गर्दै "थोरैमा धेरै र बिन्दुमा सिन्धु अटाउने साहित्यिक विधा नै मुक्तक भएकाे र यसले सीमित शब्दभित्र असीमित भाव अटाउने बताए।
कार्यक्रममा ‘भीमदर्शन मुक्तक पुरस्कार’ बाट सम्मानित वरिष्ठ मुक्तककार उषा शेरचनले यस सम्मानले मुक्तक विधाप्रतिको आफ्नाे जिम्मेवारी बढाएको उल्लेख गर्दै मुक्तकलाई जीवनको अनुभूति र अनुभवको सूक्ष्म अभिव्यक्ति बताउँदै मुक्तकले जीवनको गहिरो अनुभूति, पीडा र प्रेमलाई सानो आकारमा पनि गम्भीर रूपमा बोकेको बताइन्।
अर्का सम्मानित डा. श्रेष्ठले मुक्तकलाई आत्मअनुशासन र चेतनाको अभ्यासका रूपमा वर्णन गर्दै मुक्तक लेखन शब्दको खेल मात्र होइन, चेतनाको अनुशासन हो। यसले लेखकलाई जिम्मेवार र पाठकलाई संवेदनशील बनाउने बताए।
कार्यक्रममा नेपाल मुक्तक प्रतिष्ठानका सल्लाहकार प्राडा लक्षमणप्रसाद गौतम, समालोचक केशव सिग्देल, नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदन, प्रतिष्ठानका पूर्व महासचिव रमेश पौडेलले आआफ्नो मन्तव्य राखेका थिए। वक्ताहरूले नेपाली मुक्तकको विकास, विस्तार र अन्तर्राष्ट्रिय पहिचानबारे विचार व्यक्त गरेका थिए।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) का पूर्व अध्यक्ष तथा नेपाल मुक्तक प्रतिष्ठानका उपाध्यक्ष राधेश्याम लेकालीले शब्दमार्फत कार्यक्रममा सहभागीहरूलाई स्वागत गरेका थिए। कार्यक्रमको उद्देश्य र महत्त्वमाथि पनि उनले प्रकाश पारेका थिए।
नेपाल मुक्तक प्रतिष्ठानका महासचिव यादव भट्टराईले सहजीकरण गरेकाे कार्यक्रममा कृतिहरू लोकार्पण, पुरस्कार समर्पण र मुक्तक पाठसहित सम्पन्न कार्यक्रमले नेपाली मुक्तक साहित्यको वर्तमान अवस्था र सम्भावनालाई सशक्त रूपमा उजागर गरेको सहभागीहरूले धारणा राखेका थिए।
नेपाल मुक्तक प्रतिष्ठानबाट आगामी दिनमा पनि मुक्तक विधाको प्रवर्द्धन, अनुसन्धान र अन्तर्राष्ट्रिय सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिएको थियो।
नेपाल मुक्तक प्रतिष्ठान विस. २०७० मा स्थापना भएको र तेह्रौं वार्षिकोत्सवको अवसरमा मुक्तक दिवस नेपाल पर्यटन बोर्डमा मनाइएकाे हाे।
प्रकाशित: १९ माघ २०८२ ०७:४४ सोमबार





