लघुकथाकार लता केसीको पाहुर नामक लघुकथासङ्ग्रह २०८१ सालमा चौथो कृतिको रूपमा प्रकाशित भएको छ। यसभन्दा अगाडि उनको चोटदेखि मृत्युसम्म नामक लघुकथासङ्ग्रह २०७७, दृष्य नामक लघुकथासङ्ग्रह २०७८, सफलता नामक लघुकथासङ्ग्रह २०८० सालमा निस्केको थियो। यस कृतिभित्र उनले लेखेका अठोट, समाधान, मन, उपदेश, जुक्ति, गलत, बेपत्ता, प्रयोग लगायत विभिन्न शीर्षकका ६३ लघुकथा राखिएका छन्। यसमा सङ्गृहीत ६३ वटै लघुकथा पाठकलाई प्रभावकारी रूपमा आकर्षित गर्न सक्षम छन्। यस सङ्ग्रहको अठोट शीर्षकको पहिलो लघुकथामा म उनको धाराप्रवाह अभिव्यक्तिबाट बडो प्रभावित भएँ। कार्यक्रम सकिएपछि एकछिन भेट्न आग्रह गरे तर उनी हिँड्न हतार गर्दै थिए। सोचेँ मान्छे कति हतारमा हुन्छ? हाम्रो नेपालमा सायद ठुला मान्छे भनेको यस्तै होलान्?भनिएको छ।
यस सङ्ग्रहका लघुकथामा आन्तरिक तथा बाह्य दुवै दृष्टिबिन्दुको उपयोग भएको छ। लघुकथाको आयाम छोटोछरितो हुन्छ। छोटोको मापन गर्ने एक स्थूल आधार शब्दसङ्ख्या पनि हो। कसैले २५० र कसैले ३०० शब्दलाई एउटा लघुकथाको अधिकतम शब्दसीमा मानेका छन्। समाधान शीर्षकको लघुकथामा आमालाई उत्तर दिनुको सट्टा ऊ र उसका बाआमा आइपुगेको देखेर छोरी खुसीले हाँसिन्। परिचय गराउँदै भनिन्, ऊ रबिन बाआमाको एउटै छोरो हो। हामी सँगसँगै पढ्छौ। पढाइ सकिएपछि हामी बिहे गर्छौ। कुरा गर्न भनेर उहाँहरू यहाँ आउनुभएको भनेर लघुकथाकार लताले लेखेकी छन्।
लघुकथाकार लताका कथाहरू छोटा भए पनि निकै अर्थपूर्ण छन्। कथाका विषयवस्तु विविधतापूर्ण छन्। मन शीर्षकको लघुकथामा दाजुले फोनबाट खबर गर्नुभयो, छोरीको गुन्युचोलो छ। एक साता बस्ने गरेर आउनु है, बहिनी भनेर लेखिएको छ।
लघुकथा अहिलेको लोकप्रिय विधा हो। अन्य विधामा स्थापित सर्जकहरू पनि लघुकथामा कलम चलाउन थालेका छन्। पाहुर लघुकथासङ्ग्रहबाट लता लघुकथाकारको अवतारमा देखिएकी छन्। जिज्ञासा शीर्षकको लघुकथामा विद्यार्थीहरू बढी उत्सुक भएर गुरुको अनुहार हेर्न थाले। शिक्षकले नेपालको एकीकरणदेखिको राजनीतिक इतिहासको व्याख्या गर्नुभयो। वीर सहिदहरूको योगदानबारे जानकारी पस्किँदै देशप्रेमको उदाहरण बताउनुभयो भनिएको छ।
सङ्ग्रहका सबै लघुकथा सवाल्टर्निक छैनन्। विषय र विचारगत विविधता लताका कथाहरूको विशेषता हो। तालमेल शीर्षकको लघुकथामा कविता वाचन गर्नुहोस्, पुरस्कार जित्नुहोस् भन्ने विज्ञापन देखेपछि निश्चित समयमा म गन्तव्यतिर लागेँ। कार्यक्रम हुने स्थानमा पुग्दा हल टन्नै भरिएको थियो। कार्यक्रम सुरु भयो। प्रतियोगिताको विषय थियो, मङ्सिर भनिएको छ।
लताका प्रायः लघुकथाले गह्राैं औपन्यासिक खुराक बन्न सक्ने विषयवस्तुलाई लघुकथाभित्र अटाएका छन्। सूक्ष्मता, तीव्रता, घनत्व, व्यङ्ग्य, सन्देश, पात्रको सन्तुलन र विपरीत मार्गबाट जीवनबोध गराउनु लघुकथाको आधारभूत तत्त्व हुन्। लताको लघुकथाको भाषा सरल, सहज र सुबोध्य छन्। हप्की शीर्षकको लघुकथामा बडो उत्साहका साथ उसले झोपडी बनायो। परिवारलाई छानो दिन सकेकोमा ऊ निकै सन्तुष्ट भयो। गाउँका एक भलादमी कराए, हाम्रो टोलमा यो कुन सुकुम्बासी छिर्यो? भनेर लताले लेखेकी छन्।
लघुकथा भन्ने शब्दले छोटो कथा भन्ने अर्थ दिन्छ तर अंग्रेजी साहित्यमा भने जति लामो कथालाई पनि सर्ट स्टोरी भन्ने चलन छ। लघुकथाका सम्बन्धमा विविध परिभाषा, विचार र दृष्टिकोणहरू छन्।
जे भए पनि नेपाली साहित्यमा लघुकथाले आफ्नो अलग स्वरूप र विधा ग्रहण गरिसकेको छ। यसै सन्दर्भमा नेपाली समाजको यथार्थ भोगाइ यसभित्र लेखिएका लघुकथामा खारिएका, माझिएका र टलक्क टल्किएका छन्। थोरै लेखेर पनि गुणस्तरमा ध्यान दिन सके कृतिको महत्त्व बढ्नेछ। यस तथ्यलाई लघुकथाकार लताले मनन गरेकी छन्। विषयवस्तुका हिसाबले बहुमुखी छन्। लताका लघुकथा उनले देखेको व्यक्ति, समाज र राष्ट्रका साथै सुनेका घटनामा पनि आधारित छन्। यिनका कतिपय लघुकथा समय र स्थान सीमाका रूपमा पनि आएका छन्।
माया शीर्षकको लघुकथामा ओछ्यानमा परेको महिनौ भएको थियो। बिरानो देशमा कहर काट्दै कति महिना बाँच्थे र? बुबाको स्वर्गपछि एक्ली आमाले के गरून्? आफैँ नि क्यान्सरले पीडित भइन् भनिएको छ। सामाजिक विषयलाई टपक्क टिपेर कथा लेख्ने लताका लघुकथामा उनले देखेको संसारको समस्या छ। आफैँले महसुस गरेका कुरा टपक्क टिपी कथा लेख्ने उनको प्रवृत्ति छ। उनको पाहुर लघुकथासङ्ग्रह पढ्ने पाठकले घटेका घटनाबारे जान्ने र अझ गम्भीर भएर खोज्ने जिज्ञासा प्राप्त गर्नेछन्।
लघुकथा आख्यानको लघुतम वा सूक्ष्मम विधा हो। लघुकथा छोटो हुन्छ तर पूर्ण हुन्छ। छोटो आयाममा जीवन र जगत् समेट्नु लघुकथाको विशेषता हो। लघुकथा लोकप्रिय भएकै कारण यसप्रति लेखनको आकर्षण बढ्दै गइरहेको छ। अन्त्यमा लघुकथाकार लताको अन्य कृति पनि प्रकाशित भएर हामीले पढ्न पाउने वाचा गरेको छु।
कृतिः पाहुर (लघुकथासङ्ग्रह)
लेखकः लता केसी
प्रकाशकः हाम्रो लघुकथा केन्द्र, दक्षिणकाली, काठमाडौं
संस्करणः प्रथम, विसं २०८१
मूूल्यः रु.२२५।–
पृष्ठः ११२।
प्रकाशित: ५ वैशाख २०८३ १२:०९ शनिबार





