शिखा बुक्सले कथाकार नारायण तिवारीकाे बाह्राैं कृति 'जङ्गबहादुर पनि हाँस्छ?' कथासङ्ग्रहको लाेकार्पण गरेकाे छ।
लाेकप्रिय समालोचक प्राडा दयाराम श्रेष्ठ , श्यामल, नारायण ढकाल र समालोचक डा. ज्ञानु अधिकारीले सामुहिक रूपमा कृतिकाे लाेकार्पण गरेका थिए।
पुस्तक लाेकार्पण शिखा बुक्सका कार्यकारी निर्देशक पुष्पराज पौडेलको सभाध्यक्षतामा भएकाे हाे।
उक्त कृति कथाकार नारायण तिवारीको यो बाह्रौं कृति हो।
लाेकप्रिय समालोचक प्राडा दयाराम श्रेष्ठले तिवारीकाे कथा लेखनका ऐतिहासिक पक्षबारे बाेलेका थिए। कथाकार तिवारीका कथाहरू कथाकार जस्तै सरल तर गम्भीर हुने गरेको बताए।
कथाकार तिवारीले कथाहरूमा साइबर कल्चर र विकृति, सामाजिक परम्परा र कुरीति, इतिहास तथा मिथकका रूपमा कथा लेखेको बताए।
कार्यक्रममा डा. ज्ञानु अधिकारीले तिवारीका कथाहरू खारिएको र सरल हुने गरेको बताइन्। प्रत्येक कथा पूर्वी तराई विराटनगरसँग जोडिएको बताउँदै सीमान्तीकृत कथाहरूमा प्रायः महिला पात्रहरूको कथा हुने गरेकोमा तिवारीका कथाहरूमा पुरुष पात्रका कथाहरू भएको बताइन्।
सरल विषयवस्तुलाई पनि गम्भीर रूपमा प्रस्तुत गरेर आफूले भोगेका कुरा अरूले भोगेको र अरूले भोगेको कुरा आफूले भोगेको जस्तो लाग्ने गरेको बताइन्।
त्यसैगरी कवि श्यामलले कथाकार जस्तै कथाहरू पनि सरल र सुललित भएको बताए। कथाको गति अविरल बगेको बताउँदै उनले कथाको गद्य प्रभावकारी भएको बताए।
कथाको विषयवस्तु, संरचना, चरित्र चित्रण र कथाको समग्र भाषा, प्रस्तुति शैली बिलकुल नौलो भएको बताउँदै उनले हामीले सामना गरेका समस्याहरू कथामा प्रस्तुत भएको बताए। परम्परागत संरचनाभन्दा फरक रहेको र मैथिली भाषा राम्रोसँग प्रयोग भएको बताए।
त्यस्तै कथाकार नारायण ढकालले सरलतामा गम्भीरता तिवारीकाे कथाकाे वैशिष्टय भएको बताए।
काठमाडाैं, कमलादीस्थित नेपाल प्रज्ञाप्रतिष्ठानमा भएको कार्यक्रमको सहजीकरण कवि यादव भट्टराईले गरेका थिए।
कार्यक्रमका सभाध्यक्ष पुष्पराज पौडेलले शब्दमार्फत उपस्थितजनलाई स्वागत गरेका थिए।
कथाकार तिवारीले लेखकीय मन्तव्यकाे क्रममा आफ्नो लेखनयात्राबारे प्रस्तुत गरेका थिए।
प्रकाशित: ६ वैशाख २०८३ ०८:३९ आइतबार





