२१ मंसिर २०८२ आइतबार
image/svg+xml
कला/साहित्य

त्यो सत्य अब कहिल्यै नरहोस्

वर्तमान जीवनजस्तै सुखद भए पनि मानिसले अतीतको दुःख भुल्न कहिल्यै नसक्दो रहेछ । ऊ त प्रायः विगत सम्झी बस्दो रहेछ । विगतमा बाँच्ने गर्दो रहेछ ।

अतीत मोह किन उसलाई यति प्रिय हुने गर्छ ?

विपद् नै सही ऊ त्यही छुटी गएको जीवन सम्झिन चाहन्छ। भोग्नु पर्दाको अवस्था निकै कष्टदायी भए पनि अन्ततः उसलाई किन त्यही मन पर्ने गर्छ ? विशेषतः कवि कलाकारलाई किन त्यसो हुने गर्छ ?

सम्भवतः अतीतविहीन भएर स्रष्टाले सिर्जना गर्न नसक्दो रहेछ । उसको सिर्जनामा अतीत कहीँ न कहीँ मिसिन आइपुग्दो रहेछ । मानौँ, कुनै व्यक्ति विगतविहीन भयो भने ऊ कदापि सर्जक हुन सक्दैन ।

स्रष्टामा एउटा त्यस्तो खुबी हुँदो रहेछ । जब अवसादलाई ऊ सिर्जनामा बदल्न सक्छ । ऊसँग जति अवसाद हुनेछ, त्यति नै प्रखरतामा उसलाई सहायता पुग्ने छ, शायद!किनकि अवसादले उसलाई धेरै संवेदनशील बनाउँछ ।जतिखेर ऊ बडो स्वतःस्फूर्त हुन थाल्छ । त्यस स्फूर्तताले सहजै भ्रान्ति उत्पन्न गर्न सक्छ । सँगै हार्दिकता निर्माण गर्न सक्छ । तब पाठकलाई त्यसले ज्यादा छुने छ ।त्यसमा उसले आफैँलाई पाउने छ ।

युवा साहित्यकार लक्ष्मण वियोगीको कथा सङ्ग्रह ‘सत्यं’ पढ्दा मैले यस्तै केही अवधारणा निर्माण गरेँ । त्यस्तै अरू पनि केही अवधारणाहरू रहेका छन् । यसरी उनका कथाले पाठकलाई दृष्टि निर्माण गर्न लगाएका छन् । सिर्जनामा उनको भाषिक, सांस्कृतिक सम्पन्नता कति लोभलाग्दो रहेछ !स्थानीयतालाई प्राथमिकता दिइएको उनको लेखनमा डाह जस्तो केही अनुभूति हुन खोज्छ ।

कला साहित्यका क्षेत्रमा त्यस्ता स्रष्टाहरू भाग्यमानी हुँदा रहेछन्, जसले विविधतापूर्ण जीवन बाँच्न पाएका होउन् । त्यस्तै,विविधतापूर्ण सांस्कृतिक परिवेशमा हुर्किएका होउन्।कथाकार वियोगी तिनै भाग्यमानी मध्येका एक रहेछन् ।

त्यसो त सम्पूर्ण स्रष्टाहरूले विविधता बाँचेको हुनुपर्छ भन्ने होइन । विविधता नबाँचेर पनि ऊ राम्रो स्रष्टा हुन सक्छ तर उसको दृष्टिकोण व्यापक हुन सक्दैन । उसको सिर्जनामा विविधता आउन सक्दैन । हुन त उसले कल्पनामा विविधता रच्न सक्छ । यद्यपि त्यो शुष्क हुनसक्छ, प्लास्टिकको फूलजस्तै । किनकि,कल्पनालाई सजीवता दिनु कठिन हुन्छ ।

हरेक लेखकले आफू बाँचेको समाज भुल्नु हुँदैन भन्ने अभिप्राय लिएका स्रष्टा वियोगी भाषिका र समाज मनोविज्ञानलाई लेखनको शक्ति मान्दछन् । प्रकाशनको दृष्टिले उनी नवोदित स्रष्टा भए पनि परिष्कारको हिसाबले परिपक्व लाग्छन्। भाषा शैलीले त्यो देखाउँछ । कथा विधा सँगसँगै नियात्रामा पनि उनको समान रुचि देखिन्छ । त्यस्तै समीक्षामा पनि । गीतकार त उनी पहिलेदेखि नै थिए ।

मानिस कदापि दुःख भोग्न चाहँदैन तर किन आफ्ना पात्रलाई भने ऊ दुःख भोगाउने गर्छ? किन सुखका, आनन्दका कथा ऊ लेख्दैन ? सायद ऊ आफ्नो दुःख पात्रलाई बोकाएर हलुङ्गिन चाहन्छ । कथाकार वियोगीले पनि यही गरेको हुनुपर्छ । त्यसो त उनी बाँचेको परिवेश के त्यस्तै छैन र ? एउटा लेखक समाजभन्दा बाहिर कसरी रहन सक्छ ?

कवि कलाकारको जीवनमा कुनै पनि अनुभूति, सकस निकषको अनुभूति केही खेर नजाँदो रहेछ । कथामा दुःखको, पीडाको, चुनौतीको जीवन बाँचेका कतिपय चरित्रले हुन सक्छ लेखक वियोगीको जीवन प्रतिनिधित्व गरेका होउन् ।

ग्रामीण तथा प्राकृतिक जीवनमा हुर्किएका, बहु–सांस्कृतिक परिवेशसँग निकट स्रष्टा । साहित्यमा निर्मित उनको परिवेशप्रति मलाई एक किसिमको ईर्ष्या हुन्छ । हुन तम पनि ग्रामीण परिवेशमै हुर्किएको हुँ । परन्तु मेरो परिवेशमा सांस्कृतिक अनेकता हुन पाएन । बाहुन समाजमा अरू भिन्न सांस्कृतिक प्रभाव परेन । त्यसो हुँदा मेरा अनुभूतिहरू सधैँ एकपक्षीय रहे । बहुपक्षीय हुन सकेनन् । भिन्न भाषा, संस्कृति र समाज विज्ञान केही मिसिएन । पृथकताको अनुभव नै भएन ।

वियोगीका कतिपय कथाको परिवेश अब इतिहास भइसकेका छन् । अक्षरका माध्यमबाट उनले पुनः त्यस परिवेशलाई जीवित गराएका छन् । त्यस्तै, पात्रत्वलाई पुनः जीवन दिएका छन् । ती यथार्थ पात्र र परिवेशसँग निकट हुँदा उनका कथा कृत्रिमतादेखि टाढा छन् । उनले यथार्थ जीवन लेखेका छन् । भलै ती पात्रहरू काल्पनिक किन नहोउन् । परन्तु तिनका आत्मा काल्पनिक हुन सक्दैनन् । त्यस कारण उनको कथामा अविश्वसनीयताको प्रश्न उठ्दैन । स्वाभाविक र यथार्थ जीवन बाँचेका उनका निम्न तथा मध्यम वर्गीय चरित्रहरूले कथामा विविधतापूर्ण दायित्व लिएका छन् र एउटा प्रभावकारी आशय छोडेर गएका छन् । ती मध्ये कति पात्रहरू त्यस आशयसँगै अन्त्य भएका छन् तर लेखकले उत्सुकताको अन्त्य गरेका छैनन् । त्यस्तै केही पात्रहरू बीचैमा पात्रत्वबाट अलप भएझैँ लाग्छन् । तिनीहरूको कथा अझै केही भन्न बाँकी रहेको लाग्छ ।

लेखकले यसरी एउटा प्रबल थिम सहित कौतुकमय ढङ्गबाट कथानकलाई सङ्घारमै छोडेका छन् । यही नै कथाको शक्ति बनेको छ । त्यस्तै कथामा प्रमुख थिमसँगै अन्य सहायक थिम पनि रहेका छन् ।

मानिस कदापि दुःख भोग्न चाहँदैन तर किन आफ्ना पात्रलाई भने ऊ दुःख भोगाउने गर्छ? किन सुखका, आनन्दका कथा ऊ लेख्दैन ? सायद ऊ आफ्नो दुःख पात्रलाई बोकाएर हलुङ्गिन चाहन्छ । कथाकार वियोगीले पनि यही गरेको हुनुपर्छ । त्यसो त उनी बाँचेको परिवेश के त्यस्तै छैन र ? एउटा लेखक समाजभन्दा बाहिर कसरी रहन सक्छ ?

यतिखेर उनका पात्रहरू प्रेममा छन्, वियोगमा छन्, द्वन्द्व तथा आतङ्कमा छन्, अभाव र गरिबीमा छन् । त्यस्तै अप्ठ्यारोमा र मृत्युमा छन् । साँच्चै भनौँ भने तिनीहरूले जीवनमा सन्तोषको अनुभूति गर्न पाएकै छैनन् । बरु असन्तुष्टि छ, अतृप्ति छ, वेदना र दर्द छ । अरू धेरै थोक छ ।

वियोगीका केही पात्रहरू सुरुमा अस्वाभाविक किसिमका भाग्यमानी लाग्छन्  । अन्ततः नियतिले त्यो भाग्य खोसिदिन्छ । तब तिनीहरू बरबाद हुन्छन् । चुन्कीको रहस्यमा त्यस्तै भएको छ । अन्त्यमा चुन्की कहाँ गई कसैलाई थाहा हुँदैन ।

उनका कथाहरू प्रायः जसो स्याङ्जाको पृष्ठभूमिमा रचिएका छन् । त्यस अतिरिक्त काठमाडौं, बर्दिया र अछामको परिवेशमा मञ्चित परिदृश्यहरू छन् । त्यस्तै स्थानीय लबजले कथामा सजीवता थपेका छन् अनि लोक भाका तथा लोकसंस्कृतिले ती सुबासित छन् ।

‘सत्यं’मा सङ्कलित पन्ध्र वटा यी सप्पै कथाहरू बेग्ला–बेग्लै आशयले अभिव्यञ्जित छन् । कथालाई अनेकतापूर्ण दृष्टिकोणबाट रचिएको छ । लेखनको प्रमुख विषयवस्तु भने युद्ध, द्वन्द्व, आतङ्क, प्रेम, राग अनुरागजस्ता कुरा रहेका छन् । त्यस्तै प्रकृति र पर्यावरण छन् । गरिबी र अभावले जीवनको लक्ष्य भुलेका यथार्थहरू त छँदै छन् । केही बाल चरित्रका दुर्दशा पनि छन् ।

कथा पढ्दै गर्दा बेलाबेला मलाई एक किसिमको आक्रोश आउँछ । ती पात्रहरूले कस्तो सकसपूर्ण जीवन बाँच्नु परेको छ । जीवन र मृत्युको दोसाँधमा कसरी भुङ्ग्रिनु परेको छ । अन्यौलता र अनिश्चयको भुमरीमा कसरी गन्तव्यहीन बन्नु परेको छ । मृत्युभन्दा पनि दर्दनाक स्थिति भोगेर आखिर के पाए नेपाली जनताले ? खै कहाँ हरायो त्यो क्रान्तिको लक्ष्य? अनि अहिले के भन्दै छन् तिनीहरू अर्थात् क्रान्ति नायकहरू?के तिनीहरूले जनतालाई दिएको आश्वासन पूरा गर्न सके ?

झण्डै सत्र हजार नेपालीको बली चढाएर सरकारमा आएको माओवादीले खै के उपलब्धि दिन सक्यो ? वियोगीका द्वन्द्वकालीन कथा पढ्दा बेलाबेलै मन भरङ्ग हुन्छ । क्रान्तिले केही दिन सकेन बरु आफ्नै स्वाभिमान गुमायो । नेपालीको अनेकतापूर्ण सांस्कृतिक सम्पदामा उल्टै साङ्घातिक हमला गर्‍यो । सबै मास्यो, उजाड पार्‍यो । परिचय गुमायो र परिचयहीन अवस्थामा बुख्याचा भएर बाँच्यो । चीनको सांस्कृतिक क्रान्तिको सिको गरेर अन्ततः ऊ आफैँ नाङ्गियो । निष्प्राण भई ढल्यो । हुन त उसलाई त्यो बोध नै कहाँ छ र ? जाति विशेषका संस्कृतिहरू राष्ट्रिय सम्पदा हुन् भन्ने ज्ञान नै उसलाई कहाँ छ र ?

त्यो क्रान्तिले निमुखा जनतालाई बन्दुकको गीत गाउन लगायो । शुष्कता गाउन लगायो । निर्जीवता गाउन लगायो र अन्त्यमा जीवन विरोधी गीत गाउन सिकायो । ‘राँके भूतको लीला’मा ठिक यही भइरहेको छ । आज नेपाली जनता त्यसैको प्रतिफल बेहोरिरहेका छन् ।

साहित्यकार वियोगीका कथामा गीतका माध्यमबाट आउने गाउँले जीवनको सरलताभित्र लुकेका जीवन दर्शनहरू कति मार्मिक र अर्थपूर्ण छन् । जब कुनै कठिन भाव या आवेग संवेगको घनीभूत स्थिति आउँछ । हो, त्यतिखेर गीतको माध्यमबाट पात्रहरू आफ्नो भाव अभिव्यक्त गर्न लाग्छन् जस्तो कि –

असारमा खानी दुधिला मकै, साउनमा खानी खीर 

दुई दिने चोला, माटोमै होला केलाई पो लिनु पिर ... (पृ–१०) ।

अचानक आकस्मिकता घटाउनु आख्यान लेखनको एउटा शक्ति हो । वियोगीले आफ्ना कथामा यस शक्तिलाई राम्रो ख्याल गरेका छन् । क्रमिकतामा आउने आकस्मिकताले उनका कथाहरू रहस्यमय बनेका छन् । रहस्यमय तरिकाले घटेका छन् । अन्त्यमा नपुग्दासम्म पाठकले अनुमान लगाउन सक्दैन कि कथा कसरी टुङ्गिने छ । पाठकले सोच्दै नसोचेको दृष्टि विन्दुमा पुगेर कथाको अन्त्य हुन्छ ।

प्रेम, यौन र नरनारी आकर्षणका केही कथाहरू अघोषित विद्रोहले प्रेरित छन् । पात्रहरू विद्रोही मार्गमा लागेका छन् । मौनतामै ती क्रान्तिकारी भएका छन् । यद्यपि, बन्दुक उठाउने क्रान्तिकारी भने होइनन् । जातीय विभेद नमान्ने, समाज परिवर्तन तथा विचारको क्रान्तिमा ती अग्रसर छन् । पारम्परिक दृष्टिकोणदेखि माथि उठेका छन् । त्यसो त विजातीय प्रेममा नपरेका भए तिनीहरू क्रान्तिकारी नहुन पनि सक्थे ।

पण्डितको छोरासँग प्रेम गरेकी अर्की पात्र छे दर्जीकी छोरी सेती । ‘मन फूल झरेपछि’ कथामा उसले आफ्नो गर्भमा अनधिकृत प्रेम हुर्काएकी छ । समाजले नस्विकार्ने प्रेम हुर्काएकी छ । यसरी क्षणिक उत्तेजनामा प्रेमले अमर्यादित रूप लिएको छ । ज्यान नै बरबाद गर्ने रूप लिएको छ ।

राणा खानदानीको एउटा पात्र छ, विनय । ऊ आफ्नै घरमा काम गर्ने चुन्की चौधरीलाई प्रेम गर्छ । चुन्कीसँग बिहे गर्ने निर्णय उसले कसरी लिन सक्यो ? आश्चर्य लाग्छ । उसलाई उसकै प्रेम शक्तिले त्यो आँट दिएको छ । लाग्दै थियो त्यो दुई वर्गीय प्रेम, विजातीय प्रेम अन्ततः कहीँ दुर्घटनामा पर्नेछ ।  क्षणिक उत्तेजनामा गरिएको त्यस प्रेमको टुङ्गो कहीँ लाग्नेछैन । जुन कुरा लेखकलाई अर्थात् पात्रलाई पहिल्यै थाहा थियो । उनले विद्रोही लेखक हुने मोह त राखे नै तर त्यसलाई पूर्णता दिन सकेनन् ।

त्यस्तै प्रेमको मूल्य पनि उनले विघटन हुन दिएनन् । केटा केटीबिचको आकर्षणलाई, प्रेमलाई उनले बिथोलेनन्, ह्रास हुन दिएनन् ।परन्तु त्यसलाई सफल हुन पनि दिएनन् । निकै चतुर लेखक रहेछन्, उनी । सोचेभन्दा बेग्लै ढङ्गले उनले कथा टुङ्ग्याए । प्रेमलाई मर्न नदिई टुङ्ग्याए । बडा जातिसँग प्रेम गरेको क्षतिपूर्ति स्वरूप उनले केटीलाई अलप गरिदिए । प्रेम गर्दाको मूल्य चुकाउन केटी बाध्य भई । उसले आफ्नै कुल घरानको केटासँग प्रेम गरेको भए शायद त्यसरी अलप हुनुपर्ने थिएन ।पुस्तौँ पुस्तादेखि दबिएको हीन मानसिकताले गर्दा उसलाई आफ्नै प्रेमप्रति विश्वास हुँदैन । त्यही अविश्वासले ऊ दुर्घटनामा पर्छे । कथाले यस मनोविज्ञानलाई बडो सूक्ष्म ढङ्गले देखाएको छ । तथापि,पाठकले त्यो सूक्ष्मतालाई हेक्का नराख्न पनि सक्छ ।

पण्डितको छोरासँग प्रेम गरेकी अर्की पात्र छे दर्जीकी छोरी सेती । ‘मन फूल झरेपछि’ कथामा उसले आफ्नो गर्भमा अनधिकृत प्रेम हुर्काएकी छ । समाजले नस्विकार्ने प्रेम हुर्काएकी छ । यसरी क्षणिक उत्तेजनामा प्रेमले अमर्यादित रूप लिएको छ । ज्यान नै बरबाद गर्ने रूप लिएको छ । तब उसले आत्मघाती निर्णय लिई । हुन त त्यो निर्णय स्पष्ट देखाइएको छैन । त्यसरी आत्महत्या गरिएको दृश्य, मलामीको लर्को अरू कसैको हुन सक्छ ! सेतीको नहुन पनि सक्छ तर पाठकले उसैको होला भनी सन्देह गर्छ ।

यस्ता कथाहरू समाजमा दिनहुँ घटिरहन्छन् । परन्तु लेखकले समाजमा घटिरहने यस किसिमका सस्ता प्रेम, दैहिक प्रेम, अमर्यादित प्रेम, क्षणिक प्रेमलाई आफ्नो कलमबाट मर्यादा दिने प्रयास गरेका छन् । कथामा उनले प्रेमलाई जति आत्मिक मूल्य दिन खोजे पनि आखिर त्यसको प्रतिकूल भागीदार महिला नै हुनु परेको छ । हुन त त्यसरी महिला भागीदार हुनुको पनि एउटा जटिल कारण छ । उनीहरूको लघुताभासले त्यो स्थिति सिर्जिएको छ ।

तत्कालीन समाजमा एकदम अस्वाभाविक लाग्ने कथावस्तुलाई लेखकले कसरी स्वाभाविक बनाउन सके ? यही नै लेखनको प्राप्ति हो । ‘चुन्कीको रहस्य’मा उनको त्यो कलात्मक शक्ति पाठकले सजिलै बोध गर्न सक्छ ।उनमा त्यस्तो कला हुन्थेन भने उक्त कथा लेख्नकै लागि लेखिएको कथा हुने थियो ।

कथाको असरले नमज्जा पारेको बखत लाग्यो, मानिस कहिल्यै स्वतन्त्र जीवन बाँच्न सक्ने प्राणी होइन ।त्यस्तै ऊ आफ्नो लागि कहिल्यै बाँच्न सक्ने छैन । उसले अरूको लागि बाँचिदिनु पर्छ, समाजका लागि बाँचिदिनु पर्छ । ऊ अनेक कुराले बाँधिएको छ । समाज, संस्कृति र परम्पराको साङ्लीमा चटपटाउन नसक्ने गरिऊ कसिएको छ । त्यसैले त विजातीय तथा दुई वर्गीयबिचका प्रेमहरू असम्मानित हुने गर्छन् । अवैधानिक लाग्ने गर्छन् । सेतीलाई माया गर्ने पण्डितको छोरो आफ्नै प्रेमको मलामी देखेर अहिले के सोच्दै छ कुन्नि ?

‘सत्यम्’का पात्रहरू प्रायः विकट अवस्थामा छन् । अनिर्णयको स्थितिमा सङ्घर्षरत छन् । देशले परिवर्तन खोजिरहेको छ । यद्यपि, सही दिशा पाएको छैन । गाउँ–गाउँमा, बस्ती–बस्तीमा जताततै भय छ, आतङ्क छ । मृत्यु छ, सन्त्रास छ । ‘टाउको’ कथामा रेसमको परिवार त्यही स्थितिमा छ । घरमा बस्ने स्थिति नहुँदा रेसम त्यसरी मिलिसियामा गएको छ । उता आमा र बहिनी शुभ दिनको प्रतीक्षामा छन् । यस्तो विकराल अवस्थालाई इङ्गित गरिएका विम्ब र प्रतीक कति सशक्त छन् । जस्तो एउटा दृष्टान्त लिऊँ –समय पोलेको मुढोजस्तै पुत्ताएको छ, अनौठो रङ्ग र गन्ध फ्याँकेर ।

आँखै अगाडि माओवादीको एक सेनाले आफ्नै घाइते सहयोद्धालाई छप्काएको देखेर रेसम भाव शून्य हुन्छ । त्यो कति क्रूर र बीभत्स दृश्य छ ! तब उसलाई मान्छेप्रति नै घृणा लाग्छ । उसलाई आफैँप्रति पनि घृणा लाग्छ मान्छे भएकोमा । उसले देखेको सपना आखिर यस्तो थिएन । जुन सपना देखेर ऊ वन पसेको थियो ।

अहिले आएर सम्झिँदा ‘के त्यस्तो पनि थियो’ भनूँ झैँ लाग्छ । त्यसपछि द्वन्द्वका, आतङ्कका साहित्यहरू केही रचिए । वियोगीले पनि यस्तै केही दर्दनाक कथा रचेका छन् तर पनि पहिलो चोटि यस्तो द्वन्द्वको कथा पढ्दै छु जस्तो आभास हुन्छ ।

देशको प्रतिकूलतामा थामिन नसकेर श्रम बेच्न बिदेसिएका युवाहरूको दीनता उस्तै छ । जीवन नै व्यर्थ लाग्न थालेको छ । सरकार पक्ष र विद्रोही पक्षको दोहोरो मारमा परेका जनता मृत्युजस्तो जीवन बाँच्न बाध्य छन् । कहीँ कतै उज्यालोको आभास छैन । हेर्दाहेर्दै परिस्थिति अपरिचित हुँदै गएको छ । घर–गाउँ फेरिएर गोला बारुदको भट्टी बनेको छ, ‘उहिले, हरेकका घरमा मादल, खैँजडी र मुजुरा हुन्थे । आज, बारुद, गोली, र बमले तिनलाई विस्थापित गरे (पृ–६०) ।’

यस्तो बेला ज्यान जोगाउनु नै जीवनको परम लक्ष्य भएको छ । पार्श्वमा जहाँतहीँ विरही बतास सुसाएको छ । बाँच्नैका लागि घर छोडेको एउटा परिवार अज्ञात गन्तव्य जाँदै छ ।

युद्ध आतङ्कले मन अशान्त भएको बेला प्रेमका त्यस्तै अरू केही विषयका कथाले अघिको प्रभावलाई बिर्साउन खोज्छन् । तब पाठक एकै छिन भए पनि शान्त हुन लाग्छ । परन्तु आगामी कथा पनि उत्साहजनक चाहिँ हुँदैनन् । सन्दर्भ त आखिर उही पीडाका, वेदनाका छन् । सुरुमा सुखान्त होला जस्तो लागे पनि त्यसको मर्म त भरे दुखान्त नै रहेको छ ।

वियोगीका कथामा थरी थरीका चारित्रिक मनोविज्ञानहरू आइरहन्छन् । उनको कथामा जातीय विभेदको प्रसङ्गअघि आइसकेको छ र फेरि पनि दोहोरिएको छ ।कामको खोजीमा रोल्पादेखि झरेको दश बाह्र वर्षको त्यो केटो ! जसको चरित्रले मलाई विचलित पार्छ । बाँच्नका लागि जीवन खोज्दै आएको उसले जातकै कारण भाँडा माझेर जीवन धान्ने अवसर समेत गुमाउँछ । अन्ततः जात छलेर उसले काम पाउँछ । ऊसँग कति धेरै अभावहरू छन् ।

पछि उसले एक पेट खाने धन्दा त पायो नै । ऊ लक्का जवान हुँदै पनि गयो । जे होस् ऊ भरस लाग्दो हुँदै गयो ।उसप्रति युवतीका आँखा लाग्न थाले । यस्तैमा एक दिन अचानक ऊ सम्पर्क विहीन भयो । जनयुद्धको रापले ऊ त्यसरी हरायो । ऊ कहाँ गयो कसैलाई थाहा हुँदैन ।यता ऊ बसेको सहरमा आतङ्कको ज्वाला दन्किएको छ ।

क्रमु कथाले यस्तै विकराल स्थिति देखाएको छ । आखिर यो सब केका लागि भएको छ ? त्यस्तो स्थिति भोगेर कसले के पायो खै ?‘आन्दोलनको हलोले वर्गीय समानताका कति खेत जोत्यो ? मानव इतिहासका कति फाँट भरिए र त्यहाँ रोपेको समाजवादको बिउ किन उम्रिन सकेन ? कि रोपिरहने तर नउम्रिने जिनिस हो, समाजवाद (पृ–८९) ।’

नेपालीको पाइला पाइलमा काँडाहरू बिछ्याइएका छन् । भरपर्दो स्थिति कहीँ छैन । विश्वसनीयता कहीँ बाँकी छैन । स्वास्थ्य क्षेत्रजस्तो संवेदनशील निकायसमेत बडो गैर जिम्मेवार हुँदै गएको छ भने अन्त कहाँ छ विश्वास ?स्वास्थ्य क्षेत्र जस्तो संवेदनशील निकायसमेत वस्तु करण हुँदै गएको छ । 

परिवेश जताततै उदास छ, निराश छ । ‘छुटेको पानी हाँस’मा रमण उस्तै आशाविहीन छ । अध्ययनका लागि सहर पसेको केटो । उसको मनोदशाले सिङ्गो मुलुकको स्थिति प्रतिनिधित्व गरेको छ । त्यस दिन सहर छोडेर ऊ गन्तव्यहीन गन्तव्यमा निस्किन्छ । भौँतारिन्छ । ऊ कहीँ गइरहेको छ । परन्तु ऊ आफैँलाई थाहा छैन, आफू कहाँ गइरहेछु । यस्तो असमञ्जसको स्थितिमा पनि ऊ यानिमालाई सम्झिन छोड्दैन । आफूलाई रोधीघरमा पर्खिबस्ने मायालुको सम्झनाले पनि उसलाई जीवनवादी बनाउन भने सक्दैन । रनभुल्लमा परी ऊ आफैँलाई ‘अब म के गरूँ ?’ सोध्छ । ‘कहाँ जाऊँ ? कुन बस चढूँ ? मनमा दन्केको आगो निभाउन कोसी झरूँ वा गण्डकी तरूँ ? कि मर्स्याङ्दीतिर हेलिऊँ (पृ–९५) !’

रमणको यति धेरै निरीहता मलाई मन पर्दैन । हुन त उसको जस्तै जीवन बाँच्ने यहाँ कति धेरै युवाहरू छन् तर उसलाई यसरी बिरक्तिएर हिँडेको नदेखाएको भए हुने । भोलि गएर देश थाम्ने युवा यसरी बिरक्तिएपछि के हुन्छ ? उता मधेसमा आन्दोलन चर्किरहेको छ । त्यसो त आन्दोलन नभएको नै कहाँ छ र ?मधेस उग्र हुँदै गएको छ –

सामन्ती पहाडिया मधेस छोडो !

मधेसी जनता हाई हाई !

सामन्ती पहाडिया बाई बाई !

पहाडिया सरकार मुर्दावाद !

एक मधेस एक प्रदेश जिन्दाबाद  (पृ–१०४) !

हेर्नु त कस्तो दुरूह छ, जीवन ?

कथाको शीर्षक नै आँसुको लोरी भएपछि त्यसभित्रको दर्दमय स्थिति बताइरहनु किन प¥यो र ? स्रष्टा वियोगीले देशको विकृत अवस्थालाई आख्यानीकरण गरी नेपाली जनताको पीडालाई समेट्ने भरिसक्य चेष्टा गरेका छन् । त्यो चेष्टा ठिक छ ।

नेपाली जनजीवनमा कहीँ कुनै सुनिश्चितता छैन । राज्य संयन्त्रको त झन् कुरा गर्नै पर्दैन । आशाका मुनाहरू सप्पै लछारिएका छन् । अचम्म लाग्छ कस्तो अवस्थामा पनि हामी बाँच्न सकिरहेका छौँ ! यस्तो चरम निराशामा पनि हामी प्रयासरत छौँ बाँच्नका लागि । हो यहीँनेर मैले नित्सेको भनाइ सम्झिएँ – उसले मलाई मार्दैन बरु झन् बलियो बनाउँछ ।

आफूलाई वातानुकूलित बनाउने हो तथापि हार्ने होइन । हामी त्यसरी बलियो हुने अभ्यासमा छौँ । त्यसैले त जस्तो परिस्थिति पनि सहज लाग्ने गर्छ । जे होस् हामी साहसिक हुने प्रक्रियामा बाँचिरहेका छौँ । वियोगीका पात्रलाई गम्भीर भएर बुझ्दा फेरि मैले अर्को भनाइ सम्झिएँ –हिट्लरको ग्यास च्याम्बरबाट बाँचेका अर्थात् होलोकस्टबाट फुत्किएका भिक्टर फ्र्याङ्कलले त्यसै भनेका होइनन् – मानिसको सबैभन्दा ठुलो साहस नै अवसाद सहन सक्नु हो । धन्य हो, हामी नेपालीहरूले त्यसो गर्न सकिरहेका छौँ । त्यसैले त जस्तो प्रतिकूलतामा पनि जीवनको अर्थ देख्ने प्रयासमा छौँ । निराशाजनक अवस्थाको सामना गर्दै गर्दा पनि एउटा सुन्दर जीवनको परिकल्पनामा छौँ ।

नेपालीको पाइला पाइलमा काँडाहरू बिछ्याइएका छन् । भरपर्दो स्थिति कहीँ छैन । विश्वसनीयता कहीँ बाँकी छैन । स्वास्थ्य क्षेत्रजस्तो संवेदनशील निकायसमेत बडो गैर जिम्मेवार हुँदै गएको छ भने अन्त कहाँ छ विश्वास ?स्वास्थ्य क्षेत्र जस्तो संवेदनशील निकायसमेत वस्तु करण हुँदै गएको छ । सरकारी अस्पताल अव्यवस्थित हुँदै छ । नेपालीले स्वस्थ भएर बाँच्न पाउने अधिकारसमेत गुमाउँदै छ, ‘साँच्चै अब अस्पताल, अस्पताल रहेनन् कि क्या हो ! मोटरले कुकुर किचिनु, मान्छे थिचिनु र डाक्टरी औजारले चिरिएर बिउँझिनै नपर्ने हुनु उस्तै–उस्तै हो त (पृ–११३) ।’

मान्छेको मन कति शक्तिशाली हुँदो रहेछ । उसले अवचेतनमा जस्तो आदेश दिँदै जान्छ, त्यही अनुरूप उसको व्यवहार फरक पर्दै जाने रहेछ । त्यही दृष्टान्तमा ऊ कथाकी पात्र एकतर्फी प्रेमको संसार निर्माण गरेर अन्ततः कसरी निस्सार भएकी छ ।

मानिसका मनभित्र कति ठुला–ठुला अजङ्गका पहाड हुँदा रहेछन् । ती दर्दका पहाड, पिर मर्काका पहाड, जटिलताका पहाड बोकेर ऊ हिँडिरहेको छ तर दृश्यमा त्यस्तो केही देखिँदैन । कति अमूर्त, कति अदृश्य छ त्यो पहाड ! भित्रभित्रै मानिस त्यस पहाडको थिचाइले थाकेको छ, गलेको छ । वियोगीले यस्तै नदेखिने ती पहाडहरूलाई कथाको रूप दिएका छन् ।

‘सौँराइ’मा ठिक त्यस्तै अवस्था छ । तीन वर्षे छोरो घरमा छोडेर जुनालाई कुन वेदनाले त्यसरी कर्णालीमा हाम्फाल्न लगायो ?धन्य हो एउटा संयोग जुर्छ । जुना मर्न पाउँदिन । पत्रकार तेजेन्द्रले उसको जीवन रक्षा गर्छ । एकातिर जुनालाई मर्नबाट उद्धार गरेकोमा उसलाई पुरुषार्थको अनुभूति भएको छ,अर्कोतिर एउटा गतिलो समाचार पाएकोमा खुसी छ । कस्तो विरोधाभासमा अल्झिएको छ, जीवन ! अझ पनि रहस्य खुलेको छैन कथाको अभिप्राय के हो ? अर्थात् जुनाले त्यस्तो आत्मघाती निर्णय किन लिएकी थिई ?कथालाई कौतुकमय बनाउने वियोगीको शिल्पले घटनालाई रहस्यमै राखेको छ ।

यस्तैमा उफ् ! जुनाले पत्रकारसँग कस्तो डरलाग्दो संवाद बोल्छे, ‘दुई पाइलाको भेटमा म तपाईँलाई के भनूँ ? आशा मरेपछि निराशा मात्र बाँकी रहँदो रै’छ ... (पृ–१३८) !’

त्यस कथाकी पात्र जुना ‘जुना’ मात्रै होइन । ऊ सम्पूर्ण नेपालीको प्रतिनिधि चरित्रका रूपमा व्यक्त भएकी छ । आखिर ऊ मर्न खोज्नुको कारण त निराशा नै हो । कुन तङ्खवले उसको आशाको दीप सुकाइदियो? यहीँ प्रश्न लिएर अगाडि बढ्दै थिएँ । अन्त्यमा कथा सकियो तर उसको लेख्न बाँकी कथा भने सकिएको छैन । त्यो अहिल्यै सकिँदैन ।

‘सत्यम्’मा एउटा यस्तो भिन्न कथा छ, प्रेत–यान । यसअघिका कथाहरू सप्पै मानवीय संवेदनामा आधारित थिए । परन्तु यसमा मानवीय संवेदना विपरीत स्थिति छ अर्थात् यान्त्रिक जीवनको मर्म छ । विकासको उत्कर्ष नै विनाश हो भन्ने तात्पर्य छ । विनाशसँगै अनि फेरि सुरु हुनेछ आदिम युग । आजको वैश्विक मानिस आफ्नो सिर्जनाबाट आफैँ भयभीत हुन लागेको छ, ‘हुरीको गतिलाई समेत माथ गर्ने गरी दौडिरहेको प्राविधिक कारखानामा ध्वंसको चिप्स बन्यो वा सिर्जनाको ... (पृ–१४३) !’

सिर्जना त आफैँमा सुन्दर कुरा होइन र ? तर आज त्यस्तो हुन सकेको छैन । त्यसले निर्माण गर्नुपर्ने हो परन्तु विनाशको मार्ग लिइरहेको छ । अणुबमका पिता जुलिअस रोबर्ट ओपेन्हाइमर आफ्नो आविष्कारबाट आफैँ त्रासदीमा थिए । बिरक्तिएका थिए भनिन्छ तर अहिले आफ्नो विषाक्त आविष्कारमा बिरक्तिने कोही छैन । बरु उत्सव मनाउँदै छ । त्यसैले त विनाशक रचनामा प्रतिस्पर्धी हुने धावा चलेको छ । यसले सम्पन्न र असम्पन्न बीचको सीमा रेखा झन् सारो बढाउँदै लगेको छ ।

स्वयम् मानिस रोबोट हुँदै गएको बेला उसले कारखानामा असङ्ख्य रोबोट जन्माउँदै छ । ऊ आफ्नै विनाशका लागि यो सब गरिरहेको छ । तब सृष्टि के हुन्छ ?‘शुक्रकीट र डिम्ब अर्थात् एक्स र वाई क्रोमोजोमबाट सुरु भएको मानव अस्तित्व अब अदृश्य कणजस्तै साइबरीय चिप्समा पुगेर पूर्णविराम लाग्दै छ (पृ–१४९) ।’

वियोगीका कथामा भय, त्रास र द्वन्द्वका कथा घटिरहन्छन् तर ती भिन्ना–भिन्नै आशयले घटेका छन् । त्यस कारण,पुनरावृत्तिको आभासले झिँजो लाग्ने त्यस्तो केही हुन पाउँदैन । द्वन्द्वको पृष्ठभूमिमा रचिएको भए पनि ‘स्वप्न लोक’ले एउटा बेग्लै अभिप्राय देखाउन खोजेको छ । माओवादी पार्टीभित्रको दुश्चरित्र व्यवहार र भ्रष्टतालाई उजागर गरेको छ । एकातिर सिद्धान्त छ, अर्कोतिर घिनलाग्दो तुच्छता छ । नीचता छ । त्यस्तै, भूमिगत जीवनको आतेसलाग्दो निराशा छ । घात प्रतिघात छ। आफ्ना साथीहरूले सहादत प्राप्त गरिसके भन्ने भ्रमपूर्ण सूचना छोडेर तिनीहरूको नृशंस हत्या गरिएको घटना कति भर्त्सनायुक्त छ ।

साम्यवादको सपना देखाएर हजारौँका छोराछोरीलाई बन्दुकको नालमा हिँड्न, विवश पार्ने माओवादीले खै क्रान्ति कुन गन्तव्यमा पुर्‍यायो ? अहिले तिनै माओवादी लडाकु जीवनदेखि बिरक्तिएर मृत्युको गीत गाउन थालेका छन् । खै कसले देख्छ,त्यो विकलता ?त्यो विह्वलता ? त्यो जीवन विरोधी निस्सारता ?

प्रेमको अभिनय रचेर आफ्नै साथीबाट कुमारीत्व लुटिएकी जया पश्चात्तापको भुङ्ग्रोमा सेकिँदै भन्छे,‘कति निर्दोषका घर भत्किए । वन डढे, मन पोलिए, तन च्यातिए; जनअदालतमा त्यसको कुनै हिसाब भेटिँदैन । प्रतिशोधको ढुङ्ग्रामा युद्धको घोल हालेर जबरजस्ती कोच्चाइएको कसले देख्यो ? जजसले देखे, तिनका आँखा झिकिए । सुन्नेका कान काटिए । तारे पहराबाट धकेलिए । यस्तो विचित्रको जनअदालत देखेपछि म यो आपराधिक युद्ध रतिबाट अलग्गिन चाहेकी थिएँ (पृ–१५८) ।’

जयालाई सरकार पक्षका सेना पुलिस बरु आफ्नो मित्र लाग्न थालेका छन् । ‘हामीलाई रक्षा गर्ने कमान्डर आफैँ भक्षक भएपछि म झन् सम्हालिनै नसक्ने गरी टुक्रिएँ,’ ऊ भन्छे । त्यस्तैमा एक ठाउँ उसले कति डरलाग्दो सत्य बोलेकी छ, ‘हामी बाँच्नकै लागि मर्न हिँडिरहेका छौँ ।’

साम्यवादको सपना देखाएर हजारौँका छोराछोरीलाई बन्दुकको नालमा हिँड्न, विवश पार्ने माओवादीले खै क्रान्ति कुन गन्तव्यमा पुर्‍यायो ? अहिले तिनै माओवादी लडाकु जीवनदेखि बिरक्तिएर मृत्युको गीत गाउन थालेका छन् । खै कसले देख्छ,त्यो विकलता ?त्यो विह्वलता ? त्यो जीवन विरोधी निस्सारता ?

सुन्दरता हेर्दा जति चित्ताकर्षक हुन्छ, भोग्न त्यति नै कठिन हुने रहेछ । ‘हिँउखोलाको अलाप’मा यही अनुभूति हुन्छ । पर्यावरणीय चिन्तामा लेखिएको कथा । जसमा बढ्दो ग्लोबल वार्मिङले निम्त्याएको समस्यालाई देखाउन खोजिएको छ ।प्राकृतिक विचलनसँगै आएको कठिनाइलाई गम्भीर रूपमा व्यक्त गरेको  छ ।

त्यस्तै अर्को मार्मिक कथा छ ‘चराहरू उडे’ । बाल शोषणको स्थिति देखाइएको यसमा कारुणिक जीवन बडो नरमाइलो छ ।अन्त्यमा लोचन शोषणमुक्त भएको छ । यसरी लेखकले उसलाई स्वतन्त्रता दिएर बाल शोषणको विरोध बोलेका छन्,अघोषित विरोध ।

प्रखर स्वर भएका वियोगीका कथाहरू राम्रा छन् । प्रथम तथा तृतीय पुरुषमा लेखिएका कथाका थिमहरू स्पष्ट छन् । परिष्कृत भाषा शैली पठनीय छ । पात्र, परिवेश, दृष्टि विन्दुका हिसाबले पनि कथा सबल छन् ।

‘सत्यम्’ पढ्दै गर्दा मनमा अचानक यस्तो निर्णय आयो । अब यस कृतिका यथार्थहरू बदलिनु पर्छ, फेरिनु पर्छ । कुनै पनि साहित्यकारले फेरि ‘सत्यम्’ लेख्नु नपरोस् ! कदापि नपरोस् । तपाईँ आफैँ भन्नुस् न कहिलेसम्म नेपाली नागरिकले यस्तो अमानवता भोगिरहने ? कहिलेसम्म लाचार जीवन बाँचिरहने ? कहिलेसम्म दीनता, लघुता र यस्तै अनेकतामा घस्रिरहने ? अहँ किमार्थ अब यस्तो जीवन स्वीकार्य छैन । हामीले यस्तो जीवन पटक्कै बाँच्नु हुँदैन । त्यसका लागि हामी सबै जाग्नु पर्छ । जनताको क्रूर नियति सिर्जना गर्ने निरङ्कुशताको शिर छेदन गर्न तत्पर हुनुपर्छ । त्यसलाई कहिल्यै नब्युँतिने गरी निर्जीव पार्नुपर्छ । तब आम जनताले उन्मुक्तिको श्वास फेर्ला !

यति कुरा गरिसक्दा अब रोकिन्छु भन्दै थिएँ । परन्तु केही कुरा अपुग भए जस्तो लाग्यो अर्थात् भन्न अझै केही छुटे जस्तो लाग्यो ।अन्त्यमा त्यो के भने यी कथाहरूको स्वर बेग्ला–बेग्लै भए पनि कथानकको पृष्ठभूमि, कति पुनरावृत्ति भएको लाग्छ । जस्तो युद्ध, द्वन्द्व र आतङ्कको पार्श्वमा पुनः पुनः चरित्रहरू छायाङ्कन हुन बाध्य छन् । त्यो पार्श्व पृथक्–पृथक् भइदिएको भए अझ सुन्दर हुने थियो । हुन त स्रष्टा बाँचेको समाज त्यस्तै छ त उसले हुँदै नभएको पार्श्व कसरी रच्नु ? ऊ त्यही लेख्न विवश छ, जुन समाजमा ऊ बाँच्दै आएको छ।

प्रकाशित: ३ भाद्र २०८२ २०:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App