चलचित्र ‘वरिष्ठ बलराम’ मा अभिनेता दयाहाङ राई केही फरक अवतारमा देखिएका छन्। टाई, सुट र कोटमा ठाँटिएर हिंड्छन्। समाजमा उँचो छवि छ। प्रहरी प्रशासनदेखि राजनीतिक र समाजले उनको मानमनितो गर्छ। छविअनुसार गेटअपमा उनी देखिएका छन्। प्रायः चलचित्रमा दयाहाङलाई गाउँले गरिब चरित्रमा देखिन्छ तर ‘वरिष्ठ बलराम’ मा उनी आवरणमा विलकुल भिन्न देखिएका छन्। दर्शकले उनको यो रूप पनि रुचाएका छन्।
उनको अभिनयसँगै गेटअप पनि दर्शकले मन पराएका हुन्। सधैं एउटै चरित्रमा देखिरहेका दयाहाङको गेटअप दर्शकलाई मन परेको हो। अभिनय कलाले सधैं दर्शकको मन जितेका दयाहाङको हुनेखाने र शहरिया हुलिया पनि मन पराइएको हो।
सम्भत अब दयाहाङलाई निर्माताहरूले यो गेटअप अर्थात् शहरिया रोलमा पनि काष्ट गर्न सुरु गर्नेछन्। टाइप काष्टबाट बच्ने सम्भावना छ।
कात्तिक ६ गतेबाट रिलिज भएको यो चलचित्र अहिले सकारात्मक वर्ड अफ माउथसहित चल्दै छ। दर्शकले भावनाको नाता पनि रगत जत्तिकै बलियो हुने र स्थानीय स्रोतको दोहनको कथा मन परेको प्रतिक्रिया दिइरहेका छन्।
सुरेन्द्र पौडेलले ‘वरिष्ठ बलराम’ चलचित्रलाई निर्देशन गरेका छन्। वृषभ सिद्धी इन्टरटेनमेन्ट को प्रस्तुतिमा आन्भी फिल्म्सको सहकार्यमा बनेको यो चलचित्रमा दयाहाङ राई, विजय बराल, समृद्धि अर्याल, पशुपति राई, माओत्से गुरुङ, भोलाराज सापकोटा, रामबाबु रेग्मी, प्रदीपकुमार चौधरी (पीके) लगायत कलाकारहरूको अभिनय छ।
चलचित्रको कथा र सम्पादन निर्देशक पौडेलकै रहेको छ। महेश दवाडीले पटकथा लेखेका हुन्। निर्मातामा आशिष एच तामाङ र श्रीराज कार्की, कार्यकारी निर्मातामा प्रदीप जी धामी र पुष्कर बी. घिमिरे छन्। लाइन प्रोड्युसर राम विष्ट हुन्।
मनकृष्ण महर्जनको छायांकन, प्रशान्त सिवाकोटीको संगीत, सम्राट बस्नेतको एक्सन निर्देशन र प्रदीप लामाको नृत्य निर्देशन रहेको चलचित्रलाई उपत्यकामा डीसीएन र उपत्यका बाहिर कुवेर सिने डिस्ट्रीब्युसनले वितरण गरेको छ।
प्रकाशित: १२ कार्तिक २०८२ १२:५८ बुधबार





