चलचित्र ‘मोहर’ ले दर्शकलाई सुनको मोहर जित्ने अवसर ल्याएको छ। घरेलु बक्स अफिसमा ५ करोडभन्दा बढीको व्यापार गरिसकेको चलचित्रले दर्शकलाई ‘सुनको मोहर’ जित्ने अवसर दिन लागेको निर्माण पक्षको दावी छ ।
यो योजनामा सहभागी हुने दर्शकले देशका चार हलमा यो चलचित्र हेर्नुपर्नेछ। चितवनको म्याङ्गो जन ज्योति सिनेमा, काठमाडौंका सामाखुसीको क्यूएफएक्स स्क्वायर मल, कीर्तिपुरको कीर्तिपुर सिनेप्लेक्समा चलचित्र हेरेर दर्शकले आफ्नो टिकटको आफ्नो नाम नम्बर लेखेर त्यहाँ रहेको ड्रप बक्समा खसाल्नुपर्ने छ ।
९ जना भाग्यशाली दर्शकले पुरस्कार जित्नेछन्। जसमध्ये म्याङ्गो सिनेमाबाट ३ जना, क्यूएफएक्स तथा कीर्तिपुर सिनेप्लेक्सबाट २–२ जना र रञ्जना सिनेप्लेक्सबाट २ जना बिजेता छानिनेछन्।
भदौ २३ गतेदेखि असोज १२ गतेसम्म चलचित्र हेर्ने दर्शक यो योजनामा सहभागी हुन सक्नेछन्। भदौ २३ भन्दा अगाडि हेरेका दर्शकले पनि आफ्नो टिकट सुरक्षित राख्न निर्माण पक्षले आग्रह गरेको छ । विजेतालाई चलचित्रको ४१ औं दिनको विशेष कार्यक्रममा पुरस्कार दिईने छ।
लेखक तथा निर्देशक ओम प्रतिक, चुम्बन जङ्ग शाहीले निमार्ण गरेको यो चलचित्रमा पल शाहको मुख्य भुमिका छ । नीति शाह, बेनिशा हमाल,अर्जुन जङ्ग शाही, मिथिला शर्मा, लक्ष्मी गिरी, रवीन्द्र झा, सारा शर्मालगाएतका कलाकारको अभिनय छ।
प्रकाशित: २२ भाद्र २०८२ १९:१३ आइतबार





